पहिला विवाहित महिलाले आफ्नो श्रीमान्को आयु लामो हुने भएकोले साउन महिनामा हरियो पहिरन, चुरा पोते लगाउने गरिन्थ्यो । तर अहिले यसको महत्व थाहा नभए पनि लगाउने चलन बढेको छ । विवाहित महिलाहरुमा त यो परम्परा कायमै छ । तर अहिले स्कुले बालिकादेखि कलेजका किशोरीरुले पनि साउनमा हरियो पहिरन, चुरा, मेहेन्दी लगाउने टे«न बसेको छ । हुन त यो एउटा उमेर नै हो । विस्तारै उमेर ढल्केसंगै यसप्रति आकर्षण पनि घट्दै जान्छ ।
साउनको सोमबारको महत्व नै बढी छ । साउन महिना सुरु भए संगै वीरगंजमा हरियो चुरा र मेहेन्दीको व्यापार बढेको छ । साउने सोमबारको आफ्नै महत्व छ । यस महिनाको सोमबार हिन्दु धर्मका नारीहरुले शिवको पुजा आरधाना गरी व्रर्तबस्ने चलन छ । श्रीमान्लाई शिवको दर्जा दिईने भएकोले पनि साउने सोमबारको महत्व बढी भएको हो । त्यसका साथै चुरा पोते आफ्नो सौभाग्यको प्रतिक भएकोले पनि विवाहित महलिाहरुले साउनमा हरियो पहिरन प्रयोग गरेका हुन् । त्यस्तै अविवाहित महिलाहरुले सोमबारको व्रत बसे मनले चिताएको पुरा हुने विश्वास छ । त्यसैले अहिले विवाहित महिलामाभन्दा बढी युवातीहरुमा साउनको रौनक देखिएको हो । तर अहिले विश्वास र आस्थाभन्दा पनि देखासिकी गर्ने परम्परा मौलाएको हुँदा पनि युवा पुस्तामा यसको बढी प्रभाव पारेको हो । यो पक्कै पनि राम्रो होइन । यसलाई देखासिकीभन्दा पनि परम्पराको रुपमा विकास गर्दै लैजानु पर्छ ।
साउन आर्थिक वर्षको पहिलो महिना हो । यस वर्ष पुराना र अधुरा योजनाहरुको सुरुवात गर्ने पहिलो महिना । नयाँ बजेटको प्रयोग गर्ने पहिलो महिना भएकोले पनि साउन विशेष भएको होला र असारमा गरिएको खेति हरियो भएर पुरै प्रकृति नै हराभरा हुने भएकोले मन यसै यसै फुरुङ्ग हुन्छ ।
त्यसैले प्रकृति जस्तै भएर प्रकृतिमय बन्नका लागि पनि साउनमा हरियो पहिरन र चुरा मेहेन्दी लागाएको जस्तो लाग्छ । युवाहरुमा नयाँ जोस् हुन्छ । नयाँ जागर हुन्छ र नयाँ रहर हुन्छ त्यसैले पनि अहिलेको साउने पहिरन प्रति युवाको बढी आकर्षण भएको हो । यसलाई सकारात्मक मान्नु पर्छ ।
साउन उपवासको महिना, बोलबमको महिना, हरियो रंगको महिना हो । साउन सुरु भएसंगै फेसनको बजार पनि सुरु हुन्छ । खानपानमा होस् वा पहिरनमा साउनमा सबैको बेग्लै स्वाद हुन्छ । यो समयमा धेरैले माछा मासु, मदिराजन्य खानपान त्याग्छन् । सोमबारे व्रत बस्ने, मन्दिर जाने, पूजा आजा गर्ने हरियो पहेलो बस्त्र लगाउने महिना हो यो । तर पहिला जुन रुपमा साउन मनाइथ्यो त्यो अहिले तडकभडक र देखावटीमा परिवर्तन भएको छ । यसलाई रोकेर साउनको महत्वलाई जोगाउनु पर्छ ।
हरियो शान्तीको प्रतिक हो । साउनमा देखिएको हरियो मौषम प्रकृति संग मनको मेल हो । जसले मनमा प्रेम र खुशिको संचार गराउँछ । सबैले रङ्ग जस्तै आफ्नो जीवन पनि रंगिन होस् भन्ने चाहन्छन् । साउनमा त हरियो रंगको महत्व धेरै कुराले बेग्लै छ ।