वीरगंज । खुल्ला सिमानाको फाईदा उठाँउदै वीरगंजमा तस्करहरुको राजगत कुनै नौलो विषय हैन् । यहिँ तस्करी नियन्त्रण गर्न सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । त्यसको अलावा बजार अनुगमनका लागी वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय सम्बद्ध कार्यालयहरुको जिम्मा दिइएको छ तर पर्सामा जिम्मेवार निकाय मौन हुदाँ पुनः तस्करी तिब्र रुपमा सुरु भएको छ ।
भारतको सीमासंग जोडिएको वीरगंजको इनार्वा, छपकैया नाका हुँदा खुलेयाम तस्करी भईरहेको पाइएको छ । भारतको सक्सौल बजारसंग जोडिएको उक्त नाका हुँदै लाखौंको सामान तस्करी भईरहेको छ । स्थानीयदेखी जिल्लासमेतका इन्चर्जहरुलाई मिलाई तस्करी गर्ने गरेको देखिन्छ । अहिले दिनहु भारतबाट सो नाका हुँदै ठुलो परिणामा कपडा, हार्डवेयरको सामान, माछा लगायत अन्य किराना सामानहरुको तस्करी हुँदै आएको छ । इनार्वा नाकाबाट स्थानीय तस्कर निरज साह १२/१३ जना साइकल भरियामार्फत माछाको तस्करी गर्दै आएका छन् भने त्यतीकै साइकल भरिया मार्फत तबारक हुसेन हार्डवेयरको सामान र अपसर आलम पनि गाडी, मोटरसाइकलको सामान लगायत हार्डवेयरको तस्करी गर्दै आएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।
यस्तै, छपकैया नाकाबाट हरिन्द्र पटेल, रंजित, लालबच्चा, वकिला लगायतका तस्कर समूहले कपडाको तस्करी गर्न सकृय भएका छन् । यी तस्करी नेपाल प्रहरी र सशस्त्र प्रहरीको संरक्षणमा तस्करी भइरहेको बताइन्छ । यी तस्कर समूहले मोटरसाइकल, टेम्पो र ई–रिक्शाको माध्यमबाट तस्करी गर्ने गरेकोको बताइन्छ । भारतबाट तस्करी भई आउने मालसामानहरु वीरगंजमा नाम चलेका कपडा तथा हार्डवेयर पसलहरुले बिक्रि गर्ने गर्छन् ।
तस्करीको विषयबारे माथिल्लो निकायका प्रहरी इन्चार्जले जहिले पनि आफूहरु सम्बन्धति चोकी वा बिओपीसंग बुझ्ने भन्दै तस्करी बारे आफू अनभिज्ञ रहेको बताउँछन् । तर, इनार्वा र छपकैया चौकीमा जाने जो कोही प्रहरी इन्चार्जको जिल्लाबाटै सेटिङ्ग भई त्यस ठाउँमा पठाउने गरेको बताइन्छ । यस्तै, सशस्त्र प्रहरीमा भने प्रदेशका डिआईजी लगायतले आफ्ना आसेपासेलाई पठाई तस्करी बापतको हिस्सा समेत बुझ्ने गर्छन् ।
बजार अनुगमन शुन्य
बाणिज्य तथा आपूर्ति कार्यालय वीरगंजले बजार अनुगमन नगर्दा तस्करीमार्फत मालसामान ल्याई व्यापापार गर्ने व्यापारीहरु उम्किएका छन् । वीरगंजका कपडा तथा हार्डवेयरका अधिकांश व्यापारीहरुले विभिन्न तस्कर समूहले ल्याउने मालसामान लिने तथा आफै पनि भरिया तस्करमार्फत कपडा, हार्डवेयर लगायतको सामान तस्करी गराई मनपर्दाे शुल्क लिएर बिक्रि गरि ग्राहक ठग्नुको साथै राज्यको राजश्व समेत छल्ने काम गर्दै आएको जानकारहरु बताउँछन् । जसमध्ये वीरगंजको चोर बजारको कपडा पसलहरु एक उदाहरण हुन । त्यहाँका अधिकांश कपडा पसलमा भारतबाट नै तस्करी भई आएको कपडा बेच्ने गरिएको बताइन्छ । यस्तै, माईस्थान, आदर्शनगर बजारका अधिकांश पसलमा पनि तस्करी भएरै आएको कपडा र हाडैवेयरको सामान बेच्ने गरिएको छ ।
बाणिज्य कार्यालय वीरगंजका सुचन अधिकारी दिलिप खाँले केही दिन पहिला वीरगंजको ३/४ वटा हार्डवेयर पसलमा अनुगमन गर्दा खरिद बिल नभेटिएको बताउँछन् तर कारबाही भयो वा भएन भने विषयमा केही थाहा नभएको बताए । उनले पछिल्लो समयदेखी वीरगंजको अरु कुनै ठाउँमा अनुगमन पनि नगरिएको स्वीकार्छन । सम्बन्धीत निकायले अनुगमन नगर्दा वीरगंजबाट दिनानुदिन तस्करी बढ्नुको साथै जनता पनि ठगिदै छन् ।