यातायात व्यवस्था कार्यालय वीरगन्जका कर्मचारीले अवैध रकम पाएपछि नियमतः नहुने काम पनि सहजै गर्ने गरेको खुलासा भएको छ । सेवाग्राही जाँदा कतिपय काम हुन सक्दैन भन्दै फर्काउने कर्मचारीले अवैध रकमको चलखेलमा दलाल मार्फत वैध अवैध सबै काम गर्ने गरेको खुलासा भएको हो ।
झट्ट सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर यातायात व्यवस्था कार्यालय वीरगन्जले सवारीको नामसारी पास गरिदिंदा दलालको भरमा सवारी धनी नभए पनि गरिदिने गरेको छ । सेवाग्राहीले सामान्य भनेको काम पनि नसुन्ने कर्मचारीले विचौलिया (दलाल) मार्फत भने एकलौटी रुपमा पनि सवारीको नामसारी पास नै गरिदिने गरेको भेटिएकोे हो । वीरगंजको पावरहाउस चोक पूर्वतर्फ रहेको यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजले सवारी धनी उपस्थित नभए पनि घुसका भरमा ना २५ प २७०६ नम्बरको पल्सर मोटरसाईकल नामसारी पास गरिदिएको छ ।
त्रिवेणी विकास बैक हाल मर्ज भई ग्लोबल आईएमई बैकबाट ऋण लिएका नारायणघाट चितवनका ऋषिकेष रेग्मीले बाराको कोल्भी नगरपालिका वडा नं. ५ निवासी दिपक मिश्रालाई सो मोटरसाइकल बेचिदिएका थिए । नामसारी नभए पनि आर्थिक समस्याका कारण उनले सो मोटरसाइकल बेचिदिएको खुलेको छ । तथापि कागजी रुपमा नामसारी भने हुन बाँकी हुँदा त्यसको प्रकृयागत कार्य सम्पादनका क्रममा यस्तो भेटिएको हो ।
मिश्राले खरिद गरेको उक्त मोटरसाइकल ग्लोबल आईएमई बैककै नाममा रहेको र ऋण चुक्ता गरी ऋषिकेष रेग्मीले नामसारी गरेर मोटरसाइकल खरिद गरेका दिपक मिश्रालाई पास गरिदिनु पर्ने प्रकृयागत कार्य थियो । यसकै लागि यातायात व्यवस्था कार्यालयको गेट बाहिरका व्यक्ति (तर भित्रका हर्ताकर्ता) महेश महतो मार्फत काम फत्ते भएको छ । उनले सेटिङ्गमा लोमश दाहाल र विनोद कापरलाई मिलाई काम गरिदिएको बुझिएको छ ।
आफै गएर भन्दा कर्मचारीले नसुनेको काम विचौलिया (दलाल) मार्फत जाँदा सहजै भएको पीडितले बताए । ‘हाकिम साहवलाई भन्दा पनि भएन’ ‘फाँटका कर्मचारीलाई भन्दा पनि भएन’ । तर विचौलियालाई नजाराना बुझाए पनि सो मोटरसाइकलको चार बर्षको विभिन्न दस्तुर सहित २९ हजार ३ सय रुपैयाँ दिएपछि काम भयो ती सेवाग्राही मिश्राले बताए । कागजीरुपमा मात्र हक भोग हस्तान्तरण गर्नु पर्ने काम पहिलेका सवारी धनी ऋषिकेष रेग्मी उपस्थित नभएपछि खरिद गरेका दिपक मिश्राले नामसारी गराइ दिन भन्दा कार्यालय प्रमुख कुशेश्वर साहले मिल्दैन भनेका थिए ।
हाकिम साहेबलाई डाइरेक्टभन्दा काम हुँदैन । हाम्रो सेटिङ्गमा कर्मचारीसँग गराउँछौं भन्दै विचौलिया महेश महतो भन्ने व्यक्तिले भेटेर केही रकम डिमाण्ड गरे । यस्तो कुराको पछाडी नपरी मिश्रा आफैले पुनः नामसारी फाँटका कर्मचारीहरुलाई अनुरोध गर्दा पनि काम भएन । अन्ततः गलत बाटोबाट काम चाही भयो उनले तर्क गरे । पहुँचवालाका लागि राजश्वको विल विना नै ब्लुबुक नविकरण हुने घट्ना सुन्दै आएको यातायात व्यवस्था कार्यालयमा विना सवारी धनी सवारी पनि पास हुने कुराले थप शसंकित पारेको त्यहाँ सेवा लिन पुगेका केही सोवग्राहीले तर्क गरे ।
सो कार्यालयमा भित्र नै विचौलियाहरु कृष्ण पटेल, सुरेन्द्र प्रजापति, महेश महतो गरी तीन÷तीन झुण्डले मिश्रालाई आफ्नो रेट अनुसार नै डिमाण्ड गरेको खुलेको छ ।
सेवाग्राहीले पनि तीन झुण्डमध्ये कम लागत लाग्ने विचौलियाबाट काम गराएको बताए । कृष्ण पटेलले ५ हजार, सुरेन्द्र प्रजापतिले ४५ सय र महेश महतोले ३ हजार आफ्नो लागि डिमाण्ड गरे अनुसार मिश्राले चाही महतोलाई छानेको खुलेको हो ।
नेपाल सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन सहितको २०५४ ले कुनै व्यक्तिको नाममा दर्ता भएको सवारी अन्य कुनै व्यक्तिको नाममा नामसारी गराउन चाहेमा सम्बन्धित सवारी धनीले त्यस्तो सवारी दर्ता भएको कार्यालयमा ऐनको दफा ३७ को उपदफा (१) मा उल्लेख गरिएको छ । सो बमोजिकमको कागजात तथा अनुसूची ३ बमोजिमको दस्तुर सहित स्वयम् दरखास्त दिनुपर्ने व्यवस्था नियममा उल्लेख छ ।
यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कुशेश्वर साह पनि सवारी धनीको उपस्थिती विना सवारी नामसारी हुन नसक्ने चाही बताउँ छन् । तर उनैको कार्यालयका कर्मचारी र दलालको सेटिङ्गमा काम भने सहजै हुने गरेको पाइएको हो ।