कृषि प्रधान देशको प्रमुख खाद्यवाली धान र चामल आयातमा भन्सार विभागको तथ्यांक अनुसार नेपालले दैनिक औसत करिब साढे १३ करोडको धान र चामल आयात गरिरहेको छ । बितेको ११ महिनामा नेपालमा ४५ अर्ब २९ करोड रुपैयाँको धान–चामल र धानको बिउ आयात भएको छ । यसो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर कृषि प्रधान देश नेपालको वास्तविकता भने यस्तै छ ।
नेपालमा मागअनुसार उत्पादन नहुने र बढी, मल अभाव र प्रकोप लगायतका कारणले उत्पादन घट्ने अवस्था देखिएको छ । कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १४ लाख ७३ हजार ४ सय ७४ हेक्टरमा रोपाइँ हुँदा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो ।
२०७८/७९ मा १४ लाख ७७ हजार ३ सय ७८ हेक्टरमा धान रोपाइँ हुँदा समेत ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार ६ सय २५ टनमा झरेको छ ।परनिर्भरता बढ्दै जाँदा गत आर्थिक बर्षमा भने अघिल्लो आर्थिक बर्षकोभन्दा झन धान चामल आयातमा रकम बाहिरिनु मुलुकका लागि निकै दुर्भाग्यको कुरा भएको छ । अझ बाहिरबाट आयात भएका प्रमुख २० मालबस्तुको लिष्टमा खाद्यान्न मकै टप १६ नम्बर र धान २० नम्बर भित्र पर्दा खाद्यान्नमा नै मुलुक परनिर्भर तर्फ उन्मुख भइरहेको प्रष्ट हुन्छ । यसले पनि नेपाली किसान र वास्तविकता बुझ्ने नेपालीलाई अझ चिन्ता थपिएको छ ।
मुलुक भित्र उत्पादन नहुने सामान त बाहिरबाट आयात गर्नु स्वभाविकै हो । तर मुलक भित्र उत्पादन हुने समान पनि नहुने सामानको तुलनामा आयात हुनु निःशन्देह चिन्ताको बिषय हो । कृषि प्रधान देशको शिर निहुरिेने गरी यस्तो दुःखद् यथार्थ सामने आउनु भविष्यका लागि चुनौतिको बिषय होइन भन्न सकिन्न । मुलुकमा न त ‘कृषि राज्यको अवधारणा छ ? न त मुलुक हाँक्नेहरुलाई खाद्यान्न आयातबाट अर्बौं रकम बाहिरिएकोमा चिन्ता छ ? यतिमात्र नभएर एउटा मुलुकका च्याउझैं उमरेका ७६१ सरकार संचालकलाई मुलुक भित्र तराई अन्नको भण्डार हुँदा पनि कृषि उत्पादनको बैज्ञानिक अवधारण ल्याउन नसक्ने नीति आलोचना गर्न लायक छ । उनीहरुलाई यो बिषयमा जति आलोचना गरे पनि कमै हुन्छ । कम्तिमा अन्नको भण्डार बचाएर मुलुक भित्रै उत्पादन हुन सक्ने मालबस्तु बाहिरबाट आयात गर्नु नपर्ने अवस्था सृजना गर्नुपर्ने दायित्वबाट अब उनीहरु भाग्न पाउँदैनन् ।
अहिले चामलको मागसँगै आयात बढ्दो छ । नेपालमा मुख्यरुपमा भारतबाटै धान र चामल भित्रिन्छ । तर, अन्य देशहरुबाट महँगा मूल्यका चामल समेत आउने गरेका छन् ।जनसंख्या र मागमा भएको वृद्धिअनुरुपको उत्पादन नहुँदा नेपाल चामलमा समेत परनिर्भरताको मार्गमा अघि बढेको धेरैको तर्क छ ।
जनताको हुर्मत काढेर उठाएको करबाट घर चलाउन पल्केका राजनीतिकर्मीहरुले सत्ताको भ¥याङ्गमात्र जनतालाई बनाउन अब छोड्नु पर्छ । कृषि प्रधान देशभन्न समेत लज्जाबोध हुने अवस्थाको अन्त्य गर्न विर्सिए नेपालले ठूलो मूल्य चुकाउनु नपर्ला भन्न सकिन्न । २५⁄३० बर्ष अगाडी खाद्यान्न निर्यात गर्दै आएको मुलुकमा पछिल्लो समयमा किसानलाई बजार, मल बिऊ केहीमा पनि राज्यले सुविधा नदिंदा युवा जनशक्ति पलायन हुने र उत्पादनमा ह्रास आउने कुरालाई राज्यको नेतृत्वमा हुनेले अब सम्झनु पर्छ ।
यसो भए मात्र मुलुकलाई कुनै दिन कंगाल मुलुक हुनबाट जोगाउन सकिन्छ भन्ने हेक्का यत्राविधी सरकार हाँक्नेले राख्न सक्नु पर्छ । यसको लागि आधुनिक कृषि प्रणालीको विकास गर्दै जानु पर्छ । ‘धान उत्पादन बढाउन सकिने खालका राष्ट्रिय गौरवका सिंचाइ आयोजनाहरु १० वर्षसम्म सम्पन्न नभएर अल्झिएका छन्,’‘सरकारले यस्ता सिंचाइ आयोजनाहरुलाई महत्वका साथ छिटो सम्पन्न गर्न जोड दिनुपर्छ ।’ नेपालबाट धान–चामल आयातका नाममा ठूलो मात्रामा विदेशी मुद्रा प्रयोग गर्ने तर त्यसअनुसार आयात नै नगर्ने अवस्था समेत हुनसक्ने छ ।
आधुनिक कृषि प्रणाली अपनाएर अपार समतल भूमिबाट नेपालीले फाइदा लिन सके मात्र कृषि प्रधान देश भएको गर्व गर्न सकिन्छ । अनि खाद्यान्नमा परनिर्भर होइन निर्भर भई विगत २५⁄३० बर्ष झैं निर्यात गर्न समेत अग्रसर हुनु पर्छ । यसो भएमात्र भेलीका लागि थ्रेटका रुपमा देखिएको खाद्यान्न आयात प्रतिस्थापन हुने र सयौं हेक्टर समतल भूमिको उपभोग हुनेमा दुईमत रहँदँन । यति पनि गर्न नसक्ने हो भने कृषि प्रधान देश भन्नुको अर्थ रहन्न ।