प्राकृतिक प्रकोप अथवा विपतलाई रोक्न सकिदैन । तर पूर्व तयारीले क्षति न्युनिकरण गर्न भने सकिन्छ । प्रत्येक वर्ष आउने बढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट नेपालमा पनि ठूलो धनजनको क्षति हुने गरेको छ । जूनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि पनि भन्ने गरिन्छ ।
नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्छ । सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिकतम वर्षा भएको मानिन्छ । तराईमा प्रचण्ड गर्मी खेपी रहेकालाई यो मनसुनले राहतको सास फेर्ने अवसर प्रदान गर्छ । तर यसका साथसाथै वर्षातसंगै आउने बाढी पहिरोले त्रासको वातावरण सृजना गर्छ । कतिपय स्थानमा वर्षायाम शुरु हुन साथ स्थानीयको मनमा चिसो पस्छ । निन्द्रा हराम हुने गरेको छ । तराईका जिल्लाहरुमा नदीको बहाव गाउमा पस्ने तथा शहरमा पानीको निकास नभएका कारण बस्तीहरु डुवान हुने गरेको देखिन्छ । तर यसलाई नियन्त्रण गर्ने योजना अगाडी बढेको देखिन्न ।
अहिले स्थानीतह अधिकार सम्पन्न भएको छ । स्थानीयस्तरमा भएको समस्या समाधानका लागि अव केन्द्रिय सरकारको मुख ताक्ने दिन गएको छ । स्थानीय सरकार गठन भएको छ गाउँ गाउँमा जनप्रनिधिहरु निर्वाचित भएका छन तर खोई तयारी ? आफनो स्थानीय तहमा राहत तथा उद्धारको काम गर्नका लागि एउटा डुगासम्मको व्यवस्थापन गरेको देखिदैन । आखिर किन ध्यान जाँदैन स्थानीय सरकारको ? यस्तो हो भने स्थानीय सरकारको भुमिका खोइ त ? पालिकास्तरमा विपत व्यवस्थापनको पुर्वतयारी खोई ?
कुनै स्थानमा कुनै पनि किसिमको विपत गयो भने पहिलो रेस्पोन्स गर्ने भनेकै स्थानीय सरकार हो । सवै भन्दा पहिला समुदाय नै त्यहाँ पुग्छ र सहयोग गर्नु पर्छ तर हामी कहाँ सेना, प्रहरीको मुख ताक्ने चलन बढी छ । हामीलाई अरुले आएर सहयोग गर्नु भन्दा पनि समुदायले विपतको समयमा सहयोग गर्ने दक्ष जन शतिm तयार गर्नु पर्छ । समाजमा बसिसकेका समाजमा चेतनशिल प्राणी भइकन पनि हामी कुनै पनि कुराहरुमा पुर्व तयारी गर्न सक्दैनौ यो ठुलो विडम्बना हो । हामी मानवको सबैभन्दा ठुलो कमजोरी भनेको नै विपत्ति आइसकेपछि बल्ल तात्तिने, चेत आउने र चिन्ता, शोक इत्यादि गर्ने हो।
प्रकृतिको नियम नै एक वर्षको अवधिमा कहिले जाडो हुन्छ, कहिले गर्मी हुन्छ, कहिले मौसम ठिक्क हुन्छ कहिले पानी पर्छ, बाढी पहिरोको उच्च जोखिम हुन्छ । यी कुराहरु सबै मानिसहरुलाई थाहा छ । उनिहरुलाई जाडो कहिले शुरु हुन्छ ? गर्मी कहिले शुरु हुन्छ ? बर्खायाम कहिले सुरु हुन्छ ? यि सिजनमा जोखिमबाट बच्न के के उपायहरु अबलम्बन गर्न सकिएला भन्ने धेरैथोरै हेक्का पनि छ तर हामी नेपालीहरुको विचित्रको बानी छ कोही जानकारी पाइकन पनि जोखिमको भूमरीमा रुमल्लिन बाध्य छ कोही यस्तो विपत्ति के आइपर्ला र भन्ने हेलचक्रयाँइका कारण जानाजान विपत्तिमा परिरहेको देखिन्छ । हाम्रा स्थानीय सरकारहरुको पनि यस तर्फ ध्यान किन जादैन ? नागरिक पनि किन चुप बस्ने ?
अहिले बर्खाको सिजन सुरु हुन थागेको छ । यो पानी पर्ने वा बर्षात् हुने मुख्य समय हो । यो समयमा हिमाल पहाड तराई सबैतिरका मानिसलाई थाहा छ कि बर्षात्मा के के समस्या आइपर्छन् भनेर । कतिपय मुलुक भित्रका सरकारलाई पनि थाहा छ कि हरेक वर्ष पहिरोमा पुरिएर, बाढीले बगाएर, पुल भत्किएर, सडक भत्किएर धेरै नागरिकले धनजन गुमाउनु पर्छ भनी । यति हुँदा पनि विपत व्यवस्थान कसरी गर्ने ? बाढी पहिरोको जोखिमबाट कसरी जोगिने ? क्षति कसरी न्युनिकरण गर्ने ?
यस्ता कुराहरुको बारेमा त बर्खा नलाग्दै पूर्वतयारी गरिनु पर्ने होइन र ? तर हामीकहाँ त ठिक उल्टो परिपाटी छ । जव पहिरोले घरबारी बगाउँछ, मान्छेहरु पुर्छ , बाढीले तराई क्षेत्र जलमग्न हुन्छ अनि बल्ल नीति कार्यत्रम, कसरी क्षति कम गर्ने भन्ने विषयहरु उठ्न थाल्छ ।
यी विषयहरु उठेर, छलफल भएर निष्कर्ष निस्कदासम्म धेरै घरहरु बगिसकेका हुन्छ्न, धेरै नागरिक मरिसकेका हुन्छन्, तराईका घरहरु जलमग्न भएका हुन्छन् । हरेक समुदायले पनि विपतको सामना गर्न र रक्षाको लागि पूर्व तयारी गर्न सम्बन्धित निकायलाई घच्घच्याउन जरुरी छ ।