काठमाडौं । विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा नेता प्रदीप गिरिको गृहजिल्ला सिरहा पुग्नुभएका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले गिरिको चुनावी सभामा भनेका थिए, तपाईंहरू प्रदीप गिरिलाई जिताएर पठाउनुस्, म शक्तिशाली मन्त्री बनाउँछु, पछि प्रधानमन्त्री नै बनाउँछु ।’ सोही मञ्चमा बस्नुभएका गिरि प्रधानमन्त्रीको यो घोषणापछि हाँसे भने उनका क्षेत्रका समर्थकले गड्गडाहट ताली बजाए। संयोग यस्तो भयो कि पछि उहाँले चुनाव हारे।
आफ्ना स्पष्ट र प्रखर विचारसहित प्रायः सञ्चारमाध्यममा आइरहने नेता गिरिलाई पछि एक अन्तर्वार्ताका क्रममा प्रश्न सोधियो, ‘तपाइँले चुनाव जितेको भए त यतिखेर मन्त्री हुनुहुन्थ्यो होला हगि रु’उनको प्रतिक्रिया थियो, ‘हो, हुन्थेँ होला। तर मलाई मन्त्री बन्नबाट भगवानले बचाएका छन्, त्यसैले म खुसी छु। किनभने मैले चुनाव जितेको भए किसुनजीको आग्रह टार्न सक्दिनथेँ होला, त्यसैले भगवानले चुनाव हराएर मन्त्री हुनबाट बचाए ।’
प्रदीप गिरि नेपालको समकालीन राजनीतिमा सादगी, चिन्तनशील र अध्ययनशील व्यक्तित्वका रुपमा स्थापित नाम हो। त्यसैले त चार÷चार पटकसम्म सांसद बनेका गिरिमा मन्त्री बन्ने चाह कहिल्यै जागेन। उनीले सार्वजनिक रुपमै भन्ने गर्थे, ‘मन्त्री हुँदा स्वतन्त्रता गुम्छ, मैले मनमौजी गर्न मिल्दैन, मेरो आफ्नो स्वतन्त्रता र आफ्नोपनको जीवन गुम्न पनि सक्छ । मन्त्री भएपछि मेरा सबै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्ने हुन्छ, म फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न नपाउने स्थितिमा पनि पुग्न सक्छु, मप्रति जनताका आशा अपेक्षा बढी होलान्, त्यसैले मलाई व्यक्तिगत जीवनमा हस्तक्षेप मान्य छैन।
हाम्रो देशमा यतिखेरको राजनीति त्यस्तो छैन। मन्त्री बन्नुपर्ला भनेर भाग्न खोज्ने नेता सायदै कुनै पार्टीमा भेटिएलान्। अनि उनीजस्तो सांसद पदको पारिश्रमिक आएको दिन पुस्तक पसलमा गएर पुस्तक किन्न रुचाउने अध्ययन र चिन्तनमा समय व्यतित गर्ने नेता पनि विरलै छन्। त्यसैले उनले एक प्रखर चिन्तक मात्र होइन कि समाजवादी विचारका अगुवाको पहिचान निर्माण गर्न सफल भए।
गिरिको जीवनशैली खुल्ला र उच्च विचारका धनीहरूका लागि पनि सरल र सादा जिउन सकिने अनुकरणीय उदाहरण हो। उनको पहिरनको पहिचान धेरै पछिसम्म पनि खद्दरको कुर्था र सुरुवाल थियो। स्वतन्त्रता र समानताका पक्षपाती उहाँको जन्मघर बाहेक अन्यत्र गाडी, घोडा या घरबङ्गला जोड्ने कुनै रहर रहेन। यहाँसम्म कि उनले कहाँ खाने, कहाँ सुत्नरे भन्ने पनि कहिले त ठेगान नै हुँदैनथ्यो। आफ्नो पुख्र्यौली सम्पत्ति पनि उनले एक आश्रमका रुपमा दिइसकेका छन्।
समाजशास्त्रको अध्ययन गरेका गिरिले सिद्धान्तमा भने माक्र्सवादी हौँ भन्नेहरूले भन्दा अब्बल मार्क्सवाद आत्मसात् गरे।
लाग्छ, मार्क्सवादी चिन्तकहरूले पनि उनको विचार, व्यवहार र चिन्तनबाट धेरै सिक्न सक्छन्। उनी चाहे बनारसमा विपी कोइरालाको साथ र संगत सँगै तरुण पत्रिकाको सम्पादकका रुपमा होस् या उनलाई क्यान्सरले गालिरहँदा नै किन नहोस्, बाल्यकालदेखि वृद्धसम्म नै प्राज्ञिक चिन्तनमा रमाए।
त्यसैले उनी प्राज्ञिक देखि श्रमिकसम्म सबै क्षेत्र र वर्गका जनताका मन मस्तिष्कमा बस्न सके।
मन्त्री या पदमा पुगेका र पदमा पुगेर ठूलो धनराशि आर्जन गरेकालाई मात्र राजनीतिक सफलता नमान्ने हो भने गिरि नेपालका एक सफल राजनीतिज्ञको नाम हो। किनभने उनको राजनीतिक चिन्तन र व्यवहार सबै क्षेत्र र वर्गका नेपाली सामु लोकप्रिय छ र यसको आयतन कुनै निश्चित विचारधाराको घेराभन्दा निकै फराकिलो छ।
त्यसैले त उनको स्वास्थ्यलाभको कामनादेखि आज उनको निधनसम्म आइपुग्दा सामाजिक सञ्जाल होस कि समाजका विभिन्न पेशा, व्यवसाय या विचारधाराभन्दा बाहिर निस्किएर सारा नेपालीले उनीप्रति श्रद्धा व्यक्त गरिरहेका छन्।
देशमा अहिले अन्य राजनीतिक दर्शन अवलम्बन गर्नेहरूको पनि उनीप्रति उत्तिकै सम्मान देखिन्छ। त्यसैले गिरि नाम यतिखेर नेपाली राजनीतिको एक विशेष र विशिष्ट स्वरूपको मानकका रुपमा स्थापित हुन पुगेको छ।
सधैँ युवा र यही वर्गप्रति भरोसा राख्ने उनको विचारलाई अहिलेको हर दलको युवा पिँढीले पछ्याउन सक्यो भने यही हतियारले हिजोआजको जस्तो राजनीतिलाई गिरिको वैचारिक उचाइसम्म पुर्याउन सक्छ। उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरे।
बनारसमा छात्र संघमा चुनाव लड्दादेखि नै बीपीको संगत पाएका उनले वीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तमा अडिग रही राजनीतिक संघर्ष जारी राख्ने क्रममा पटक पटक गरेर करिब चार वर्ष जेल जीवन बिताए।
विसं २०४२ पछि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको नजिक भएर काम गरेका उनी कांग्रेसमा समावेशीकरणका पक्षधर थिए। उनले नै कांग्रेस पार्टीले ‘जमदम’ को नीति लिनुपर्ने भनी प्रस्तुत गरेका थिए। उनी कार्यक्रमलाई ज– जनजाति, म– महिला, द– दलित र म– मधेसी भनी अथ्र्याउथे।
पिछडिएको क्षेत्र कर्णाली र पिछडा वर्ग, अल्पसंख्यकहरूलाई राज्यको मूलप्रवाहमा ल्याउन सक्यो भने मात्र लोकतान्त्रिक गणतन्त्र बलियो हुने तर्क उनी बारम्बार गर्थे।
यही निष्ठा र आस्थाको धरोहरका रुपमा रहेका नेता गिरिको क्यान्सर रोगबाट गएराति निधन भएको छ। उनको निधनले नेपालको राजनीतिमात्र होइन राजनीतिमा निष्ठा र इमान्दारिताको खाँचो महसुस गराएको छ। राजनीतिमा पदमात्र ठूलो होइन, नैतिकता र निष्ठा ठूलो हो भन्ने यथार्थ उनको निधनप्रति देशले व्यक्त गरेको यो भावनाले पनि अभिव्यक्त गर्दछ।
उनको यो निष्ठालाई जोगाइराख्नु अहिलेका राजनीतिकर्मीको दायित्व पनि हो। गिरि नेपालका राजनीतिक नेता भन्दा बढी चिन्तक एवं दार्शनिक थिए। भनिन्छ, दार्शनिक एवं चिन्तकको भौतिक शरीर मात्र नष्ट हुन्छ तर उनीहरू मर्दैनन्। उनीहरूका चिन्तन, दर्शन एवं सिद्धान्त युग युगसम्म जीवन्त रहन्छन्। त्यसैले त मार्क्सवाद अहिले कम्युनिष्टभन्दा बाहिरको घेरामा फैलिँदो छ।
विपी कोइरालाका राष्ट्रियता, प्रजातन्त्र र समाजवाद अहिलेको नेपाली राजनीतिमा सबै विचारधाराको साझा विचार बनिरहेको छ। त्यसैले सर्जकहरू मर्दैनन् बरु चोला फेर्दछन् भनिएको हो।
गिरिको भौतिक शरीरले यो भौतिक दुनियाँबाट विदा लिए पनि उनको विचारले थप युग सुहाउँदो विजारोपण गर्दै जानेछ। उनी आफ्ना विचार र निष्ठासहित नेपाली माटोमा सदा जिवितै रहनेछन्। रासस
हार्दिक श्रद्धाञ्जली प्रदीप गिरी ।