गायिका अन्जु पन्तले पर्सामा १ सय जनालाई स्टेशनरी र २० जनालाई कम्बल सहयोग गरेकी छन् । अन्जु पन्त फाउन्डेसन मार्फत उनले दुई दिनमा १ सय २० जना विद्यार्थीहरुलाई स्टेशनरी र सामाग्री वितरण गरेकी हुन् ।
अन्जु पन्त सहितको टोलीले पर्साको महुवनमा पुगेर अपांगता भएका बालबालिकाहरुलाई २० थान कम्बल हस्तान्तरण गरेको हो । अपांग दिवसको अवसर पारेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महुवन बौद्धिक अपांगता भएका बालबालिकाको स्रोत कक्षा र देवनन्दन देवराज उच्च माध्यमिक विद्यालय रामनगरी सुस्त श्रवण तथा बहिरा स्रोत कक्षामा अध्ययनरत बालबालिकाका लागि कम्बल वितरण गरिएको थियो । सरकारी अनुदानमा कक्षा सञ्चालनमा रहेको भएपनि ९ महिनाका लागि मात्रै छात्रवृत्ति आउने गरेकोले कक्षा सञ्चालनका क्रममा विविध समस्या आउने गरेको शिक्षक नरेश यादव बताउँछन् । सोही अवसरमा ग्रिनसिटी सामुदायिक आदर्शनगर वीरगञ्जका अध्यक्ष प्रकाश खेतानले ८ थान ट्रयाकसुट प्रदान गरेका थिए ।
यसअघि गायिका पन्तले आईतबार वीरगञ्ज कारागार परिसर स्थित समता स्कुलमा अध्ययनरत १ सय जना विद्यार्थीका लागि स्कुल व्याग, कपि, कलम वितरण गरेकी थिईन् । भने मकवानपुरको खैराङमा रहेको चेपाङ बस्तीका १ सय जना बालबालिकालाई समेत सहयोग गरिसकेको अञ्जु पन्त फाउन्डेशनले जनाएको छ ।
साँगितिक क्षेत्रमा निकै चर्चा बटुलेकी उनी पछिल्लो समयमा गायन सँगै सामाजिक कार्यमा समेत सक्रिय छिन् । सानैदेखि सामाजिक सेवा रुची रहेको बताउने उनी आफूले विगत देखि नै सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको बताउँछिन् । ‘गीत गाएर, स्टेज सोबाट आएको रकमबाट मैले पहिलेदेखि नै सामाजिक क्षेत्रमा काम गर्दै आएको हो, शुभ चिन्तकहरुले यसलाई संस्थागत गरौं भन्ने कुरा भयो । ’ उनले भनिन् ‘सानैदेखि समाज सेवामा प्रेरित थिँए । अहिले अञ्जु पन्त फाउन्डेशन मार्फत त्यसलाई सार्थक बनाईरहेको छु ।’
बुधबार सर्लाहीमा मुसहर समुदायका ५५ जना बालबालिकालाई स्कुल व्याग सहित स्टेशनरी समान वितरण गर्ने, पर्साकै बेल्वामा दलित समुदायका बालबालिकाका लागि ७० वटा ब्ल्याङ्केट वितरण गर्ने तयारी भईरहेको उनले सुनाईन । विपन्न, दलित समुदायका मनिसहरुलाई सबैले सकेको सहयोग गर्नुपर्ने उनको भनाई छ ।