वीरगंज । राजनीतिकर्मी रवीन्द्र मिश्रले ढिलो नगरी संवैधानिक राजसंस्था पुनःस्थापना र संघीयता खारेज गरी नेपाललाई ‘हिन्दु–बौद्ध राष्ट्र’ मा रूपान्तरण गर्नुपर्ने बताएका छन् । उनले आफ्नो आउन लागेको पाँचौँ पुस्तक ‘विचारभन्दा माथि देश’मा यस्तो उल्लेख गरेका हुन् ।
विवेकशील साझा पार्टीका पूर्व अध्यक्षसमेत रहेका मिश्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिन प्रतिदिन संवेदनशील हुँदै गएको समेत उल्लेख गरेका छन् । नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको उनको निष्कर्ष छ ।
नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ।
‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन। ६०–७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन्। आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो। आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो। त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेखेका छन्।
मिश्रले गत वर्ष विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा सङ्घीयता खारेजी र धर्म निरपेक्षताबारे जनमतसङ्ग्रह नेपालका लागि अत्यावश्यक रहेको बताउँदै ‘बहस र छलफल’का लागि एउटा दस्तावेज सार्वजनिक गरेका थिए।
उक्त दस्तावेजमाथि देशभरबाट आम रूपमा प्राप्त प्रतिक्रिया, भएका छलफल र बहस तथा बढ्दै गएको देशको भूराजनीतिक र आन्तरिक संवेदशीलतालाई मनन गरेर त्यसलाई परिमार्जन र विस्तार गरी पुस्तकको रूप दिएको मिश्रले बताएका छन्।
फाइनप्रिन्टले प्रकाशन गर्न लागेको यस पुस्तकबाट प्राप्त हुने सम्पूर्ण लेखकस्व ९रोयल्टी० राजनीतिक शुद्धीकरणको अभियानमा जाने मिश्रले उल्लेख गरेका छन्।
यसअघि प्रकाशित उनको पुस्तक ‘राजनीतिसँगै राजकाज’को लेखकस्व पनि उनले राजानीतिक सुधारकै प्रयासका लागि प्रदान गर्दै आएका छन्। उनका अन्य तीन पुस्तकको लेखकस्व विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेशनलाई प्रदान गरिँदै आएको छ।