बोलीचालीको भाषामा सबै मिलेर काम गर्नु सहकार्य हो भनि त्यसै लाई नै सहकारिताका आधारमा भएको सहकार्य हो भनेर बुझेको पाईन्छ । तर सबै मिलेर गरेको सबबै कार्यलाई सहकारिताका आधारमा भएको सहकार्य भन्न मिल्दैन ।
सहकारीताका आधारमा गठन हुने संस्था जोसुकै व्यक्ति मिलेर संचालन हुन सक्दैन । सहकारी हुनलाई सहकार्यमा सबैको उदेश्य एक हुनुपर्छ । तर एउटै उदेश्य भन्दैमा राजनैतिक कार्यकर्ताहरुले सस्था गठन गरेर सहकारी सस्थालाई राजनैतिक मंचको रुपमा उपयोग गर्ने, एउटा डाक्टरले प्रवेश गरेर आफ्नो क्लिनिकमा सबै सदस्यहरु बोलाएर आफ्नो आम्दामी बढाउने, ठगहरु मिली सस्था गठन गर्ने र छन्दम प्रवृतिका व्यक्तिहरु पसेर सदस्यको वचत लिएर कुलेलम ठोक्ने व्यक्तिहरुर समुहहरुको बीच एकै उदेश्य हुने भएपनि त्यस्तो सहकार्य सहकारी मूल्य विपरीत हुने भएकोले सहकारी हुनै सक्दैन ।
यसैगरी एउटा व्यापारी र एउटा किसान बीच पनि एउटै उदेश्य नहुन सक्छ । त्यसैले उदेश्य एकै हुनलाई पेशागत समानता , पुजीगत समानता, सोचाई र दृष्टिकोणमा समानता जस्ता पक्षहरु महत्वपुर्ण मानिन्छन । कस्तो सहकार्य सहकारीको मूल्य मान्यता,सिदान्त र मर्म अनुरुपको सहकारी हुन सक्छ भनी स्पस्ट हुन निम्न पक्षहरुको आध्ययन गर्नु जरुरी छ । उद्देश्य अनुसार चले नचलेको अनुगनम गर्न जरुरी छ तर खोई त अनुगमन ? खोई त कार्वाही ?
सहकारिता भनेको सीमित भएका वा पुजी भएर पनि एक्लै व्यवसाय गर्न क्षमता नभएका, केही पुजी पनि छ र अलि अलि व्यवसाय गर्न पनि सक्ने खुबी छ तर यी दुवै कुराहरु भएर पनि व्यवसाय गर्दा सबै घाटा लाग्यो भने परिवार भोकै पर्छन भन्ने कुराले एक्लै व्यवसाय गर्न आट गर्न नसक्ने व्यक्तिहरु मिलेर गर्ने कार्य हो। यस्तो सहकार्य गर्दा आफुसंग भएको केही पुजी सस्थामा जम्मा गरी त्यसबाट व्यवसाय गर्ने कुशलता, क्षमता र आट सिर्जना गरि सस्थाकै माध्यमवाट व्यवसायिक एवं अन्य कारोवार संचालन गरी सदस्य परिवारको आर्थिक, सामाजिक, सास्कृतिक विकास सम्भब हुन्छ । त्यसैले सहकारी नाफाका लागि व्यापारीले जस्तो केवल व्यापार,व्यवसाय गर्ने सस्था होइन, न त बैंक जस्तै गरी बैंकको मात्र कारोवार गर्ने सस्था हो। बरु यो समुदायमा आधारित रही सदस्यकै हितकालगि सदस्य माझ व्यवसाय गर्ने र सदस्यहरुलाई व्यवसायी, उधमशिल र क्षमतावान बनाउने कार्यमा निरन्तर सहयोग गर्ने सवल सस्थागत माध्यम हो ।
सहकारी खुल्ने र भाग्ने क्रमको कुनै सीमा छैन । जुनसुकै समयमा पनि निक्षेप कुम्ल्याएर भाग्ने प्रवृति बढ्दै गएको देखिन्छ । नीति–नियम बलियो, समयसापेक्ष, सम्बधित निकायमा दक्ष र पर्याप्त कर्मचारी नहुँदा यो क्षेत्र बेवारिसे बनेको अवस्था छ । अहिले चौरमा सुकाएको बिस्कुनजस्तै भएको छ सहकारी । जसले जति उठाएर लैजाँदा पनि हुने स्थिति बनेको छ । गल्ती गर्नेलाई कारबाही नहुनाले सहकारीले खुलेआम ठगी गरिरहेका छन् । २५ जना भिन्न परिवारका सदस्य भई सहकारी दर्ता गर्न पाउने कानुनी आधार छ, यसले गर्दा सहकारीको स्थापनामा बाढी आएको छ । सरल प्रक्रिया र्पुयाएपछि दर्ता हुने र सहकारी खोली रातारात धनी हुने बढिरहेका छन् ।
सहकारीलाई गरिखाने भाँडो बनाउनेको पनि कमी छैन । सहर केन्द्रित सहकारीमा देखिएको समस्याले गर्दा सर्वसाधारण सहाकरीदेखि त्रसित भएका छन् । यसले गर्दा समूहमा आधारित सहकारीलाई पनि जटिलता थपिएको छ । सहकारीको विश्वास गुम्ने खतरा बढेको छ । सम्बन्धित निकायले सहकारी दर्ता गर्छ तर कानुनअनुसार सञ्चालन भए र नभएको अनुगमन खासै गर्दैन । नियम कानुन नभएको पनि होइन, नियम कानुन एकातिर थन्काएर संस्था सञ्चालन भएको छ भने अर्कोतर्फ नियमनकारी निकाय चुपचाप बसिरहेको छ ।
कालो सूचीमा परेकाहरू नै सहकारीमा पसेर ठगीधन्दा मच्याउन थालेका छन् । सहकारीमा पैसा कहाँबाट आउँछ, लगानी कहाँ छ ? भन्नेबारे सहकारीको नियामक निकाय जानकार छैन । निजी लाभका लागि सञ्चालन भएका संस्थालाई पहिचान गरी कडा कारबाही गरिनुपर्छ ।