धार्मिक विविधतायुक्त नेपालमा हिन्दु धर्मावलम्बीहरूले मनाउने विशेष चाड तिज दशैँ, तिहार र छठ हुन् । दसैँ सकिएको लगत्तै दोस्रो ठूलो चाड तिहार र छठको रमझम सुरु हुन थाल्छ । किसानहरूले मुरी भित्¥याउने समयमा पर्ने चाड भएकोले तिहारलाई सुखद पर्वको रूपमा लिन सकिन्छ । यस चाडमा जो कोहीको घरमा अन्न भरिभराउ हुन्छ । एकमाना खानको लागि कुनै समस्या हुँदैन, नयाँ उत्साह र उमङ्गको सुरुवात हुन्छ । उष्ण ऋतुलाई छिचोल्दै शीतल मौसमको आगमन, सूर्यको मधुरो प्रकाश, बोटहरूमा लटरम्म फलेका फलहरु सुन्तला, मौसम, भोगटे, कागती, निबुवाको महकता एवं खेतबारी, घरआँगन, गमलामा ढकमक्क फूलेका सयपत्री, मखमली, गोदावरीजस्ता मनमोहक फूलको सुवासले तिहार नजिकिँदै गरेको शुभ सङ्केत दिन्छन् ।
तिहारको लागि सफासुग्घर गरी चिटिक्क पारेर सजाइएका घर, चोक, गल्ली, गोरेटा, खुला आकाश, टाढा टाढासम्म देखिने सफा हिमशृङ्खला पहाड र तराईमा समतल फाटहरुमा खेतीबारीको पाकेको अन्न भित्¥याउने यो मौसमको रौनक नै छुट्टै किसीमको हुने गरेको छ ।
तिहार विशेष गरेर दिदी–बहिनीले दाजु–भाइको दीर्घायुको कामनाको लागि मनाइने गरिन्छ । तिहारमा देउसी भैलो खेलेर मनोरञ्जन पनि गर्ने गरिन्छ । आफ्नो हैसियतअनुसार दान दक्षिणा गर्नाले लक्ष्मी खुसी हुने एवं देउसी भैलो खेल्नेहरूको आशिर्वादले धनधान्य भई बाचुञ्जेल लाउन खानको लागि कुनै दुःख नपर्ने विश्वास गरिन्छ । कात्र्तिक कृष्ण पक्षको त्रयोदशी तिथिबाट कात्र्तिक शुक्ल पक्षको द्वितिया तिथिभित्रको पाँच दिनसम्म हिन्दु धार्मिक रीतिरिवाज अनुसार मनाइने चाड हो यो । तिहार पर्वका पाँच दिनको अवधिलाई यमपञ्चक पनि भन्ने भनिन्छ ।
तिहारको पहिलो दिनलाई काग तिहार भनिन्छ । यस दिनमा कागको पूजा गरिन्छ । टाढा–टाढासम्म बोलाएर कागको पूजा गर्ने साथै पकाएको चोखो खाना, मिठाइ तथा विभिन्न परिकार प्रसादको रूपमा टपरीमा राखेर कागको नाममा चढाउने चलन छ । दोस्रो दिन कुकुर तिहारलाई अर्को भाषामा नरक चतुर्दशी पनि भनिन्छ । उक्त दिन नरकका राजा यमराज र उनको दूत कुकुरको पूजा गरिन्छ । सबेरै नुहाएर खोला या पधेँरामा कपासबाट बनाएको बाती बालेर राजा यमराजको पूजा गरी चन्दन अक्षता, फूल, धूप, दीप नैवेद्य चढाई अघ्र्य दिई उनको नाउँमा नर्गे बगाइन्छ । दिउँसो कुकुरको पूजा गरी टीका तथा माला लगाइदिनुका साथै मीठो–मीठो खानेकुरा खानदिने चलन छ ।
तेस्रो दिनमा ब्रतालुहरूद्वारा नुहाइ धुवाइ गरी शुद्ध भई चोखो पहिरन लगाई निराहार ब्रत बसी रातो माटो र गाईको गोबरले घर आँगन लिपपोत गरेर चोखो तुल्याई, फूलमाला र तोरणले घर आँगन सजाउने, रङ्गोली बनाउने अनि साँझ झिलीमिली बत्ती बाली धुमधामका साथ एकाग्र भई धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने गरिन्छ । लक्ष्मीको पूजा गर्न फलफूल अक्षता, अबिर, केशरी, जौ, तिल, अध्र्य, पञ्चामृत, बस्त्र, शृङ्गारका सामग्री, नरिवल, फलफूलका साथै लावा, कपूर, सिन्केधूप, कलश, घडा, पञ्चपात्रो, पैसा, ढुकुटीको आवश्यकता पर्छ । सो दिनमा आफ्नो घरमा रहेको पैसा, दराज, सेफ, सुनचाँदी खजानाको पनि पूजा गर्ने गरिन्छ । लक्ष्मीपूजाका दिन घरघरमा सेलरोटी पनि पकाइन्छ र प्रसादको रूपमा लक्ष्मीलाई चढाइन्छ । सेलरोटी नपकाएको घरमा लक्ष्मीले बास गर्दिनन दरिद्र लाग्छ भन्ने पनि मान्यता रहेको पाइन्छ ।
तिहारको चौथो दिन अर्थात् कात्र्तिक शुक्ल प्रतिपदाको दिनलाई गोरु तिहार भन्ने गरिन्छ । यसदिन वर्षभरि खेतबारी जोत्ने गोरुलाई पूजा गरी माला लगाइदिने एवं मिठा खानेकुरा साथै रोटी, चामलको पीठो, चोकर आदि खुवाइने गरिन्छ ।
यमपञ्चकको पाँचौँ दिन भाइटीका पर्छ । उक्त शुभ दिनमा दिदी–बहिनीहरूले आ–आफ्ना दाजु–भाइहरूको दीर्घायुको कामना गर्दै कहिल्यै नसुक्ने तेल तथा दुबोले छेकी, पूजागरी, ढोकामा बाधा अड्चनहरू हटाउन ओखर फोरेर निधारमा सप्तरङ्गी टीका, गलामा सयपत्री, गोदावरी, दुबो, मखमली फूलको माला पहि¥याउँदै दाजु–भाइको लामो उमेरका साथै यश र कीर्तिको कामना गर्ने गरिन्छ । सोही दिन यमराजकी दिदी यमुनाले पनि आफ्ना भाइ यमराजको पूजा गरेको पौराणिक कथन छ । अर्को कथन अनुसार मृत्युको मुखमा पुगेको भाइलाई बचाउन दिदीले यमराजसँग अनुनय विनय गरी भाइटीका पछि मात्र लिन आउन बिन्ती गर्दै कहिल्यै नसुक्ने दुबो र तेलले छेकी, भाइको ग्रह शान्ति, पीर, बाधा, अवरोध फुकाउनको लागि ढोकामा ओखर फोरी, दीर्घायुको कामना गर्दै विधिपूर्वक पूजा गरी कहिल्यै नसुक्ने मखमली फूलको माला पहि¥याई लगाएको मखमली फूलको माला र दुबो नओइलाएसम्म नरकलोक लैजान नपाउने बाचा गरेकोले भाइको ज्यान बचेको भन्ने भनाइ छ । त्यसैले यमराजको मुखबाट भाइलाई बचाएको सम्झनामा मनाइने चाड भाइटीकामा दिदी–बहिनीले लगाइदिने टीकाले दाजु–भाइलाई सकारात्मक ऊर्जा मिल्ने विश्वास गरिन्छ ।
दिदी–भाइको सम्बन्ध सुमधुर बनाउन, एक अर्कामा माया दर्शाउन देवी देवताको पालादेखि नै भाइटीकाको सुरुवात गरिएको विश्वास गरिन्छ । भाइटीकाको दिन दिदी–बहिनीले दाजु–भाइको पूजा गरी प्रसादको रूपमा सेलरोटी, फलफूल, मिठाइका साथै लुगा कपडा पनि दिने गर्छन् । दाजु–भाइले पनि दिदी–बहिनीलाई आ–आफ्नो गच्छे अनुसार बस्त्र तथा दान दक्षिणा दिने गर्छन् । यसले दिदी–बहिनी तथा दाजु–भाइको सम्बन्ध प्रगाढ बनाउने, एक अर्काप्रति माया दर्शाउने अवसर दिन्छ । तस्बिर : सौजन्य