सात भन्ने साथ त्यसको महत्व कति ? भन्ने कुरा सात जोडिएको ‘शब्द’ को अर्थ केलाउँदा आफै प्रष्ट हुन्छ । यसलाई नै मनन् गर्ने हो भने सात शब्द महत्वपूर्ण छँदैछ । उदाहरणको लागि सात दिनको एक हप्ता, सात जन्मको सम्बन्ध, सात ईन्द्रेणी रङ्ग, सात समुद्र, सात फेरा, सात वचन, सत कर्म, लगायत सातसँग जोडिएका शब्दका थुपै्र उदाहरणहरु भेटिन्छ । मध्ये नेपाल सन्देश पत्रिका पनि यहि भदौ १२ गते ( आज ) आइतबारबाटै आफ्नो सातौं वर्षको पाईला टेक्दै गर्दा यसले अहिलेसम्म पार गरेका अनेकौ आरोह–अवरोहको कुरा जोडिन्छ नै । यस बीचमा पत्रिकाको आलोचना, चुनौति र सकारात्मक सुझाव टिप्पणी यसैका उपज हुन् । मानिसका अनेक सोच र व्यवहार अनि चिन्तनकै आधारमा यसको समिक्षा हुने वास्तविक कारक पनि हो । सात जोडिएर आएको शब्द झैं यो मध्य नेपाल सन्देशको यो सातांै बर्ष प्रवेशको नयाँ पाईलासँगै यसले पनि सञ्चार क्षेत्रमा एउटा ऐतिहासिक पाइलो टेकेको छ ।
महिला संचारकर्मीहरुको मात्र सक्रियतामा प्रकाशित मध्य नेपालकै पहिलो पत्रिका मध्य नेपाल सन्देश बिशेषतः समाजमा महिलाहरुको जीवनस्तर उकास्न, महिलाहरुलाई उत्प्रेरित गर्न, समाजमा महिलाहरुले भोगेका हरेक समस्यालाई पत्रिका मार्फत उजागर गर्न जन्मियो । जो आफू सक्षम भएर पनि ओझेलमा परेका, शिक्षित र हातमा शिप अनि साधन, सोच भएका तर विविध कारणले गुमनाम महिलाको सहारा बनेर अगाडी आयो । यो पत्रिकाको उद्देश्य अझै धरमराएको छैन । यसो भनिरहँदा यो पत्रिकाले केवल महिलाहरुको मात्र आवाज बोल्छ भन्ने चाही होइन । समाजमा घटेका हरेक कुरालाई, खोजी र चासोका साथ यस पत्रिकाले हरेक साता दुई दर्जन बढि मानिसलाई प्रत्यक्ष जोडेर विविध बिषयमा समेट्ने गरेको छ । सञ्चारको दूनियामा अरुभन्दा अलि फरक स्वाद पाठकलाई दिन सुरुवात गरेको कदमलाई यो पत्रिकाले बिर्सेको छैन । खोजी जवाफदेहिता स्तम्भ पहिलो पृष्ठमा नै राखी फरक–फरक बिषयबस्तु मार्फत खबरदारी गर्दै सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएकै छ । समाजमा भएका र समाज परिवर्तनको नविन बिषय सहित दईवटा लेख मार्फत संदेश प्रवाह गर्ने कुरा दायित्वबोध ठानेको छ । स्थानीयको प्रत्यक्ष सहभागितामा साताको बोलीलाई स्थान दिएको छ । आमसर्वसाधारण वा पाठकवर्गलाई लाभ पुग्ने महिला वा पुरुषको अन्तरवार्ता निरन्तर छ । बालबालिकाहरुको आवाजलाई पनि उद्वेलित गर्न हरेक अंकमा बालस्तम्भ छ । साताभरिका महत्वपूर्ण समाचार, सुन्दरताका टिप्स, साताको राशीफल, प्रदेश गतिविधि, सामाजिक संजालका चर्चित भनाइहरु साथै नेताको बोली लगाएत विविध पक्ष यो पत्रिकाको अरु आयाम हुन् ।
कर बचाऊ र छलीको उद्देश्य सहित महिलाको नामबाट संचालित थुपै संघ–सस्था भएर पनि महिला सकृयतामा नै चलेका संघ–संस्था भने खोजी गर्दा समाजमा अझै निकै कम छन् । अझ श्रीमान्, बुवा, दाजुभाइको आड विना पत्रकार महिलाकै नेतृत्वममा सञ्चार संस्था चल्नु अलि परको कुरा हो । यो मानेमा मध्ये नेपाल सन्देशकी सम्पादक कविता खड्काको नेतृत्वले यहाँसम्म फड्को मार्नु सामान्य कुरा होइन । अत्यन्तै सक्रियताका साथ उहाँ र उहाँको महिला टिममा यो स्तम्भकार, निलम पन्त, शोभा धमला, शबनम भट्टराई, कमला भण्डारी, लक्ष्मी खरेल, विनिता बुढाथोकी लगाएतका संचारकर्मी महिलाहरुको सकृयताले सातौं बर्ष प्रवेशसम्म पुगेको हो ।
समाज विकासको निमित्त दुई महत्वपुर्ण अंग हुन् महिला अनि पुरुष । यी दुबै अंगको समान विकास विना राष्ट्रको विकाश हुन सक्दैन भन्ने चर्चा चलाइन्छ । तर व्यवहारतः आंैलामा गन्ने मात्रै महिलाहरु अवसरमा पुगेको सत्य समाज सामु जिवित छ । महिलाहरुको नेतृत्व तथा क्षमतालाई लिएर नेपाल सहित विश्वभरी नै प्रश्न उठाइन्छ । अझ सबैभन्दा बढि प्रश्न त महिला पत्रकारिता माथि पनि उठ्ने गरेको छ । स्वभाविक रुपमा पृतिसतात्मक सोच अनि मान्यताको कारण हाम्रो समाजमा महिलाले खुलेर स्वतन्त्रता पूर्वक जीवनयापन गर्न सजिलो छैन । यो परिवेशमा पत्रकारिता जस्तो संवेदनशिल कार्यलाई फरक दृष्टिकोणबाट सोच्न र कार्य सम्पादन गर्न कम चानचुने कुरा होइन ।
मध्य नेपाल सन्देश यस्ता थुप्र चुनौतिहरुको सामना गर्दे पत्रकारीतालाई अवसरका रुपमा लिएर ईमान्दारिदापूर्वक काममा कटिवद्ध छ । त्यसैले मध्य नेपाल सन्देश खहरे झैं आउने र जाने आँकलन गर्नेहरुलाई पछि पार्दै भदौ १२ गतेबाट सातौं बर्ष प्रवेश गरेको हो । आममानिसको जीवन र सामाज तथा राष्ट्रिय चासो र सवाललाई निरन्तर उठाई मध्य नेपाल संदेशले आवाज बिहीनहरुको आवाज बनिरहँदा केवल रेडियो र टिभीमा बोल्नेहरु मात्र पत्रकार हुन् भनी बुझ्ने समाजलाई पनि सोच्न बाध्य बनाएको छ । संचार क्षेत्रमा काम गर्न आजका महिलाहरु पनि सक्षम छन् भन्ने सन्देश पनि यो पत्रिकाले दिएको छ ।