वीरगंज । वीरगंज पब्लिक कलेजका निर्देशक डा. दीपक शाक्यले सम्झौता भएदेखि प्रयोग गर्दै आएको बाल संगठनको जग्गाको भाडा वापतको करोडौं रकम अझै तिरेका छैनन् । वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कट्ठा जग्गाको भाडा वापतको रकम ११ वर्षदेखि नतिरी अझै पनि संगठनलाई दुःख दिइरहेका हुन् ।
संगठनका तत्कालिन सभापति अशोक कुमार जयसवालसँगको २०६८ असार २१ गते भएको सम्झौतामा २ वर्षको लागि मासिक १६ हजार १ सयको दरले र त्यसयता २५ बर्ससम्मको लागि मासिक रु. २१ हजार १ सयको दरले हरेक ३ वर्षमा १० प्रतिशत बढाउने गरी कौडीको भाडामा समेत सम्झौता गरेको उक्त जग्गाको भाडा बापतको रुपैयाँ हालसम्म नतिरी बाल संगठनको जग्गा कब्जा गरि प्रयोग गर्दै आएको स्थानीयको आरोप छ ।
संगठनमा रहेका पदाधिकारी तथा सदस्यहरुले आफै भाडामा लिन नपाउने भएपछि उनले आफ्नो सन्तानको नाममा संगठनको सम्पति भाडामा लिन त्यतिबेलादेखि नै दूरुपयोग गर्दै आएको भेटिएको छ । संगठन पर्साका सदस्य डा.दीपक शाक्यले आफ्नो छोरा शंकल्प शाक्यको नाममा सो जग्गा भाडामा लिएर श्री आदर्श माध्यमिक विद्यालय चलाइरहेका छन ।
तत्कालीन समयमा संगठनको सदस्य रहेका डा. दीपक शाक्यले व्यक्तिगत फाइदा लिन आफ्नै छोराको नाममा १२ कठ्ठा जग्गा बहालमा लिइ आफैं साक्षी बसेर संगठनकै विधानको बर्खिलाप गरेको बाल संगठन पर्साका निवर्तमान सभापति रामकिशोर सिंह पराग आएपछि खुलासा भएको थियो ।
बक्यौता रकम तिर्न आफूहरु पटक–पटक पत्राचार गर्दै आए पनि उनले नागरिक समाजको अगुवाको दम्भ देखाउँदै करोडौं रकम नतिरेको निवर्तमान सभापति रामकिशोर सिंह परागले बताए । संगठनका अनुसार डा.शाक्यले केही महिना पहिले संगठनको नाममा ४ लाख रुपैयाँ जम्मा गरे पनि भाडा वापत तिर्नु पर्ने करोडौं रकम तिरेका छैनन् । तर डा. शाक्यले आफूले ३/३ महिनामा सबै रकम तिरिसकेको दाबी गर्दै आएका छन् ।
संगठनका अनुसार हालसम्म करिब एक करोड ३० लाखभन्दा बढि भाडा शाक्यले बाँकी राखेका छन् । तर डा. शाक्यले अहिलेसम्मको भाडा २६/२७ लाख मात्रै भएको बताउँदै सबै भाडा तिरिसकेको दाबी गर्ने गरेका छन् । तर डा. शाक्यले ४ लाख मात्रै तिरि विद्युतको लाईन लिन निवेदन सिफारिस गराउन जाँदा पुरै पैसा तिरे मात्रै सिफारिस गर्ने भन्दै फर्काएको संगठनको भनाइ छ ।