तराईवासिको महान पर्व छठको तयारी धुमधामका साथमा अहिले भईरहेको छ ।
छठपर्वको पहिलो दिन आईतबार व्रतालुहरुले नहाए खाए अर्थात नुहाएर खाने विधिपुरा गरी छठपर्वको शुभारम्भ गरेको छ भने, आज छठपर्वको दोस्रो दिन खर्ना मनाइन्छ । जस अन्तर्गत ब्रतालुहरुले दिनभरि उपवास बसेर राति चामल, दुध र सख्खर (चिनी) मिसाएको खीर, पुरी कुलदेवता र सूर्य देवतालाई चढाई बिना नुनको खानेकुरा खान्छन् ।
त्यस्तै यसपर्वको तेस्रो दिन व्रतालुहरुले दिनभरि आ–आफनो घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याऊ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साझँपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । त्यसदिन रातभरि नदी, तलाऊ तथा पोखरीको डिलमा जाग्रम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई सम्पुर्ण पकवान तथा खाद्ययवस्तुको अर्घ दिदै छठपर्वको समापन गर्ने गरिन्छ ।
छठपर्वकै लागी बाराको कलैयास्थित रामजानकी मन्दिर, सिद्धेश्वर पोखरी, महागढीमाई नगरपालिकाको गढीमाई पोखरी, सिम्रौनगढको इसरा पोखरी, गंजभवानीपुरको रामजानकी पोखरी, आर्दशच्युटाहाका पोखरी, बारागढी गाऊँपालिकाको पिप्रा लगायतका ठाँउमा रहेका पोखरीहरुमा सजावटको कार्य तिब्र रुपले भईरहेको छ ।