प्रत्येक वर्षझै यस वर्ष पनि धान बाली लगाउने बेलामा पर्सामा रासायनिक मलको अभाव भएको छ । धान बाली लगाउन मल छर्ने बेलामा नै अन्य जिल्ला जस्तै पर्साका किसानहरु पनि रासायनिक मलको अभाव झेलिरहेका छन् ।
पर्साका किसानले यो सिजनका लागि पाउनु पर्ने रासायनिक मलको अभाव भएपछि किसान यो बर्ष पनि मर्कामा परेका छन् । कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जमा नै रहे पनि जिल्लाकै किसानहरुले मलको अभाव झेलिरहेको देखिन्छ । यो बर्षको धान खेतीका लागि साल्ट ट्रेडिङ्ग कर्पोरेशन प्रा.लि.वीरगन्जले ५० केजीको ५ सय ५० मैट्रिक टन अर्थात ११ हजार बोरा डिएपी मल ल्याउन लागेको छ । पहिले ल्याइसकेको डिएपी मध्ये पनि असार ६ गतेसम्म पर्साका १४ वटै पालिकामा गरी ४ हजार ७३ बोरा डिएपी मल वितरण भइसकेको साल्ट ट्रेडिङ्ग कार्यालय वीरगंजका प्रमुख अमोज लामिछानेले दावी गरे । ५ सय ३८ मैट्रिक टन युरिया मल बाटोमा रहेको पनि उनको भनाइ छ । तर कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगन्जले भने कुनै पनि मल ल्याउन नलागिएको कृषि समाग्रि लिमिटेड वीरगंजले जनाएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष पर्सामा भदैया र अगहनी गरी कुल ४३ हजार ५ सय ८० हेक्टर क्षेत्रफल जग्गामा धान खेती हुनेछ । जसमा ८ हजार ६ सय ६० हेक्टर क्षेत्रफलमा भदैया धान खेती र ३५ हजार २० हेक्टर क्षेत्रफलमा अगहनी धान खेती हुने केन्द्रको अनुमान रहेको छ । यो क्षेत्रफलमा हुने धानवालीका लागि चाहिने मलभन्दा निकै कम अर्थात ५ सय ५० मैट्रिक टन मात्रै डिएपी ल्याइने साल्ट ट्रेडिङ्ग कर्पोरेशनले जनाएको छ । यहाँ धानखेतीका लागि ९ हजार ८ सय ३५ दशमलव १३४ मैट्रिक टन रसायनिक मल र २ हजार ९ सय ११ दशमलव १४४ मैट्रिक पोटास चाहिने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
मल ल्याउने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्ग दुबै कम्पनीमा रासायनिक मल र पोटासको अभाव छ । साल्ट ट्रेनिङ्गले ५ सय ३८ मैट्रिक टन युरिया मल ल्याउन लागे पनि अहिले भने बाटोमै रहेको जनाइएको छ । कृषि प्रधान देशको मधेश प्रदेशमा पर्ने पर्सा जिल्लाका किसानलाई मलको अभावमा धान खेती कसरी गर्ने भने चिन्ता भइरहेको कृषकहरुको गुनासो छ ।
कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालय वीरगंजले चालुृ आर्थिक वर्षको जेठ मसान्तसम्ममा पर्साको हकमा ८ हजार ५ सय ६३ मैट्रिक टन युरिया मल, ५ हजार एक सय ८७ मैट्रिक टन डिएपी र २ सय एक मैट्रिक टन पोटास बिक्रि गरिसकेको छ । तर धानबाली लगाउन बिउ छर्ने बेलामा नै युरिया, डिएपी र पोटास मल अभाव रहेको छ । धान रोपाई गर्ने बेलासम्म आउँछ भने अजै ठेगान नरहेको कृषि सामग्री कम्पनी लिमिटेड वीरगंजले जनाएको छ । उता साल्ट ट्रडिङ्ग कर्पोरेशन वीरगंजले पनि चालु आर्थिक वर्षमा २२ हजार ६ सय ६० बोरा रसायनिक, ३ हजार एक सय ६३ बोरा डिएपी र एक हजार ४६ बोरा पोटास मल बिक्रि गरिसकेको दावी गरेको छ ।
मल वितरण गर्ने पर्साका जिम्मेवार निकायले भने जस्तो मल पाइन्छ कि भनी पर्साको बहुदरमाई नगरपालिका–१ बिश्रामपुरका किसान जटाशंकर यादव पर्खेर बसेका छन् । तर हालसम्म पनि मल नआएको उनले गुनासो गरे । किसान त के बहुदरमाई नगरपालिकाको सवालमा उपमेयर सुष्मा कुशवाहालाई पनि मल पालिकामा आएको बारे कुनै जानकारी नरहेको अनभिज्ञता प्रकट गरिन् । सरकार मातहतका कार्यालयहरुले पालिकामा रहेको कृषि सहकारीलाई मल दिने भए पनि पालिकाको उपप्रमुखको संयोजकत्वमा गरिने वितरणबारे उपप्रमुखलाई नै जानकारी नहुनुलाई पालिकामा आएको मल पनि विचौलियाले अन्यत्रै पु¥याएको कृषकहरुको आरोप छ । पालिकामा कति मल आयो, किसानले मल पाए वा पाएनन्, वितरण प्रकृया कस्तो भन्ने प्रश्नमा बहुदरमाई नगरपालिकाकी उपमेयर कुशवाहाले मिटिङ्गले गर्दा कहिले काठमाडौं त कहिले बर्दिबास जानुपर्ने भएको हुँदा विस्तृतमा थाहा नभएको बताइन् ।
आफ्नो ठाउँमा पाउनु पर्ने मल बीउ केही समयमा नपाएपछि सीमासँग जोडिएका पर्साका केही किसान भारतको सिक्टा, भेलाही लगायतका ठाउँबाट व्ल्याकमा भए पनि अवैध तरिकाले मलबीउ ल्याउन बाध्य भएको पोखरिया नगरपालिका–१ बनकटवाका किसान बिश्वबन्धु गिरीले तर्क गरे । सहकारी मार्फत पालिकामा मल आएको छ कि छैन ? भन्ने बारे आफूहरुलाई केही थाहा नहुने गरेको उनको गुनासो छ । ‘‘धानको बिउमा मल छर्न एकदमै आवश्यक छ । तर मल पाइरहेको छैन । बाध्य भएर भारतबाट अवैध तरिकाले भए पनि मल ल्याउने गरेको पोखरिया ४ बनकटवाका कृषक बद्री चौरसियाको पनि तर्क गर्छन् ।
भारतबाट ल्याईएको मलमा दोब्बर मुल्य तिर्नु पर्ने बाध्यता रहेको उनिहरुको भनाइ छ । पोखरिया नगरपालिकाकी उपमेयर रुबी कुमारी ठाकुरले भने आफ्नो पालिकामा आएको मल ६/७ वटा वडामा बाडिएको र अरु मल आएपछि बाँकी २/३ वटा वडामा बाडिने बताइन् । आवश्यकता जति मल नै नपाइएको उनको गुनासो छ । पालिकाका ५ वटा वडा रहेको पटेर्वा सुगौली गाउँपाकिामा कृषि ज्ञान केन्द्रले ७ सय ८० बोरा मल पठाएकोमा सबै वडामा आवश्यकता अनुसार वितरण गरिएको उपाध्यक्ष ममता महतोले बताइन् ।
पालिकामा आउने जति मलले कृषकलाई नपुग्ने उनको पनि भनाइ छ । धान खेतीको लागि सिजनमा चाहिने आवश्यक मल गठबन्धनको सरकारले उपलब्ध गराउन सकेको छैन । असार १५ लाई राष्ट्रिय धान दिवस भनेपनि खेतीका बेला न पानिको व्यवस्थापन कृषकलाई गरिन्छ न त मल नै तैपनि कृषि प्रधान देश भनेर हामी नेपाली गच्च छौँ ।