वीरगंज । सवारी नियम उलंघन गरी कार्वाहीमा पर्ने सवारी साधनको संख्या पर्सामा बढेको छ । गत वर्षको तुलनामा चालु आर्थिक बर्ष सवारी नियम उलंघन गरी कार्वाहीमा पर्ने सवारी साधनको संख्या बढेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्याँक अनुसार गत वर्ष ट्राफिक नियम उलंघन गर्ने २६ हजार १ सय ६७ सवारी कारबाहीमा परेका थिए । चालु आर्थिक बर्षको एक महिना बाँकी छँदै त्यो संख्या बढेर २७ हजार ९ सय ५० पुगिसकेको छ । यी सवारी कार्वाहीमा पर्दा चालु आर्थिक बर्षमा राजश्व रकम पनि २ करोड ६३ लाख ४२ हजार ५ सय असुली भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । गत आर्थिक बर्षमा भने यहाँ दण्डित हुने सवारीबाट संकलन भएको रकम २ करोड १० लाख ७८ हजार ५ सय मात्र रहेको पनि ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्याँकमा उल्लेख गरिएको छ ।
तुलनात्मक रुपमा गतबर्षको १२ महिनाभन्दा चालु आर्थिक बर्षको ११ महिनामा नै १ हजार ७ सय ८३ बढि सवारी साधन कारबाहीमा पर्दा राजश्व पनि चालु आ.ब.मा ५२ लाख ६४ हजार बढि असुली भएको पर्सा ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक ध्रुब प्रसाद दहालले बताए । पर्साको त्रिभुवन राजपथसहित अन्य बाटो भएर चल्ने ट्रक, बस कार/जिप÷भेन, टेक्टर, मोटरसाईकल, टेम्पो लगातयका सवारीले सवारी नियम उलंघन गर्दा सचेत गराउँदा पनि अटेर गरेपछि कार्वाही गरिएको उनको भनाइ छ ।
सवारीको अलग–अलग तथ्याँक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४ सय ५४ ट्रक कारबाही परेका छन् । ती ट्रक कार्वाहीमा पर्दा १ करोड १७ लाख ७७ हजार रकम असुली भएको तथ्याँकले देखाएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा भने १४ हजार ३ सय ३५ ट्रक कारबाहीमा परेका छन् । ती ट्रक कार्वाहीमा पर्दा १ करोड ७१ लख ८७ हजार रकम पनि असुली भएको छ । त्यसै गरी बस तर्फ गत आर्थिक बर्ष १ हजार एक सय ६२ कारबाहीमा १६ लाख १२ हजार जरिवाना रकम असुली भएको थियो भने यो वर्ष एक हजार २ सय २८ बसलाई कारबाही हुँदा १३ लाख ६५ हजा जरिवाना रकम असुली भएको पनि तथ्याँले देखाएको छ ।
यता गत वर्ष कार/जिप/भेन तर्फ भने १ हजार ५ सय ४५ वटा कार्वाहीमा पर्दा ९ लाख २४ हजार जरिवाना रकम असुली भएको थियो । यो वर्ष भने एक हजार ७ सय १० कार/जिप/भेन कारबाहीमा पर्दा ११ लाख ३२ हजार राजश्व रकम संकलन भएको पनि पर्सा ट्राफिकले जनाएको छ ।
गत गर्ष १ हजार २ सय १२ ट्याक्टर कार्वाहीमा पर्दा ६ लाख ३५ हजार जरिवना रकम असुली भएको थियो भने चालु वर्ष जेठसम्ममा एक हजार ५७ वटा ट्याक्टर कारबाहीमा परेका छन् । ती ट्याक्टर कार्वाहीमा पर्दा राजश्व रकम पनि ७ लाख ८ हजार असुली भएको छ । मोटरसाइकल तर्फ भने सबैभन्दा बढि संख्या अर्थात ५ हजार ७ सय ८४ वटा कार्वाहीमा परेको गतबर्षको तथ्याँक छ । ती मोटरसाइकल कारबाहीमा पर्दा ३६ लाख २५ हजार जरिवाना रकम असुली भएको थियो ।
चालु आ.ब.मा भने ६ हजार ६७ वटा मोटरसाईकल कारबाहीमा पर्दा ४२ लाख १० हजार जरिवाना रकम पनि असुली भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । उता ४ हजार १० वटा टेम्पो लगायत अन्य साना सवारी साधन कारबाहीमा पर्दा गतबर्ष २५ लाख राजश्व रकम असुली भएको थियो भने चालु वर्षमा ३ हजार ४ सय ५३ वटा टेम्पो लगायत साना सवारी कार्वाहीमा पर्दा २१ लाख ६८ हजार राजश्व रकम असुली भएको पनि पर्सा ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याँकमा उल्लेख गरिएको छ ।
राजश्व रकम बढि उठ्छ भनी सवारी साधनहरुलाई दण्डित गरिने ट्राफिकहरुको उद्देश्य नभए पनि नियम उलंघन नगर्न सम्झाइ बुझाइ गर्दा पनि अटेर गर्नेहरुलाई दण्डित गर्न ट्राफिक प्रहरी बाध्य हुँदा राजश्व रकम पनि संकलन भएको पर्सा ट्राफिक इन्चार्ज दहालले तर्क गरे ।