विभिन्न भाषाविद्, साहित्यकार, संस्कृतिविद् उमाशंकर द्धिवेदीले साहित्यक यात्रा २०३० सालबाट सुरु गरेका हुन् । नेपाली विषयमा एम.ए.सम्मको शिक्षा हासिल गरेका उनी नेपाली भाषा साहित्यबाट लेखन कार्य सुरु गर्दै भोजपुरी भाषा साहित्यमा पनि राम्रो दख्खल राख्छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा समेत काम गरेको अनुभव संहालेका उनको पहिलो कृति माइला दाई कथा नेपाली भाषामा प्रकाशित छ ।
खुद्रा लेख रचना भने उनका दर्जनौं छन् । समाजमा भएका पर्व, विकास, विकृति र सकारात्मक कार्यको चर्चा र चासोमा केन्द्रित रही उनका लेख रचना हरेक हप्ता बजारमा आइरहेका हुन्छन् । वीरगन्ज महानगरले गठन गरेको भोजपुरी प्रतिष्ठानको अध्यक्ष समेत रहेका उनै साहित्यकार उमाशंकर द्विवेदीसँग गरिएको कुराकानी :
१) भोजपुरी प्रतिष्ठान गठन किन गर्नु परेको हो ?
भोजपुरी भाषा साहित्य, संस्कृतिको विकास, संरक्षण र सम्बद्र्धन गर्नका लागि भोजपुरी प्रतिष्ठानको गठन गर्नु परेको हो । नेपाली, हिन्दी, मैथली, भोजपुरी भाषा सबै संस्कृत भाषाबाट आएका हुन् । यी भाषाहरुका शब्दहरु एक अर्कामा केही न केही रुपमा समान अर्थ दिएको पाइन्छ ।
नेपाली भाषा साहित्य तर्फ धेरै नै अगाडी बढेको छ । भोजपुरी भाषा साहित्य लेखन गर्ने साहित्यकार प्रशस्त नहुदाँ भोजपुरी भाषा साहित्य ओझेलमा परेको छ । म नेपाली विषयमा अध्ययन् गरेका हुदाँ नेपाली साहित्यमा कथा विधाबाट साहित्यमा लेखन कार्यको सुरुवात गरेको थिए । साहित्यकार भवानी भिक्षुको प्रेरणाबाट आफ्नो भोजपुरी मातृभाषामा वि.स.२०३० सालमा समाद पत्रिकामा “महत्तिन काकी” नामक कथा भोजपुरी भाषामा पहिलो पटक प्रकाशित गरे । यसरी भोजपुरी भाषा साहित्यको विकासका लागि कलम चलाउदै आइरहेको छु ।
२) वीरगंजमा स्थापित भोजपुरी प्रतिष्ठानले मधेश प्रदेशलाई समेट्न सक्छ त ?
देशमा संघियता लागु भएपछि संविधानमा १२६ वटा भाषालाई राष्ट्रभाषा भनी उल्लेख गरिएको छ । तत् पश्चात सबै मातृभाषीहरुले आ–आफ्नो भाषा संस्कृतिको संरक्षण र सम्बद्र्धनका लागि चासो लिएका छन् । प्रायः सबै भाषाको समुदायले संगठन बनाएका छन् । नेपालमा सबैभन्दा बढी भोजपुरी मातृभाषा भएका समुदाय तराईका जिल्लाहरुमा बसोबास गर्छन् ।
२०६८ को जनगणना अनुसार पर्सा, बारा, रौतहट, चितवन, नवलपरासी जिल्लामा भोजपुरी मातृभाषा भएका मानिसहरुको बसोबास छ । पर्सा जिल्लामा अधिकाँश मानिस भोजपुरी मातृभाषा भएका बसोबास गरेका छन् । भोजपुरी भाषा संस्कृति, रितीरीवाजको जगेर्ना गर्नका लागि बहुसंख्या भएको स्थानमा नै प्रतिष्ठानको स्थापना गर्न उपयुक्त भएर स्थानीय सरकारको सहकार्य र महानगरको आर्थिक सहयोगमा वीरगंजमा भोजपुरी प्रतिष्ठानको वैधानिक रुपमा स्थापना गरिएको हो ।
३) बर्तमान समयमा भोजपुरी भाषा साहित्यको अवस्था कस्तो छ ?
नेपालमा भोजपुरी भाषा साहित्यको अवस्था अति नै नाजुक छ । भोजपुरी साहित्यमा हालसम्म ५वटा कथा संग्रह र ५वटा उपन्यास मात्र प्रकाशित भएका छन् । भोजपुरी भाषामा कथा, उपन्यास लेख्ने लेखक छैनन् । लेखेका कृतिहरु प्रकाशित गर्ने प्रकाशक छैनन् । प्रकाशित कृतिहरु पढ्ने पाठकहरु न्युन छन् । भोजपुरी भाषा साहित्यकार, प्रकाशक, पाठकहरु संख्या न्युन भएर भोजपुरी भाषा साहित्य र संस्कृतिको क्षेत्रमा पछाडी परेको हो । भोजपुरी भाषाका केही संख्यामा कविताहरु प्रकाशित भए पनि पूर्णरुपमा भोजपुरी भाषा साहित्यको विकास नभएको देखिन्छ । भोजपुरी भाषा साहित्यको संरक्षणका लागि भोजपुरी प्रतिष्ठानको स्थापना भएको छ । भोजपुरी साहित्यलाई अब्बल बनाउन सबै भोजपुरी मातृभाषीहरुको मेहनत र सहकार्यको खाँचो छ ।
४) भोजपुरी भाषा साहित्य सम्बद्र्धनका लागि प्रतिष्ठानले क–कसबाट सहयोग पाएको छ ?
प्रदेश सरकार वीरगन्ज महानगरपालिकाको सहकार्यमा भोजपुरी प्रतिष्ठानका वैधानिक तवरमा स्थापना भएको छ । भोजपुरी भाषा साहित्यको संम्बद्र्धनका लागि महानगरपालिकासँग भवन निर्माण गर्ने सहमति भएको छ । भोजपुरी साहित्य, संस्कृतिलाई खोज, अनुसन्धान, प्रकाशन तथा अन्य विविध कार्यक्रमका संचालन गर्नका लागि महानगरबाट नगद रु.२५ लाख र्आिर्थक सहयोग पाएको छ ।
हालको स्थानीय निर्वाचनमा निर्वाचित मेयरबाट पनि भोजपुरी भाषाको सम्मान गर्दै भोजपुरी भाषामा सपथ ग्रहण गरेका छन् । वर्तमान समयमा पनि महानगर र मेयरबाट भोजपुरी भाषा साहित्य र संस्कृति संरक्षण र संम्बद्र्धनका लागि प्रतिष्ठानले निरन्तर सहयोग पाउने अपेक्षा राखेका छ ।
५) भोजपुरी भाषा साहित्यको संरक्षणका लागि प्रतिष्ठानले के–के कार्य गरेको छ ?
भोजपुरी मातृभाषा भएका मानिस कृषी कार्य गर्ने किसानदेखि विद्धान, राजनीतिज्ञ, विज्ञहरुसम्म छन् । कृषी कार्य गर्दा किसानहरुले गाउने भोजपुरी लोकगित, प्रतिनिधी भोजपुरी कथा, प्रतिनिधी भोजपुरी कविता, धार्मिक भजन तथा गितहरु, पर्वहरुमा गाउने धर्ममास गितहरु, जन्मदेखि विवाहसम्म गाउन संस्कार गितहरु खोजी गर्ने र प्रकाशन गर्ने काम प्रतिष्ठानले गर्ने भएको छ ।