जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, हिमपहिरो, सुक्खा लगायत प्राकृतिक विपद्को जोखिम बढिरहेको छ । फलस्वरूप कृषिमा समेत असर परिरहेको छ । जलवायु परिवर्तन हुने विभिन्न ग्यासमध्ये कतिपय कृषिबाट पनि उत्पादन हुन्छन् ।
पहिले परम्परागत रुपमा खेती गरिन्थ्यो । गाईवस्तुका मलमूत्र लगायत पातपतिंगर कुहाएर मलको रुपमा प्रयोग गरिन्थ्यो । त्यसले माटोलाई बिगार्दैनथ्यो । अहिले रासायनिक मलका कारण माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएको छ ।
जलवायु परिवर्तनले समस्या आउँदा पहिला त्यत्तिकै फल्ने गोलभेडाका लागि अहिले टनेल आवश्यक हुन्छ । पछिल्लो समय अमेरिकन फौजी कीरा सोलुखुम्बुमा समेत देखिएको पाइन्छ । हरेक वर्ष नयाँनयाँ कीरा र बालीमा रोग देखापर्ने गरेको छ । पछिल्लो समय हामीकहाँ रासायनिक मल, प्रांगारिक मल, कीटनाशक विषादी आदिको उत्पादन सम्बन्धमा बहस हुन थालेका छन् । यसमा पनि सरकार चनाखो हुन आवश्यक छ ।
जलवायु परिवर्तनका केही सकारात्मक असर पनि देख्न सकिन्छ । जस्तो ः हिमाली क्षेत्रमा समेत अहिले किसान गोलभेडा, खुर्सानीजस्ता बाली लगाउन थालेका छन् । जलवायुसँग लडेर हामीले कृषि गर्नुपर्ने अवस्थामा छ । त्यसैले जलवायुमैत्री कृषिको विचार आजभोलि लोकप्रिय बनेको छ । जल्दोबल्दो विषय जलवायुमैत्री कृषिबारे किसान जानकार हुनुपर्छ । खेतीपाती गर्दा किसानलाई मौसमको ज्ञान हुन आवश्यक छ ।
विश्वव्यापी रूपमा रहेको जलवायु परिवर्तनका कारण गर्मीयाममा लामो समयसम्म सुक्खा हुन थालेको छ भने हिउँदमा वायुमण्डल धेरै प्रदूषित भइरहेको छ । यस्तो मौसमसम्बन्धी जानकारी किसानले मौसम विभागबाट पाउन सक्छन् ।
माटोको उर्वरा शक्तिमा ह्रास नआउने किसिमले हामीले खेती गर्नुपर्छ । यसका लागि हामीले कृषि विज्ञसँग सल्लाह लिन सक्छौँ । जलवायुमैत्री कृषि तालिम पनि विभिन्न संघसंस्थाले किसानका लागि सञ्चालन गरिरहेका हुन्छन् । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले समुदायको दिगो जीविकोपार्जनका लागि समुदायको अगुवाइमा ‘जलवायु उत्थानशील भूमि–कृषि अभियान’ सञ्चालन गरिरहेको छ । त्यसबाट सिन्धुपाल्चोक र महोत्तरी जिल्लाका किसानले लाभ लिइरहेका छन् । त्यस्ता तालिममा किसान सहभागी हुँदा धेरै कुरा थाहा हुन्छ ।
हामीले बाली जीवनचक्र अनुसार खेती गर्नुपर्दछ । यस वर्ष भेन्टा रोपेको छ भने अर्को वर्ष सोही खेतमा अर्को बाली लगाउनुपर्छ । एउटा बालीमा एक प्रकारको कीरा लाग्छ भने अर्को बालीमा अर्कै प्रकारको । जस्तो ः फर्सीमा लाही लाग्छ, यसपटक फर्सीको ठाउँमा करेला लगाउने हो भने त्यहाँ लाही लाग्दैन । यसरी बाली पनि परिवर्तन गर्दै लगाउनुपर्छ । विषादी पनि सही समयमा प्रयोग गर्नुपर्दछ । बाली अनुसारको विषादी फरकफरक हुन्छ । माटो पनि परीक्षण गर्नुपर्छ ।
जलवायु परिवर्तनले गर्दा रैथाने बालीका जातले पहिले जति उत्पादन दिन सकेका छैनन् । त्यसैले रैथाने बीउ र प्रांगारिक मलको प्रयोग गरी अर्गानिक खेतीमा जोड आवश्यक छ । हामी आफैँले पनि बोटबिरुवाबाट जैविक विषादी बनाउन सक्छौँ । निमखरी पनि विषादीका रूपमा बनाउन सकिन्छ । निमको तेल तीतो हुन्छ, सो तेल खेतीपातीमा छर्दा खेतीपाती कीराले खाँदैन । रासायनिक मलको प्रयोग कम गर्नुपर्दछ । विषादीमा जैविक विषादी मात्र प्रयोग गर्न सके जलवायुमा सुधार हुन्छ र हामीले खाने खाना पनि स्वस्थकर हुन्छ ।
जलवायु परिवर्तन भयो भन्दैमा हाम्रोजस्तो कृषिप्रधान देशमा खेती गर्न छाड्ने भन्ने हुँदैन । जलवायु परिवर्तन सँगसँगै विभिन्न सुरक्षा अपनाएर खेती गर्न सकिन्छ । माटोको उर्वरा शक्तिमा ह्रास नहुने गरी गरिने जैविक खेतीलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्छ । यसलाई पालिकाहरूले महत्वपूर्ण जिम्मेवारीका रूपमा लिनुपर्छ । वास्तविक किसानको सूची बनाई उनीहरूलाई जलवायुुसम्बन्धी तालिम दिनु र जलवायुमैत्री खेतीका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराउनु पालिकाको कर्तव्य हुन आउँछ ।
प्लास्टिक घर वा टनेलभित्र खेती गर्दा मौसमलाई आफ्नो अनुकूल बनाउन सकिन्छ भने खेती जोगाउन पनि मद्दत पुग्छ । उदाहरणका लागि टनेलभित्र गोलभेडा खेती गर्दा पानी परेका बेला जोगाउन सकिन्छ । हरितगृहमा खेती गर्दा गर्मी रोक्न सकिन्छ । यस्तै, कालो जालीको पनि प्रयोग गर्न सकिन्छ, जुन विशेषतः च्याउ उत्पादनमा प्रयोग हुन्छ । त्यसमा अझ एसी राखिदियो भने हामी बाह्रैमास च्याउ खेती गर्न सक्छौँ । हामीले कृषिमा जति गर्नुपर्ने हो, त्यति गर्न सकेका छैनौँ । हाम्रो उर्वर भूमिलाई जलवायुमैत्री तरिकाले सही सदुपयोग गर्न आवश्यक छ ।
जलवायु परिवर्तन भविष्यमा झन् बढ्दैै जाने आकलन गरिएको छ । जलवायुले खाद्य उत्पादनको तरिकालाई पूरै बदलिदिनेछ । जसबाट विपन्न किसान मारमा रहेका छन् । यस अवस्थामा सबैभन्दा उत्तम र भरपर्दो अभ्यास भनेको जलवायुमैत्री कृषि प्रणाली नै हो । यसमा सरकार (विशेषतः स्थानीय सरकार) सचेत भई अगाडि बढ्न आवश्यक छ । जलवायुमैत्री कृषिका लागि सरकारले आवश्यक पहल थाल्न ढिलाइ गर्नु हुँदैन । – काठमाडौँ प्रेसबाट साभार गरिएको