-बिनिता बुढाथोकी/
नयाँ नेपाल निर्माणको आवाज संगै जनतालाई फकाएर राजनीतिक गतिमा होमिएका नेपालका राजनीतिक दलहरु प्रायः यतिबेला जनताको काम गरेर देखाउने ठाउँमा पुगेका छन् । नयाँ संघिय संरचनामा विभक्त मुलुकका जनताको अपेक्षा अनुसार उनीहरुले काम गर्नुपर्ने छ । यो समय राजनीतिक दल या प्रतिनिधीहरुले जनताका लागि काम गरेर देखाउने सुनौलो अवसर पनि हो । राजनीतिक दलहरुले सहजताका साथ समाधान गर्ने दिशामा अगाडी बढे उनीहरुका लागि पनि आगामी राजनीतिक दाउँपेचँ पुरा गर्ने सुनौलो अवसर पनि हुनेछ । राजनीतिक दल र नेताहरुले आन्दोलन र निर्वाचनका समयमा जनतालाई जति आश्वासन दिएका थिए, त्यो सबै मिथ्ता सावित हुने सम्भावना देखिन्छ । गएको स्थानीय निकायको चुनावमा बारा जिल्ला क्षेत्र नं.२ बाट समानुपातिकबाट अर्थ राज्यमन्त्रीमा मनोनित तिनै मधेश प्रदेशको अर्थ राज्यमन्त्री उषा यादवसंग आर्थिक अवस्था र विकासको सम्भावना सम्बन्धमा समसामयिक विषयमा मध्य नेपाल सन्देशसंग गरिएको कुराकानी :-
१) अहिले के मा व्यवस्त हुनुहुन्छ ?
हाम्रो अर्थ विधायक पास भयो । आफनो क्षेत्रतिर दिएको योजनाहरु कस्तो भयो । योजना सफल भयो कि भएन भनेर अनुगमन हामीले गरिरहेका छौ ।
२) कसरी कार्य गर्दै हुनुहुन्छ ?
हामीले काम गरेको शून्य बाट हो । नयाँ संरचना त्यसमा पनि नयाँ संघियता आएको हो । काम गर्न कठिनाइ नै हुन्छ । मधेश प्रदेश सरकारले केही गरेको छैन भनेर पनि जन गुनासो सुनिन्छ तर प्रदेश सरकारले कुनै दक्ष जनशक्ति नभएको अवस्थामा,साधन–स्रोत नभएको अवस्थामा, अर्थ प्राप्त नभएको अवस्थामा जति छ त्यतिकैमा प्रदेश सरकारले एकदम दिन–रात मेहनत गरेर पनि काम गरेको छ । अनि विकासको काम पनि अगाडी बढाएको छ ।
३) अहिलेको अवस्थामा राजनीति महिलाको लागि अवसर र चुनौती के पाउँनु भएको छ ?
अहिलेको समयमा राजनीति महिलाको लागि अवसर र चुनौती दुवै छ । महिलालाई राजनीतिमा सक्रिय रहन आर्थिक, सामाजिक लगायत थुप्रै कुराले साथ दिन सकेको छैन । पितृसत्तात्मक सोच भएको नेपाली समाजमा महिला स्ंवयमले नेतृत्व गरेर राजनीतिमा होमिनु आफैमा कम चुनौती छैन । महिलाले घरको पूर्ण जिम्मेवारी पुरा गरेर राजनीति गर्नुपर्ने बाध्यता पुरुष प्रधान समाज र परम्परागत सोच दुवै मुख्य चुनौती छन । चुनौती नभएको केही हुदैँन । तर चुनौती संग डगमगाएर चुप बसेको भए देशमा राष्ट्रपति, सभामुख जस्ता उच्च पदमा महिला पुगेको हुदैँन थिए । राजनीतिमा आत्मविश्वास र शक्ति दुवै हुनुपर्छ ।
४) वार्षिक कार्ययोजना अनुसार काम सकेर अहिले नयाँ कार्ययोजना बनाउने क्रममा यहाँहरु हुनुहुन्छ । प्रदेश नं २ का लागि जुन योजना बनाउनु भयो , त्यसलाई कार्यान्वयन गर्न कत्तिको सफल हुनुभएको छ ?
योजना त हामीले धेरै बनायौ । तर योजना अनुसार वास्तवमा हाम्रो काम किन भएन भन्दा त्यो सर्वविद्धीत नै छ । नयां संरचना हामीलाई पनि त्यति थाहा छैन । संविधानमा नै हाम्रो अधिकार स्पष्ट छैन । त्यो नीति स्पष्ट हुनुप¥र्यो कि प्रदेश सरकारको काम, अधिकार के हो ? यसमा अर्थमन्त्रालयको उदाहरण दिन्छु ।
कर्मचारीहरुलाई थाहा थिएन कि कुन–कुन राजस्व संघिय सरकार र प्रदेश सरकारको खातामा जानुपर्नै हो । त्यस्ता किसीमका ऋटिहरु पनि छन् । त्यसमा न कर्मचारीको दोष छ न त जनप्रतिनिधी ।मैले बेला–बेलामा आएर स्थानियमा मेयरहरु संग समन्वय गरेर आफनो गाउँपालिकामा २५ सैयाको अस्पतालको सुरुवात गराए । त्यस्तै पचाँस लाख को लागतमा गढिमाई नगरपालिकामा क्रिकेट स्टेडियम, अर्को सामुदायिक भवन, सडक बनाउने काम पनि सफल भएको छ ।
५) काम गर्ने समयमा तपाईलाई कतिको सर्घष गर्नुपरेको छ ?
यथार्त सबैलाई थाहा छ । महिलालाई अगाडी बढ्न नै दिदैनन् । म समाजको विकृती हेरेर यो राजनीतिमा आएको हो । जबसम्म महिला राजनीतिमा आउँदैनन् तब सम्म यो समस्या समाधान हुदैन । किनभने नियम–कानुन उनीहरुले नै बनाउँछन । कहि न कहि पक्षपात गरिरहेका हुन्छन् । महिलाले चलाउन सक्दैन भनेर उहाँहरुले टिकट दिनुभएन । तर मेरो क्षेत्र अहिले पनि एकदम बलियो छ । मैले आफनो क्षेत्रमा विश्वास जगाएको छु । मलाई टिकट नदिइ समानुपातिकमा राख्नुभयो । समानुपातिकमा जानको लागि पनि धेरै लडाइ गर्नुप¥र्यो । पार्टीमा मेरो लगानी पनि छ । तर पार्टीले मलाई दिनुभयो । सम्झौता पनि गरेको थिए । मेरो १ नं.मा नाम थियो । म सभासद भए । त्यसपछि अर्थराज्य मन्त्रीको लागि फेरी पनि लडाइ गर्नुप¥र्यो । उहाँहरुले आश्वासन दिई पछि हुन्छ भन्नुभयो । पेपरमा नाम आयो । मेरो जिल्लामा धेरै नै विरोध भयो । मेरो विरोधीहरुले त्यो महिलाले गर्नै सक्दैन । उ आयो भने मेरो संगठन नै खतम हुन्छ भनेर धेरै विवाद आयो । तर पछि हाम्रो पार्टीका पदाधिकारी, माननीय नेताहरुले कदर गर्नुभयो । मेरो पार्टीको महिला नेतृ मेरो लागि धेरै लडनुभयो । अनि मैले पाए ।
६) प्रदेशलाई नै कार्यथलो बनाएर प्रतिनिधित्व गर्दै हुनुहुन्छ । यहाँका महिलाहरुको लागि विशेष योजना के छ ?
जब सम्म महिला आर्थिक, राजनीतिक, चेतना र शिक्षामा आफु सक्षम हुदैँनन् । तब सम्म यो समस्याको समाधान कसैले गर्दैनन् । प्रदेश सरकारको आफनो नीति तथा कार्यक्रम छ । जागीर मा महिलालाई पचास प्रतिशत, प्रहरीमा पचास प्रतिशत महिला आरक्षण आर्थिक हिसाबले पनि सबलको लागि विभिन्न कार्यक्रमहरु पनि संघिय सरकारले चलाईराखेको छ । मेरो विचारमा महिलालाई अर्थमा जुन महिला एकल, हिंसामा पारिएका वहाँहरुको लागि एउटा ठूलो प्रादेशिक महिला लघु उधोग केन्द्र स्थापना गर्न को लागि तयारी बनाइसकेको छु । त्यसको लागि ठाँउ पनि अवलोकन गरिसकेको छु । १३ विगाहको छ । त्यसैमा सानासाना उधोग जस्तै मैनबत्ती, अगरबत्ती, कटिङ्ग लगायत गार्मेन्टको काम विभिन्न किसिमका काम त्यस्ता किसिमका कार्यक्रम ल्याउने सोच बनाएको छु । महिला लद्यु उद्योग दर्ता पनि गराई सकेको छु त्यसमा दिनरात मेहनत गरिरहेको छु । अब कति सम्म सफल हुन्छ आशा गर्दछु ।
७) निर्णायक भुमिकामा महिलाको निर्णय मानिन्दैन भनेर चर्चा–परिचर्चा सुन्दै आएका छौ त ?
वास्तवमा यो त परापुर्व कालदेखि नै हो । कार्यकारिणी पद महिलालाई दिन स्विकार गदैनन् पुरुषहरु । अहिले पनि हामी हेर्दै आएका छौ । गाउँपालिका, नगरपालिकामा महिलालाई उपमेयरमा दिएका छन । त्यसमा पनि विवाद भईरहेको छ । कहाँ गर्न दिन्छन् । जुन महिला उनीहरुले भने अनुसार गर्छन । त्यो एकदम ठिक महिला । जुन ठाउँमा महिलाले म गर्न सक्छु । मेरो अधिकार हो भन्ने ठाउँमा त्यहाँ विवाद आईरहेको छ । कारण एउटै हो । कार्यकारिणी अधिकार । म के भन्छु भने यदी कसैले हप्काएदियो भने हामी डराएर चुप लागेर बस्छौ । त्यस्तो गर्नुभएन । क्षमतावान बनेर अगाडी बढनुपर्दछ । हामी सक्दैनौ भनेर मानसिकता बनायौ भने कहिले अगाडी बढ्दैनौ । हामी जहाँको त्यही रहन्छौ । तर पुरुषभन्दा बढि महिला ले गर्न सक्छन । पुरुष वेइमानी पनि गर्छन तर महिला इमान्दारीको साथ काम गर्छन ।
८) मधेश प्रदेश मा यहाँले कार्य गरेको अनुभवको आधारमा अर्थको हिसाबमा महिलाहरुले कत्तिको आफनो नियन्त्रणमा अर्थहरु पार्जन गर्न सकेका छन जस्तो लाग्छ ?
वास्तवमा अर्थको हिसाबमा महिलाहरुले मेरो भनेर अहिले सम्म १० प्रतिशत पनि त्यस्तो महिला देखेको छैन । त्यही महिलाको आफनो सम्पत्ति माथि हक छ जुन महिला एकल छन् । जसको घरमा कोही छैनन् । त्यहि महिलाको सम्पत्ति माथि मात्र स्वामित्व अधिकार रहन्छ । जस्तैः तपाईको नाममा जग्गा छ तर तपाइ आफनो स्वःइच्छाले बेच्न सक्नु हुन्न । हामीले लगाएको सुनमा पनि पुरुषको अधिकार हुन्छ । यावत कुराहरु छ । कहि पनि महिलाको सम्पत्ति माथि नियन्त्रण, अधिकार छैन जस्तो मलाइ लाग्दछ ।
९) मधेश प्रदेश कृषिमै आधारित छ जुन महिला अगाडी बढ्न चाहन्छन् । त्यस्तो महिलाको लागि उत्प्रेरणा जगाउन के गर्ने योजनामा हुनुहुन्छ ?
मैले जति गरे नि जब सम्म महिला आफु सचेत हुदैँनन्, विचारले सबल हुदैनन् । चेतना आउँदैन, वास्तवमा सक्षम हुदैनन् । तब सम्म मैले जति कार्यक्रम संचालन गरेपनि या परिक्षण दिए पनि त्यो सायद सम्भव छैन । त्यसकारण मेरो विचारमा सबभन्दा शिक्षा दिनुपर्छ । शिक्षामा कसरी महिलालाइ स्वालम्बी बनाउने । जब शिक्षामा स्वालम्बी हुन्छन् । शिक्षा एउटा यस्तो माध्यम हो । जसले चेतना ल्याउँछ । यो मेरो हो, अधिकारको अनुभुति गराउँछ । पहिचान गराउँछ ।म सुरुदेखि नै राजनीतिमा लागेको नै हो महिलालाइ कसरी सक्षम बनाउने आर्थिक हिसाबले ।कसरी स्वालम्बी बनाउने, र आफनो खुट्टामा उभ्याउने यो लक्ष्यर लिएर राजनीतिमा आएको हु ।
सबै साथीभाइको पनि साथ पाएर अगाडी बढेको छु । हामी त नियम कानुन बनाउने मात्र हो । त्यसको कार्यान्वयन त सबैले गर्नुपर्छ । हुन त म अर्थराज्यमन्त्री हो । राज्यमन्त्रीको अधिकार कति हुन्छ सबैलाइ थाहा छ । जति मेरो अधिकार छ म त्यति मै आफुले सक्दो प्रयास गरिरहेको छु । हरेक ठाउँमा अफ्ठ्यारा, बाधा, अडचन छन् । तर पनि यो चुनौती बाधालाई अवसरको रुपमा परिणत गरेर अगाडी बढिरहेको छु ।
महिलाका लागि धेरै योजना छ । धेरै कठिनाइको कारण त्यो योजना अगाडी ल्याउन खोजिरहेको छु तर सफल भइरहेको छैन । म केविनेटमा छैन । निणर्यमा छैन । प्रत्येक जिल्लामा महिलाहरुका लागि लघु उधोग केन्द्र स्थापना गर्ने सोच राखेको छु । साना उधोगसंग समन्वय गरेर महिलालाई कहि न कहि अर्थमा सबल दिर्घकालिन सोच रहेको छ ।