सात सालको एउटा बच्चाले कति कमाउन सक्ला? तपाईं अचम्म मान्दै भन्नुहोला, यति कम उमेरको बच्चाले काम गर्छ र! तर, अमेरिकाका ७ वर्षीय रेयानको कुरा अर्कै छ । उनी हरेक साता युट्युबमा खेलौनाको समीक्षा गर्छन् र यसवापत उनका बुवा-आमाले भन्दा राम्रो आम्दानी गरिरहेका छन् ।
रेयानले गत वर्ष ११ मिलियन डलर कमाएका थिए, जुन अहिले बढेर २२ मिलियन भइसकेको छ । नेपाली मुद्रामा यो राशि करीब रु.साढे २ अर्ब हुन आउँछ ।
युट्युबमा रेयानको टोइज रिभ्यू र फेमिली रिभ्यू नामका दुई वटा च्यानल छन् । टोइज रिभ्यूमा उनी आफूजस्तै बालबालिकाका लागि विभिन्न किसिमका खेलौनाहरूको रिभ्यू गर्छन् । अर्को च्यानलमा भने उनका जुम्ल्याहा बहिनीहरू एमा र केट तथा आमाबाबुका साथमा दिनचर्या, बिदा मनाएका कार्यक्रमलगायतका भ्लगहरू राखिएको छ ।
उनको भिडियो करोडौंले हेर्छन् । एउटा भिडियो ८० करोडभन्दा बढी पटक हेरिएको छ ।
सेलिब्रिटीको सूचीमा
फोर्ब्स म्यागेजिनका अनुसार रेयान १ जून २०१८ सम्म एक वर्षमा २२ मिलियन डलर कमाउँदै यस वर्ष सबैभन्दा बढी कमाउने युट्युब स्टार बने ।
उनको मुख्य च्यानल टोइज रिभ्यू मार्च २०१५ मा शुरु भएको हो, जसका भिडियोहरू २५ अर्बभन्दा बढी पटक हेरिएका छन् । च्यानलका सब्सक्राइबरहरू १ करोड ७३ लाख १४ हजार छन् ।
यस्तै, नोभेम्बर २०१६ मा शुरु भएको अर्को च्यानल रेयान फेमिली रिभ्यूका भिडियोहरू तीन अर्ब ५२ करोड ६३ लाख पटक हेरिएका छन् । यसका सब्सक्राइबर भने ३० लाख ३४ हजार छन् । युट्युबमा यति लोकप्रिय भए पनि उनी अमेरिकी हुन् भन्ने बाहेकको जानकारी संसारलाई छैन ।
खेलौनाहरूसँग खेल्दै प्रशस्त कमाइरहेका रेयानले हालै एनबीसी टीभी नेटवर्कसँगको कुराकानीमा भनेका छन्, "मैले मनोरञ्जन गराइरहेको छु र म रमाइलो छु ।" उनलाई खेलौनाहरूमा कार, ट्रेन, सुपरहिरो, डिज्नी टोयज आदि मन पर्छ ।
युट्युब च्यानलको सोच
गत वर्ष वाशिंटन पोस्टलाई दिएको अन्तर्वार्तामा रेयानकी आमाले छोरा ३ वर्षको छँदै उनको नाममा युट्युब च्यानल चलाउने सोच आएको बताएकी थिइन् । उनले भनेकी थिइन्, "रेयान सानैदेखि खेलौनाको रिभ्यू आउने टीभी च्यानलहरू धेरै हेर्थ्यो ।"
उनकी आमाका अनुसार एक दिन रेयानले सोधे, 'अरु बच्चाजस्तै म युट्युबमा किन छैन?' त्यसपछि युट्युब च्यानल चलाउने सोच आएको उनले बताइन् । "हामी खेलौनाको पसलमा गयौं, एउटा लिगो ट्रेन खरीद गर्यौं र त्यसैबाट शुरुवात भयो," उनले अन्तर्वार्तामा बताएकी थिइन् । एजेन्सी