लामो समयदेखि सुस्त गतिमा निर्माण भइरहेको हुलाकी राजमार्गले अझै पूर्ण रुप लिन सकेको छैन । पुल निर्माणको काम अलपत्र हुँदा र जग्गाको मुअब्जाको कारण हुलाकी राजमार्गले समयमा ने पूर्णता पाउन नसकेको हो । पूर्व–पश्चिम राजमार्ग अघि नै नक्सांकन र रेखांकन गरिएको हुलाकी राजमार्ग अन्तर्गत पर्ने बारा, पर्सा, रौतहट र चितवन जिल्ला मध्येका तिलावे, ठुटे, अरुवा, भकुवा लगायत दर्जनबढी पुल समयमा सम्पन्न भएनन् ।
तराईका २० जिल्लामा निर्माण हुन लागेको हुलाकी राजमार्ग पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म १ हजार ७ सय ९२ किलोमिटरको हुने छ । केही जिल्लामा उत्तर दक्षिण सम्पर्क मार्ग पनि योजना भित्र परेका छन् । जसमा १ सय २५ वटा पुल पर्ने आयोजनाले जनाएको छ । तराईका बुद्धिजीवीहरुले हुलाकी सडक निर्माण पछि यस भूगोलको कायापल्ट हुने बताउदै आएका छन् । तर वातावरणीय प्रभाव मुल्यांकन, राष्ट्रिय वन र आरक्षको रोकावट लगायत नेपाल सरकारको समन्वय विना पुल निर्माणमा समस्या भएको वीरगंज स्थित हुलाकी राजमार्ग सडक योजना कार्यालय पर्साको भनाइ छ ।
पुलसँगै मधेसको लाइफ लाइनको रुपमा रहेको यो राजमार्गमा पर्सामा वीरगंजको लक्षुमनवा चोकदेखि चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको ठोरी गाविससम्म ५३ किलोमिटरको सडक हालसम्म सुरु हुन सकेको छैन् ।
यस्तै बाराको बरियारपुरदेखि रौतहट जोड्ने अरुवा खोलासम्म १७ किलोमिटर, वीरगंज लक्षुमनवा चोकदेखि बाराको कलैया र त्यहाँदेखि बरियापुर २२ किलो मिटरको सडकको ट्रयाक खोल्ने काम र नाला निर्माणको काम सुरु हुँदै हालसम्म २० प्रतिशत सम्मको मात्रै काम भएको हुलाकी राजमार्ग सडक योजना कार्यालय पर्साका प्रमुख अनुठालाल पटेलले बताए । निकै महत्वकाँक्षी मानिएको मधेशको लाइफलाईनका रुपमा हेरिएको हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारको अनुदान र नेपाल सरकारको लगानीमा सन् २००० मै आएको गुरु योजना भएको उनको भनाइ छ ।
२०२२ सम्म २० वर्षे दीर्घकालीन गुरु योजनामा पारी पूर्वपश्चिम राजमार्गको समानान्तर राजमार्गका रुपमा सीमा क्षेत्रको नजिकबाट तराईका २० जिल्ला छिचोल्ने गरी हुलाकी राजमार्ग निर्माण गर्ने परिकल्पना श्री ५ कै सरकारका पालादेखिको रहेको थियो प्रमुख पटेलले भने । यसलाई नेपाल सरकारले पनि मान्यता दिई निरन्तरता दिइरहेको हो । नेपालको तराई क्षेत्रमा हुलाकीहरुले चिीपत्र लिएर हिँड्ने उत्तर दक्षिणका छोटा बाटाहरुलाई तराई पहाडसंग जोड्न र तराई मधेशको सडक सृदृड गर्ने उद्देश्यले हुलाकी राजमार्ग परियोजनाको कल्पना गरिएको जानकारहरुले बताएका हुन् । सडक निर्माणको उद्देश्य भने तराईका ग्रामीण भेगसम्म सडक सञ्जाल विस्तार गरी कृषि उपजको बजारीकरण, रोजगारीको अवसर वृद्धि, गरिबी निवारणमा सघाउ तथा भौतिक पूर्वाधार विकासको मेरुदण्डका रुपमा हुने उद्देश्य रहेको परियोजनाको भनाइ छ ।
यस निर्माणका लागी ग्रामणि क्षेत्रका बासिन्दा भने ब्यग्र रुपमा प्रतिक्षारत छन् । पर्सा र बारामा हुलाकी सडक योजना अन्तर्गत १ सय १९ किलो मिटर सडक निर्माण सम्झौता गरेको भारत हैदराबादको कम्पनी भिसवा कन्सट्रकक्सनले २०७० पुसमा काम छोडर हिडेपछि योजना अलपत्र बनेको परियोजनाको तर्क छ । तर नेपाल सरकार आफैले योजना अनुसार ३० महिना भित्रमा पुल र सडक बनाइ सक्ने लक्ष्यका साथ काम गर्ने भनिएको थियो । जसमध्ये हालसम्म ७ महिना वितिशक्दा पुल र सडकको कामले अझै गति लिन सकेको छैन ।
यता दुई दशक अगाडीको परिकल्पना गरिएको राजमार्ग नयाँ ढरामा निर्माण गर्नुपर्ने वर्तमानका स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन् । साँघुरो सडकलाई फराकिलो, व्यवस्थित र सुविधा सम्पन्न बनाउन केन्द्र सरकारले ध्यान दिनु पर्ने उनिहरुको भनाई छ । कम्तीमा १५/१५ मिटरको सडक फराकिलो हुनुपर्ने उनीहरुको माग छ ।