प्रस्तुत हरफ भोजपुरी भाषाको कृषि सम्बन्धि एउटा प्रसिद्ध उखान हो । यस वर्षको मौसमी कृषि गतिविधि हेरेर यो उखान यहाँ उधृत गरिएको हो । हुन त नेपालको हिमाल, पहाड़ र तराइ क्षेत्रमा चारैतिर खेती–किसानी हुन्छ नै ।
यस कारणले नै नेपाललाई कृषि प्रधान राष्ट्र मानिएको छ । वस्तुतः नेपालको तराई प्रदेशमा भोजपुरी भाषी क्षेत्रका बहुसंख्यक मानिसहरु कृषिमाथि आश्रित रहेकाछन् । आधूनिक समयमा विज्ञानको यथेष्ट प्रगति भइसकेको हुनाले मौसम वैज्ञानिकहरुले मौसम सम्बन्धी सटिक भविष्यवाणी गरिरहन्छन् । कतिपय यस्ता भविष्यवाणीहरु सही तथा कतिपय भविष्यवाणीहरु गलत पनि हुने गर्दछन् । यस क्षेत्रमा कृषि सम्बन्धि केही यस्ता भविष्यवाणीहरु पारम्परिक रूपमा प्रचलीत रहेको पाइन्छ, जुन प्रायः सही नै हुन्छन । ज्योतिषशास्त्र अनुसार वर्षभरिमा सताइसवटा नक्षत्रहरु हुन्छन । किसानी गर्ने किसानहरुले कुन कुन नक्षत्रमा कृषि सम्बन्धि कुन कुन काम गर्नु पर्दछ भने कुरा उखानको रूपमा प्रचलीत छन ।
जस्तो भरणी, कृतिका तथा रोहिण नक्षत्रमा व्याडमा धानको बिउ राखिसक्नु पर्दछ । यी नक्षत्रहरुमा पानी परे वा नपरेको अवस्थामा धूलो मै भए पनि बिउ छरिदिनु पर्दछ । किनकि पानी पर्ने वित्तिकै बिउको अङ्कुरण भइ मृगडाह (मृगशीरा), आद्रा, पुनर्वसु र पुष्य नक्षत्रसम्म रोपाइ गर्न प्रशस्त हुन्छ ।
पुष्य नक्षत्र पछि व्याडमा बिउ राख्न निषेधित हुन्छ । भोजपुरी उखान अनुसार–पुख बोइ भा कूट के खाइ ! अर्थात् पुष्य नक्षत्रमा बिउ छर्नु भन्दा त्यसलाइ कुटेर खानु वेश । किनकि पुष्य नक्षत्रमा राखेको बिउ रोपाइ गर्दा उब्जनी राम्रो हुदैन । धान रोपाइ गरिसकेपछि श्लेषा, मघा र पूर्वा नक्षत्रमा पर्ने पानीले गवा (धानको झारको) पोषण गर्दछ । त्यसपछि पर्ने उत्तरा र हथिया(हस्त) नक्षत्रको पानीले धानको उब्जनी बढाउनमा मद्दत गर्दछ । वर्षात् र कृषि कर्मको अनुमान गर्ने क्रममा भोजपुरीमा प्रचलीत उखानहरु निम्नानुसारका छन – रोहिण रवे, मृगडाह तवे, आद्रा फुहियाए, इन्हल भात श्वान ना खाए ।
अर्थात् रोहिण नक्षत्रमा घाम–बादल लागिरह्यो, मृगडाह नक्षत्रमा अत्यधिक घाम लागोस, आद्रा नक्षत्रमा फाट–पूmट पानी परि रह्यो भने त्यस वर्ष धानको मनग्य उब्जनी हुन्छ । अर्को उखान अनुसार–आद ना बरखे आद्रा, अन्त ना बरखे हस्त, श्लेषा, मघा टूट जाए त का करि गृहस्थ । अर्थात् आद्रा नक्षत्रको शुरू मै, हस्त नक्षत्रको अन्तमा तथा श्लेषा, मघा नक्षत्रमा पानी परेन भने किसानले के गर्ने ? त्यस्तो अवस्थामा त्यस वर्ष धान बालीको राम्रो उब्जनी हुनेछैन ।
यस वर्ष मौमवैज्ञानिकहरुले औसत् भन्दा बढी पानी पर्ने अनुमान गरेका छन तथा ज्योतिषशास्त्रको भूमौ वर्षाढ़क प्रमाण अनुसार वर्षा हुने प्रमुख नक्षत्रहरुमा दुइ तथा डेढ़ आढ़क भन्दा बढ़ी वर्षाको उल्लेख रहेको छैन । अर्थात् यस वर्ष अनावृष्टि वा अल्प तथा खण्ड वृष्टि हुने अनुमान गरिएको छ । सोही अनुसार यस वर्ष कृतिका, रोहिण तथा मृगडाह नक्षत्रमा अल्पवृष्टि भएको थियो तथा सो नक्षत्रहरुमा किसानहरुले व्याडमा धानको बिउ राखेका थिए । त्यसपछिका नक्षत्रहरुमा अनावृष्टिको स्थिति देखा प¥यो । यस क्षेत्रमा रहेका सिंचाइ योजनाहरु प्रायः ठप्प अवस्थामा रहेको दुःखद स्थिति छ ।
पानीको अभावमा किसानहरुले व्याडबाट धानको बेर्ना सारेर खेतमा रोपाइ गर्न सकेनन् । केही किसानहरुले यन्त्रको मद्दतले पातालबाट पानी तानेर केही प्रतिसत खेत रोपाइ भएको भए पनि प्राकृतिक पानीको अभावमा रोपिसकेको धानका बिउ–विरूवाहरु पहेलिन थाले तथा बिउको बेर्नाहरु डढेर सखाप हुन थाले । झन अनावृष्टिको कारणले धबतभच भिखभ ितबदभिको सतह निकै तल झरिसकेको हुनाले भूमिगत पानी तानेर खेतमा उचित सिंचाइ गरेर धानको रोपाइ गर्ने काम अत्यन्त दुष्कर देखिएकोछ । पुष्य नक्षत्र बित्न लागेकोले किसानहरुले पुनः व्याडमा बिउ राख्न पनि सक्दैनन् ।
यस्तो अवस्थामा प्रत्येक किसानको हात पुर्पुरोमा छ–वर्षभरिको छाक के ले टार्ने ? यस्तो विषम स्थितिमा तराइ प्रदेशमा वल्ल (साउन ४गते राती) हल्का पानी परेको हेरेर किसानहरुको मुखबाट अनायास निस्केको छ–का बरखा, जब कृषि सुखाने..!? अर्थात् गरेको कृषि काम सुकिसकेको अवस्थामा पानी परेर पनि के हुने ? रोगी मरिसकेपछि आएका वैद्यले के गर्ने ? भन्ने उक्ति जस्तै भएको छ ।