वीरगंज महानगरपालिकाले आफनो एक सयदिने कार्यकालको प्रगति सार्वजनिक गरेको छ । २०६९ साल जेठ १२ गते शपथ ग्रहण गरेदेखि महानगरको नेतृत्व सम्हालेका मेयर राजेशमान सिंहले जनताको सेवा सुविधा चुस्त दुरुस्त बनाउन गरेका पहलहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिकरण गरेका हुन् ।
एक सय दिनको कार्यकालमा २४ वटा मुख्य मुद्दामा विशेष काम गरिएको महानगर प्रमुख सिंहले दाबी गरेका छन् । कार्यकाल सम्हाल्ने वितिकै पुर्व मेयर विजय सरावगीले गरेको भ्रष्टाचारको पर्दाफास गर्ने उदेश्यले उच्चस्तरीय छानविनका लागी अख्तियार दुरुपयोग अनुसन्धानमा निवेदन दिने देखि उनको कार्यकालमा भएको निर्णय, ठेक्का पट्टा र करको दायरा समेत पुनरावलोकन गर्ने सहितको उत्कृष्ट कामहरु भएको मेयर सिंहले बताए ।
महानगरको नेतृत्व सम्हाल्दै गर्दा महानगरको सबै शाखाहरुमा रहेको बेथिती, कमि कमजोरीलाई औल्याउँदै छिटो छरितो सेवा प्रदान गर्ने प्रणालीको विकास गरेको बताएको छ । त्यसका लागी सबै शाखामा सिसि क्यामराबाट कर्मचारीको निगरानी, सेवाग्राहीलाई खानेपानीको व्यवस्था, आलोपालोगरी काम गर्न टोकनको व्यवस्था र महानगरभित्रका वडा कार्यालयहरुमा एक वडा एक सचिव र सहसचिवको व्यवस्थापन गराएको छ । यसैगरी काठमाडौँ महानगरका मेयर बालेन साह भन्दा अगाडी नै जथाभावि रुपमा अवैध रुपमा बनाइएका संरचनाहरु भत्काउने, नेपाल विधुत प्राधिकरणको सहयोगमा महानगरको १० हजार घरधुरीमा घरेलु मिटरमा ३० युनिट र कृषि मिटरको सम्पुर्ण खपत महानगरले व्यवहोर्ने गरी सेवाको काम अन्तिम चरणमा पुगेको बताएको छ ।
३२ वटा वडा रहेको महानगरपालिकामा धार्मिक स्थलको सौन्दर्यकरण, वृक्षारोपण, विद्यार्थीहरुका लागी छात्रवृति र नागरिकलाई घर घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले स्वस्थ्यकर्मी तथा प्रयोगशाला सहितको मेयर घरदैलो स्वास्थ्य कार्यक्रम सञ्चालनका लागी सुरुवात गरिने काम अन्तिम चरणमा पुगेको महानगरका मेयर सिंहले बताए ।
वीरगंज महानगरपालिकाले बसपार्क पुनः निर्माण, फोहर व्यवस्थापन, पोखरि सार्वजनिकरण, उज्यालो वीरगंज लगायतका अधुरा कार्यक्रमहरु अगाडी बढाउने जनाएको छ ।