काठमाडौं । नेपालमा खेतीको समयमा प्रत्येक वर्ष रासायनिक मलको अभाव हुन्छ । जुनसुकै सरकार भए पनि मल ल्याउन नसकेको विषय आलोचनाको विषय बन्छ ।
अघिल्लावर्षमा जस्तै यो वर्ष पनि मल अभावको विषय सदनसम्म पुगेको छ । नेकपा एमालेले यो मल अभावको विषय संसदमा चर्कोगरी उठायो ।
नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईसमेतले रासायनिक मलको अभाव सम्बन्धमा छलफल गर्न अन्यन्त जरुरी सार्वजनिक महत्वको स्थगन प्रस्ताव दर्ता गरेपछि उक्त प्रस्तावमाथि संसदमा लामो छलफल भयो ।
छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिने क्रममा युरिया मलको विकल्पमा तरल रुपमा उपलब्ध हुने नानो युरिया प्रयोग गर्न सकिने बताएका थिए ।
उनले भारतबाट ५ लाख लिटर तल्काल आयात गर्ने सहमति भइसकेको बताउँदै भारतले ५० लाख लिटर क्रमिकरुपमा उपलब्ध गराउने सहमति नै जनाइसकेको बताए ।
यतिमात्रै नभएर ६१ हजार लिटर नानो युरिया नेपाल आइसकेको उनले बताएका थिए ।कृषिमन्त्रीको उक्त सम्बोधनपछि नानो युरिया के हो र यसको प्रयोग कसरी गर्ने भन्ने चासो देखिएको छ । यसले युरिया मलले विरुवालाई प्रदान गर्ने तत्व प्रदान गर्छ त रु भन्ने चासो अहिले बढेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का वैज्ञानिक श्रीप्रसाद विष्ट नानो युरिया परीक्षण गरेर प्रयोगको लागि सिफारिस गरिएको बताउँछन् ।
“नानो युरिया पनि युरिया नै हो, यो लिक्विड फर्ममा उपलब्ध छ, यसमा र युरियामा समान तत्व रहेको पुष्टि गरेर मन्त्रालयलाई सिफारिस गरेका हौं,” उनले बाह्रखरीसँग भने, “हामीले हिउँदे तरकारी बाली काउलीमा परीक्षण गर्दा युरिया मलमा पाइने तत्व यसबाट पनि प्राप्त भएको र गुणस्तर पनि रहेकोले युरिया मलको वैकल्पिकरुपमा प्रयोग गर्न सकिन्छ ।”
नार्कको सिफारिसको आधारमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले रासायनिक मलको स्पेसिफिकेसनमा ‘नानो युरिया’ लाई थप गरी त्यसको प्रयोग गर्न सकिने बाटो खुला गरिसकेको छ । यसलाई माटोमा प्रयोग गर्न नभई विरुवामा स्प्रे गर्नुपर्ने उनले बताए ।
युरिया मल र नानो युरिया जुन प्रयोग गरे पनि विरुवाले पाउने नाइट्रोजन नै रहेको र युरिया मलमा पाइने बराबरको नाइट्रोजन ‘नानो युरिया’ ले पनि उपलब्ध गराउन सक्ने देखिएको उनले बताए ।
“५०० एमएल ‘नानो युरिया’मा नै ५० केजी युरिया मलमा पाइने नाइट्रोजन पाइन्छ, यसलाई त्यहीअनुसार प्रयोग गर्नुपर्ने हुन्छ,” उनले भने, “प्रतिलिटर पानीमा ३ एमएल नानो युरिया मिसाएर प्रयोग गर्नुपर्छ, धानमा रोपेको केही दिनमा र त्यसको करिब १ महिनापछि गरेर दुवैपटक र मकैमा पनि गोडेमेल गर्ने बेलामा र केही पछि गरेर २ पटक प्रयोग गर्नुपर्छ ।” उनका अनुसार बिरुवाको पात भिज्नेगरी स्प्रे गर्नुपर्ने हुन्छ ।
नेपालमा स्प्रे मेसिन खरिद गर्नुपर्ने भएकोले त्यसलाई समेत ध्यान दिएर किसानलाई लागत पनि कम पर्ने र युरियाको काम गर्ने भएकोले अहिलेको मल अभावको अवस्थामा त्यसको प्रयोग गर्न सकिन्छ भनेर सिफारिस गरेको उनले बताए ।
कृषि मन्त्री यादवका अनुसार नेपाली बजारमा ‘नानो युरिया’ प्रतिकेजी ८०० रुपैयाँ पर्छ । प्रदेश नम्बर एकको विराटनगरमा नेपाल मल्टी ट्रेड सेन्टरले नानो युरिया सार्वजनिक गरिसकेको छ । सोमबार प्रदेश १ को कृषि मन्त्रालयमा आयोजित एक कार्यक्रममा कृषि मन्त्री झलकबहादुर दर्लामीसहितका उच्च सरकारी अधिकारीहरूले उक्त युरिया सार्वजनिक गरेका हुन् ।
सोमबार संसदमा सम्बोधन गर्ने क्रममा भारतमा सफल भइसकेको नानो युरिया नेपालमा पनि भित्र्याइएको बताएका थिए । नेपालमा ६१ हजार लिटर भित्रिएको र ५ लाख लिटर ल्याउन सहमति भइसकेको उनले बताएका थिए ।
विराटनगरमा उक्त मल ल्याएर सार्वजनिक गर्ने नेपाल मल्टी ट्रेड सेन्टरका सञ्चालक राकेश सुराना भारतका किसानले पाउने मूल्यमा नै नेपालका किसानलाई उपलब्ध गराउने बताउँछन् ।
कृषि मन्त्रीले प्रतिलिटर मुल्य ८०० रुपैयाँ पर्ने संसदमा नै भाषण गरे पनि सुराना भने ४०० रुपैयाँ प्रतिलिटरमा नै नेपालमा किसानले प्राप्त गर्ने बताउँछन् ।
विराटनगरमा प्रदेश कृषि मन्त्रीमार्फत सार्वजनिक गरिएको भए पनि नेपालभरी उपलब्ध गराउने उनले बताए । नर्मल युरिया र डीएपीको ८० प्रतिशत खपत नानो युरियाले विस्थापित गर्ने उनले दाबी गरे ।
मल उत्पादन गर्ने भारतीय कम्पनीका प्रतिनिधि नै प्रयोग कसरी गर्ने भनेर तालिम दिन नेपाल आएको बताए ।
यो सामाचार बाह्खरीबाट साभार गरिएको छ ।