हरेक कुराको सुरुवात र अन्त्य नजोडिने दुई पाटोसँग अल्झेको हुन्छ । बीचको कुराले भयानक रुप धारण गरे पनि त्यसको सुरुवात थोरै अर्थात सानो अवस्थाबाट सुरु भएको पाइन्छ । बीचको विकराल रुपको निदान पच्छ्याउँदै जाँदा त्यसको जड अर्थात सुरुवात सानो अवस्थाबाट नै भएको देखिन्छ । अनि अन्त्य पनि सानो मै खिस्रिक्क हुन्छ । बीचको कुरा, प्रशंग वा नालीवेली चाही लम्मिदै भयानक बनेको भेटिन्छ । सुरु र अन्त्यको कहानी जोड्ने कडीका रुपमा रहेको बीचको सबै कुरा मानिस, समाज र देशको टाउको दुखाई हुने पनि गरेको छ ।
लागु औषधको प्रयोग ओसार–पसार र त्योसँग सम्बन्धित कुराको बीचको प्रभावले पनि व्यक्ति, समाज र देशलाई नै वर्वाद बनाएको हुन्छ । यसको पनि सुरुवाती र अन्त्यको गाँठो पशौटो बाहेकको बीचको लम्मेतान कहाली लाग्दो परिदृष्य निकै टाउको दुखाइ बन्ने गरेको छ । हरेक दिन सुरक्षाकर्मीबाट मासिन पक्राउ परेको कुरा बाहिर आउँछ लागु औषध सहित ।
लागु औषध प्रयोग र कुलत प्रमुखतः सुरुमा भयानक हुँदैन । तर सुरुमा नै त्यसलाई किनारा लगाउन सकिएन भने त्यसले पछि धारण गरेको रुप अनायस नै ठूलो महाठूलो बन्दै नियन्त्रण वाहिर जान सक्छ । यसमा खास गरी १६ देखि २५ बर्ष उमेर समूहका युवाको सम्लग्नता बढि हुने र फस्ने पनि युवा संख्या नै धेरै देखिन्छ । अरु उमेर समूहलाई यसले प्रभाव नै पारेन भन्न खोजेको भने होइन । तर १६ देखि २५ भित्रको युवाको अवस्था भने भविष्य नै अन्धकार बनाउने गरी समाजमा देखा पर्न थालेको छ । यो अहिले नै नियन्त्रण तर्फ सबै मिलेर कदम चालिएन भने मुलुको आगामी भविष्यमा पनि अझ प्रभाव पार्न सक्छ ।
भन्न के खोजेको हो भने लागु औषध ओसार पसारमा लागु औषध सहित मानिस पक्राउ पर्नु नियन्त्रणको प्रयास गर्नु नै हो । तर बीच बाटोमा पुगेको मिसनलाई त्यहाँ रोक्नु पूर्व गाँजा लगाउने ठाउँमा नै निमिट्यान्न गर्ने अझै पनि अभियान गर्नै पर्छ । लागु औषध उत्पादन कसरी र कहाँ हुन्छ ? अब आम सरोकारको बिषय त्यहाँ हुनु पर्छ । तयारी अवस्थाको लागु औषधको पनि जड पत्ता नलाग्ने भन्ने होइन ।
त्यसैले उत्पादन हुने सुरुवाती चरणमा नै नियन्त्रणको प्रयास गरियो भने त्यसले परिणाम राम्रो दिन समय बढि लाग्दैन । पर्साकै सन्दर्भ हेर्ने हो भने एक दशक अगाडी गाँजाको उर्वर भूमि पर्सा पनि मानिन्थ्यो । तर यसलाई किनारा लगाउन धेरै समय कुर्न परेन । अहिले पर्सामा गाँजा उत्पादनको काम नै नगन्य मात्रामा छ । अन्य लागु औषधसँग जोडिएर पक्राउ परेका मानिसको अवस्था पनि समस्या न्यूनिकरण हुन नसक्ने भन्ने अवस्थाकै चाही होइन । यसलाई समयमा नै नियन्त्रणको प्रचुर प्रयास गरियो भने सफलता प्राप्त हुन सक्छ ।
समस्या कहाँ निर छ ? भन्ने सुक्ष्म रुपले बुझेर न्यूनिकरणको प्रयास थालिनु अपरिहार्य छ । यसो नगरी बीच बाटोमा दाउ छोपेर संलग्नलाई मात्र पक्राउ गर्ने र जेल पठाउने नीतिले आम युवाको मात्र नभई समाज र देशको पनि भविष्य नराम्रोसँग गाँजिन थाल्छ । त्यसैले रोग लाग्नु पूर्व रोगको बाटो छेक्नु जाती भन्ने उक्ति अनुसार गाँजा, चरेश, अफिम, र तयारी अवस्थाको पनि एम्पुल लगायतको लागु औषध उत्पादन हुने ठाउँमा नै राज्यका नियमनकारी निकायको नियमन हुनु जरुरी छ ।