काठमाडौं। कांग्रेस नेता प्रदीप गिरीको अन्येष्टि आजै गरिने भएको छ। अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको थियो।
विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते अस्पताल भर्ना गरिएको थियो।
अहिले उनको शवलाई मेडिसिटी अस्पतालको शिवालयबाट ल्याएर पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। त्यहाँ २ बजेसम्म गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका राखिनेछ।
उनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, सभामुख, मन्त्रीदेखि विभिन्न पार्टीका नेताहरू तथा कार्यकर्ता र शुभचिन्तकहरुको भीड लागेको छ। सानेपाबाट अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिनेछ।
को हुन् गिरी ?
पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदिप गिरीको जन्म विसं २००४ मा सिरहाको बस्तीपुरमा भएको हो। समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक थिए।
नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय भएका थिए। हाल प्रतिनिधिसभा सदस्य रहेका उनी २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित भएका थिए।
उनी विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए।
यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए। नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित भएका थिए।