वीरगंज । नेपाल सरकारले मंसिर ४ गते प्रतिनिधी र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसंगै पर्सामा चुनावी सरगर्मी बढेको छ । दलहरु चुनावी रणनिती बनाउने कार्यमा जुटेका छन् भने दलका नेताहरु आ–आफ्नो क्षेत्र तय गर्दै चुनाव केन्द्रित जनतालाई रिझाउने र भोट बटुल्ने कार्यमा जुटेका छन् ।
गठबन्धन सरकारले दोस्रो चरणको चुनाव समेत गठबन्धन गरेरै लड्ने प्रतिबद्धता जनाईसकेपछि एकातर्फ पाँच दलीय गठबन्धनका उम्मेदवार हुनेछन् भने अर्काेतर्फ नेकपा एमाले एक्लै मौदानमा लड्नेछ । गठबन्धनतर्फबाट उम्मेवार छान्न जिल्लादेखी केन्द्रसम्म छलफल चलिरहँदा नेकपा एमाले पर्साले चार वटै प्रतिनिधी सभा निर्वाचन क्षेत्रको लागि लगभग उम्मेदवार तय गरिसकेको छ ।
नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नं. १ मा प्रतिनिधी सभा सदस्यको उम्मेदवारीको लागि दुई जनाको दाबेदारी रहेको छ । मध्य नेपालसंगको एक अन्तरवार्तामा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य राजकुमार गुप्ताले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधी सभा सदस्यको लागि पूर्व सांसद बिचारी यादव र केन्द्रिय सदस्य बसरुद्दिन अंसारीको दावेदारी रहेको बताएका छन् । दूई जनाको दावेदारी रहेपनि सहमतिमै टुङ्गिने उनले आश्वस्त पारे ।
यस्तै, पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्यको लागि नेकपा एमाले पर्साका जिल्ला इन्चार्ज प्रभु हजराले चुनाव लड्ने इच्छा जताएको नेता गुप्ताले बताए । यस क्षेत्रमा अरु कोही नदेखिदा हजरा नै लड्ने लगभग तय मानिएको छ । यदपी हालका सोही क्षेत्रका लोसपा सांसद बिमल श्रीवास्तव पनि चुनावको मुखमा एमाले प्रवेश गर्ने बजारमा हल्ला रहेकोले चुनवाको मुखमा पार्टी प्रवेश गरे श्रीवास्तव पनि उम्मेदवार बन्न सक्ने जानकारहरु बताउँछन् ।
यता जसपा छोडेर एमाले प्रवेश गरि स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकाको मेयर पदमा चुनाव लडेर पराजित भएका निबर्तमान मेयर विजय सरावगी पनि क्षेत्र नं. २ बाटै प्रतिनिधी सभाको निर्वाचन लड्न सक्ने चर्चा छ ।
यस्तै, क्षेत्र नं. ३ मा म आफै उम्मेदवार रहेको राजकुमार गुप्ताले स्वीकारे । अरु साथीले पनि उम्मेदवारी दिन सक्ने भने पनि यस क्षेत्रमा गुप्ता नै लड्ने पक्का रहेको बताइन्छ ।
यस्तै, पर्साको क्षेत्र नं. ४ बाट पनि दुई जना प्रतिनिधी सभा सदस्यको उम्मेदवार रहेका छन् । यस क्षेत्रबाट नेकपा एमाले पर्साका जिल्ला अध्यक्ष एवम् संविधान सभा सदस्य जयप्रकाश थारु र अर्का एमाले नेता जालिम मियाँको दावेदारी रहेको केन्द्रिय सदस्य गुप्ताले बताए ।
स्थानीय निर्वाचनको मुखमा नेकपा माओवादी परित्याग गरि नेकपा एमाले प्रवेश गरेका जगरनाथपुर गाउँपालिका निवर्तमान अध्यक्ष जालिम मियाँ नै प्रतिनिधी सभा सदस्यको चुनाव लड्ने र जयप्रकाश थारु भने प्रदेश सभा सदस्यमा लड्ने बताइन्छ । तद्यपी एमाले पर्सामा खासै विवाद नरहेको दाबी गर्दै नेता गुप्ताले पनि दुई जनामध्ये एकजनालाई प्रदेश सभाको उम्मेदवार बनाईने बताए ।
स्थानीय निर्वाचनमा पर्सामा एमाले पहिलो शक्ति बनेको बताउँदे गुप्ताले गठबन्धन होईन स्वार्थको लागि ठगबन्धन बनेको आरोप लगाए । सत्ता स्वार्थ र देशमै बलियो बनेको एमालेसंग डराएर मात्रै गठबन्धन बनेको उनको आरोप छ ।
स्थानीय निर्वाचनमा वीरगंज महानगरमा लोसपासंग चुनावी गठबन्धन गरेका एमाले यसपालि भने एक्लै लड्ने बताए । गुप्ताले भने, ‘‘लोसपा पर्सामा त्यस्तो कुनै नेता कार्यकर्ता छैनन् जो गठबन्धन गर्छ, त्यो गर्नुभन्दा राम्रो हामी एक्लै चुनाव लड्ने ।’’