वीरगंज । संघीयता आएपछि सिंह दरबारको अधिकार गाउँ गाउँ आएको भनिन्छ, संगसंगै भ्रष्टाचार पनि आएको नभनिएको भने पक्कै पनि होईन । जनप्रतिनीधीको प्रमुख कार्य बजेट तर्जुमा हो भने त्यस बजेटलाई कसरी कार्यन्वयन गर्ने मुख्य जिम्मेवार व्यक्तिको रुपमा त्यसपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेको हुन्छ ।
यही जिम्मेवारी अन्तर्गत रही आर्थिक कारोबार गर्दा वा कार्य सम्पन्न भईसकेपछि भुक्तानी गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत कै हुन्छ । यसरी हेर्दा भ्रष्टाचार गर्ने वा हुन नदिने मुख्य संयन्त्रकारी निकाय मध्येको एक प्रमुख व्यक्ति प्रमुख प्रशासकीय अधिकृत नै हुन्छ । तर पर्साको सखुवा प्रसौनी गाउँपालिकामा निवर्तमान अधिकृत सन्देश यादवकै डिजाईनमा निवर्तमान गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल लगायतकाहरुले करोडौंको योजनामा भ्रष्टाचार गरेको धेरै पहिला युवाहरूले उजुरी दिदा खुलेको छ । सोहि भ्रष्टाचार छानबिन गर्न अख्तियार बल्ल तातेका छन् ।
सखुवा प्रसौनी गाउँपालिकाका वडा नं. १ मा पर्ने अकवनिया टोलमा ७ बिग्हा जग्गामा पोखरी खन्ने काम आई.ई.ई. रिपोर्ट पालिका प्रतिघन फिट रु ३ को दरले राजश्व लिने निर्णय अनुसार कराडौं राजश्व उठ्नु पर्नेमा ७ लाख मात्रै उठेको र पालिकाको अनुदान रु २२ लाख बिनियोजित रकम अन्य किसानलाई अनुदान नदिई सोही पोखरिलाई दिई दोहोरो फाईदा राजश्व र अनुदान समेत लगायत क्यौं योजनामा हिनामिना गरि व्यापक भ्रष्टाचार गरेको भन्दै निवर्तमान गाउँपालिका उपाध्यक्ष फुलमति देवी थरुईन सहितका जनप्रतिनीधी र स्थानीयले २०७७ भदौं ३० गते अधिकृत यादव, निवर्तमान गाउँपालिका अध्यक्ष जयसवालसमेतका माथि अख्तियार अनुसन्धान आयोग हेटौडामा दिएको उजुरीबाट खुलेको छ ।
पद र अधिकारको दुरुपयोग गर्दै अधिकृत यादवले निवर्तमान अध्यक्ष जयसवालसंगको मिलेमतोमा सखुवा प्रसौनी गाउँपालिका वडा नं. १ औराहा टोलमा पर्ने धरहरी खोलामा ह्युमन पाईप जडान गरि कल्भर्ट गाउँले बनाएकोमा उक्त कल्भर्टको ४ वटा बिङ्ग वालमा जाली ढुगाको काम निवर्तमान अध्यक्ष जयसवालकै गाउँले भाई अर्जुन पटेललाई आफ्ना ईन्जिनियरद्वारा कोटेशन बनाई र मुल्याङकन समेत सदर गरि भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ ।
यस्तै, सखुवा प्रसौनी गाउँपालिकाको सम्पूर्ण वडाका बाटोहरु मर्मत सम्भार गर्न रु ४० लाख बिनियोजित गरिएकोमा रु ४ लाखसम्मको मात्र काम भएको भनी निवर्तमान गाँपा अध्यक्ष संयवमले गाँपा सदस्यहरु समक्ष स्वीकार गरेको तर उक्त रकम कामै नगरि निकासा गरि अनियमिता भएको छ । त्यस्तै प्रत्येक वडामा सार्वजनिक शौचालयका लागि रु ४२ लाख बिनियोजित भएकोमा वडा नं. ३ र ५ मा पुरानै शौचालयलाई मर्मत सम्भार गरि अन्य ४ वटा वडामा अधुरो शौचालय बनाई रकम निकासा गरि भ्रष्टाचार गरिएको छ भने वडा नं. ५ मा रहेको श्री ने.रा.मा.वि. महुवनका लागि रु १० लाख डेक्स बेन्च र रु १० लाखकै कम्पयुटर खरिदको रकम कामै नगरि भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार अनुशन्धान आयोग हेटौंडामा मुद्दा परेको थियोे ।
यस्तै, आर्थिक वर्ष २०७५/७६ मा रु २५ लाख आर्थिक वर्ष २०७६/७७ मा रु २४ लाखको धारामा पनि इष्टिमेट अनुसारको काम नभई भ्रष्टाचार गरिएको छ ।
कोरोना कालमा झुल पि.पि.ई., बेड, थर्मल गन, हनी वेल मास्क, सेनिटाईजर लगायत खरिदमा पनि अनियमितता भएको छ । गाउँपालिकामा कुनै पनि टेण्डर निवर्तमान गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बाहेक कुनै पनि जनप्रनिधिलाई जानकारी नै नदिई सबै किसिमका टेण्डर प्रकृयामा आर्थिक चलखेल गरि भ्रष्टाचार गरेको उल्लेख छ । पालिकामा के कति मोटरसाईकल, कम्पयुटर, ल्यापटप, प्रिन्टर, मोबाईल, एल्सी र अन्य सामानहरु खरिद भएको हो र उक्त सामानहरु क् कसलाई वा कुन कार्यालयलाई जिम्मा दिइएको पालिकासंग कुनै रेक्र्ड नै नभएको दाबी गरिएको छ ।
यस्तै, वडा नं. ३ मा हालिम मियाँको घरदेखी राजेश्वर पटेलको पसलसम्म बाटो ढलानमा रु २५ लाख र पोखरी निर्माणमा रु ८ लाख ५० हजार पालिकाबाट बिनियोजन भएको र प्रदेश सरकारबाट दुबै योजन शिर्षकमा रु २५/२५ लाख रकम बिनियोजन भएकोले एउटै काममा पालिका र प्रदेशबाट समेत दोहोरो रकम निकासा गरि भ्रष्टाचार भएको छ । राहत, क्वारेन्टाईन र आईसोलेशनको नाममा यसपालिकामा करोडौं रकम निकासा भएको तर उक्त राहतका खाद्यान्न सामग्री कुन वडामा के कति गएको भने बारे पनि छानबिन गर्न भनिएको छ । राहतको नाममा पछिल्लो निकासा भएको रु ७० लाखको राहतमा प्रत्येक वडामा सबै जनतालाई दिने भनी भएको निर्णयमा आधा मात्रै जनतालाई राहत दिई बाँकीको रकम पनि हिनामिना गरिएको आरोप छ ।
यस्तै, सिलाई कटाईको तालिमको नाममा रु २४ लाख निकासा गरेको तर बन्दाबन्दीको अवस्थामा तालिम नै संचालन नगरि उक्त रकम निवर्तमान गाँपा अध्यक्षको मिलेमतोमा उतिबेलाका समाजिक विकास संयोजक विनोद यादवले भ्रष्टाचार गरेका छन् भने होली मिलनको एक दिने कार्यक्रमको नाममा रु ५ लाख निकासा गरि अबिर छर्कि, बदाम काजुसहितको पकेट बनाई बिनोद यादवले नै भ्रष्टाचार गरेका उजुरी कर्ताहरूको दाबी छ ।
यस बारेमा अधिकृत सन्देश यादवले आफुले केही पनि नबोल्ने प्रतिक्रिया दिए ।
यी विभिन्न शिर्षकको भ्रष्टाचारमा मुख्य योजनाकार रहेका सन्देश यादवले गाउँपालिकाबाट सरुवा भई हाल पर्साकै पटेर्वा सुगौली गाउँपालिकामा कार्यरत रहेका छन् । करोडौं योजनामा भ्रष्टाचराको मुख्य नाईके रहेका अधिकृत यादवले पालिका फेरेपछि भ्रष्टाचारबारे छानबिन पनि नहुने निराशमा स्थानीय रहेपनि अख्तियारले भने छानबिन प्रकृया अगाडी बढाएको जनाएको छ । धेरै विषय भएकोले छानबिन गर्न समय लाग्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी बिष्णु सापकोटाले बताए ।
यसबारेमा पटक पटक सोधखोज गर्ने र विभिन्न उजुरी अाएकाले तहसम्म पुग्न समय लागेको उनको प्रतिक्रिया छ ।