भन्सार भन्ने साथ संसार पनि भन्ने चलन छ । यहि सानो संसारलाई व्यवस्थित गर्न हरेक आयात निर्यात कार्य गर्ने मुलुकले भन्सार ऐन र नियम बनाएको हुन्छ । नेपालले पनि मालबस्तु आयात निर्यातकर्तालाई सहजता प्रदान गर्न विभिन्न नियमहरु बनाएको छ ।
जसमा आयात निर्यात गर्ने व्यवसायीले आफ्नो व्यवसायलाई फष्टाउने कार्य निश्फिक्री गरिरहेका हुन्छन् । व्यवसाय अगाडी बढाउन उनीहरुले भन्सारमा प्रयोग गर्ने प्रज्ञापन पत्रसँगै आयातित मालबस्तु छुटाउन बनाइएको पछिल्लो अवधारणा हो ुरेड, यल्लो, ग्रीन र व्लूु गरी चारवटा च्यानल प्रयोगको प्रावधान ।
यहि च्यानल भित्र रहेर आयात निर्यात गर्ने व्यवसायीले स्वेच्छाले आफ्नो कामको वर्गिकरण गर्न पाउँछन् । त्यो भनेको उनीहरुको इमान्दारीताको कसीको पनि मापदण्ड हो । यी चार च्यानल मध्ये आयात निर्यात कर्ताले स्वेच्छाले प्रयोग गर्न पाउने नियमलाई भन्सार ऐनले नै छुट दिएको छ । यो विधि र नियमलाई व्यवसायीहरुले नियमसंगत ढंगले ईमान्दारीताका साथ पालना गर्नुको विकल्प छैन । यो कार्य सम्पादन गर्ने शैली छिटो छरितो र निकै प्रभावकारी तथा अन्तराष्ट्रिय अभ्यासको पनि निरन्तरता हो ।
जनताको सेवा गर्ने कसम खाएका भनिएका नेपाली नेता र सरकारी कर्मचारी मध्ये अधिकाँशले अकुत सम्पतिको लागि अवैध बाटो प्रयोग गरी भ्रष्टाचार गरेको जगजाहेर छ । यस्तो मुलुकका आयात निर्यातकर्ता व्यापारी व्यवसायी चाही सबै इमान्दार हुन्छन् भनियो भने त्यो पनि मित्थ्या हुन जान्छ । नीति, थीति र वेथितिले थिलथिलो बनाएको देशका व्यवसायी झन पैसा कमाउनकै लागि व्यवसायमा लागेका हुन् ।
त्यसैले उनीहरु नेता र कर्मचारीभन्दा अत्यन्त राम्रा छन् व्यवहारमा भन्न नसकिने केही उदाहरण पनि समय समयमा उजागर हेने गरेको छ । राज्यले त नीजि क्षेत्रसँगको सहकार्य अगाडी बढाउन भनी हातेमालो गर्न लागिरहेको समयमा व्यापारी व्यवसायी पनि केही इमान्दार चाही बनिदिनु पर्ने हुन्छ । तर स्वःघोषणा गरी आयातिम मालबस्तुमा कर्तुत मिसाउनु र दालको कन्टेनरमा चुरोडको धुँवा उडाउनु चाही राम्रो संकेत मान्न सकिन्न । तर नामैले विजनेश मेनु कहलाएका व्यक्तिको ईमानमा धमिरा लागेपछि यस्तो पनि पछिल्लो समयमा रहस्य उजागर भएको छ ।
मुलुकको पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट मालबस्तु आयात गर्ने काठमाण्डौको कालिका इन्टरप्राइजेजको मुङको दाल भनी युएईबाट मगाएको भनिएको दालको कन्टेनरमा करोडौको अवैध चुरोट फेला पर्नु यसैको उदाहरण हो । यो यल्लो च्यानलबाट आएको मालबस्तु हो । भन्सारको भाषामा यल्लो च्यानल भनेको भौतिक रुपमा मालबस्तु चेकजाँच गर्न नपर्ने केवल कागजपत्र मात्र हेरे पुग्ने भन्ने हो ।
मालबस्तु हेरिन्न भन्ने वित्तिकै दालको कन्टेनरमा चुरोट भित्र्याउन सकिन्न भन्ने व्यवसायीको बद्नियत प्रष्टिएको छ । त्यो चुरोटको मूल्य करोडौ पर्ने भएपछि संघीयताले बढाएको मुलुकको आर्थिक भार वहनमा चाहिने राजश्वमा पनि ठूलै ठगीको गन्ध आएको छ ।
कालिकाले दालमा कमाल देखाएको कर्तुत सुख्खा बन्दरगाहका कर्मचारीको चलाख्याई नभएको भए पत्ता लाग्ने थिएन । यस्तो च्यानल प्रयोग गरी नेपाली आयातकर्ताहरुले कति कमाल देखाइरहेका छन् ? त्यो त भन्न सकिन्न । तर भन्सार कार्यालयले कालिकाको एक्जिम कोड नै रद्द गरी दण्डित गर्ने आँट देखाउनुलाई सकारात्मक मान्न सकिन्छ ।
यसो भएमात्र अन्य स्वःघोषणाकर्ता व्यवसायीले कारोवार गर्दा खाने अन्नमा धुँवा फैलाउन आँट गर्दैनन् । नत्र त एउटा सामान देखाएर अर्को ल्याउनेहरुले वैध बाटोबाट अवैध कार्य गर्न कहाँ छोड्छन् र ?