मानिसमा नयाँ प्रविधि र कार्य व्यस्तताले शारिरिक अभ्यासहरु ठ्याप्पै हुन छोडेका छन् । अझ शहरी जीवन विताइरहेका आम मानिसमा काम–काम र प्रविधिको बोझ अत्याधिक बढेको छ । यो बोझबाट आम मानिसलाई छुट्कारा दिलाउन र स्वस्थ्य रहनका लागि विभिन्न शारिरिक अभ्यासहरु गर्नु पर्ने हुन्छ । त्यो अभ्यासलाई परिवर्तित समय अनुसार जुम्बा भन्ने पनि गरिएको छ । वीरगन्जमा पनि शर्मिला भित्रिकोटी परियारले जुम्बा सिकाइरहनु भएको छ । जुम्बालाई दिनचर्या नै बनाएर धेरै मानिसको स्वास्थ्य राम्रो होस् भनी निरन्तर खटिरहनु भएकी जिन शर्मिलासँग गरिएको कुराकानी :
१) जुम्बा भनेको के हो ?
स्वस्थ्य शरीर राख्नका लागि गरिने कसरत जुम्बा हो । जुम्बा गर्दा शरीरका सबै अंगहरुको कसरत हुन्छ । यो म्युजिकको साथमा नृत्य गर्दै गरिने व्यायम हो । यो व्यायमले शरीरका अंगहरुका साथै मुटुको गतिलाई संन्तुलन राख्न मद्दत गर्छ । जुम्बा विभिन्न रोगहरु लाग्नबाट बचाउने कसरत हो ।
२) हामीलाई जुम्बा गर्दा के –के फाइदा हुन्छ ?
नियमित रुपमा जुम्बा गर्दा शरीरको मोटोपन र तौल घटाउँछ । म्युजिकको साथमा क्रियाकलाप गर्दा मनोरञ्जन, मनमा आनन्द महशुस हुन्छ । सुगर, प्रेसर, थाइराइड जस्ता विभिन्न रोगहरुलाई नियन्त्रण गर्छ । नियमित जुम्बाले मानसिक तनावबाट मुक्त गराउँछ ।
३) जुम्बा कुन उमेरका मानिसले गर्नु उपयुक्त हुन्छ ?
जुम्बा ६ वर्षको बच्चादेखि ६० वर्षसम्मका वृद्धाहरुले गर्न सकिन्छ । यो बच्चा, युवा र वृद्धाका उमेर अनुसार अलग–अलग किसिमका कार्यहरु गराइन्छ । बच्चालाई सिकाउने जुम्बालाई किड्स जुम्बा भनिन्छ । यसमा बच्चाहरुलाई कम क्रियाकलाप गराइन्छ । युवा समूहलाई धेरै समयसम्म कडा क्रियाकलाप गराइन्छ । वृद्धाहरुलाई कम समय अर्थात युवाहरुलाईभन्दा साधारण अभ्यासहरु गराइन्छ ।
४) जुम्बा गर्नु पर्नाको खास कारण के हो ?
जुम्बाको मुख्य कार्य मानिसको मोटोपन र तौल घटाउने प्रक्रिया हो । औषधीको प्रयोग बिना मानिसको मोटोपन, तौल घटाउनु जुम्बाको मुख्य उद्धेश्य हो । नियमित जुम्बा गर्दा १ महिनामा ३ देखि ८ के.जीसम्म तौल घट्छ । फ्याट र वजन घटाउन नियमित व्यायम गर्दा व्यायमको साथै डाइटको पनि आवश्यकता पर्दछ ।
५) तपाई यस क्षेत्रमा आउने ईच्छा कहिलेबाट आयो ?
सानो उमेरदेखि नै यस क्षेत्रमा आउने ईच्छा थियो । सुरुवातमा टि.भी. हेरेर एरोबिक म्युजिकमा डान्स गर्न थाले । एरोबिक व्यायम गर्न जानेपछि मार्सल आर्ट पनि सिके ।
एरोबिक व्यायम र मार्सल आर्ट दुबै जानेपछि झनै मलाइ यस क्षेत्रमा काम गर्न सजिलो भयो । पछि गएर एरोबिकलाई जुम्बा भन्न थालियो । काठमाण्डौं बस्दा १० वर्ष अघि नै केही मात्रामा जुम्बा सिकाउथें । २०७५ सालमा जुम्बा प्रशिक्षकको लाइसेन्स लिए । विरेन्द्र महर्जन सरले वीरगंजमा आफ्नो जिम क्लवमा प्रशिक्षक भएर काम गर्न बोलाउनु भयो । वीरगंजमा ५ वर्षदेखि नियमित प्रोफेसनल रुपमा काम गर्ने अवसर पाए । हाल २ वटा क्लवमा काम गर्दैछु ।
६) जुम्बाको क्षेत्र विस्तार गर्न स्थानीय तहबाट कस्तो सहयोग चाहनु हुन्छ ?
जनताहरुमा जुम्बाको विषयमा खासै ज्ञान भएको पाइदैन । विद्यालयहरुमा कार्यक्रम राखी विद्यार्थीहरुलाई जुम्बा गर्दा हुने फाइदाहरुको विषयमा जानकारी दिन आवश्यक छ ।
अहिलेसम्म वीरगंजमा प्राइभेट जिम क्लवहरुबाट मात्र जुम्बा गराइएका छन् । स्थानीय तहबाट जुम्बा सम्बन्धी जनतामा जनचेतना दिने कुनै पनि कार्यक्रम संचालन गरेका छैनन् । अबका दिनहरुमा पर्सा जिल्लाका गाउँ–गाउँमा कार्यक्रमहरु संचालन गरी जुम्बा सम्बन्धी जनतामा चेतना फैलाउने काम स्थानीय तहबाट पनि हुनु पर्छ ।
निःशुल्क जुम्बा प्रशिक्षण दिने स्थानको व्यवस्थापन गर्ने, जुम्बा प्रशिक्षणमा चाहिने म्युजिक सिष्टमको व्यवस्था गर्ने, जुम्बा प्रशिक्षकलाई तलबको व्यवस्था गरेर जनताहरुलाई स्वस्थ्य र निरोगी बनाउन स्थानीय तहका जनप्रतिनिधीहरुले आ–आफ्नो स्थानमा निःशुल्क जुम्बा गराउन व्यवस्था मिलाउन सके समाज पनि स्वस्थ्य रहने र जुम्बा सिकाउने प्रशिक्षकहरुको पनि पारिश्रमिक नमर्ने हुन्छ ।
७) तपाईलाई यो क्षेत्रमा आउन परिवारका क–कस्को साथ रह्यो ?
म जुम्बा प्रशिक्षकका साथै गृहणी पनि हो । मलाइ यस क्षेत्रमा काम गर्न परिवारका सबै सदस्यहरुबाट पूर्ण रुपमा साथ सहयोग मिलेको छ । आमाबुबा र श्रीमानबाट आर्थिकरुपमा पनि सहयोग पाएँ । त्यसैले नियमित पेशाका रुपमा जुम्बामा काम गर्न पाएको छु ।
८) तपाई जुम्बा सिक्ने ईच्छा भएका आय स्रोत कम भएका दिदी बहिनीहरुलाई के सुझाव दिनु हुन्छ !
जुम्बा सिक्न ईच्छुकहरुलाई म निःशुल्क सिकाउन सदैब तयार छु । जुम्बा जताततै जुनै पनि समयमा गर्ने कार्य होइन । यो दिनमा २ पटक बिहान र बेलुकाको समयमा मात्र गर्न सकिन्छ । सिक्न चाहने महिला दिदीबहिनी मात्र हैन पुरुष दाजुभाइहरु पनि एक साथ एकै स्थानमा बसेर जुम्बा सिक्न चाहनु हुन्छ भने म जहिले पनि तयार छु ।
जुम्बा गर्न आवश्यक म्युजिक सिस्टम र स्थानको व्यवस्था मिलाउनु भयो भने समुहमा जुम्बा सिकाउन धेरै नै ईच्छुक पनि छु ।