डाकाजनी, कर्तव्य ज्यान, लागु औषध, अपहरण, शरीर बन्धक, चोरी र कुटपिट लगायतका मुद्दामा दोषी ठहर भइसकेका व्यक्तिले अब भागेर उम्किन नसक्ने भएका छन् । पहिले जस्तो कसैले अपराध गरी भागेर उम्किन सकिन्छ भन्ने सोचेको भए अब त्यो मित्था हुने भएको हो । पर्सामा मात्र यस्ता प्रकृतिका मुद्दामा दोषी ठहर भई ०५३ सालबाट फरार रहेका व्यक्तिहरु यसै आर्थिक बर्षमा कानूनको फन्दामा परिसकेका छन् ।
न्यायालयले उक्त अपराधमा संलग्न भई २७ बर्ष सम्मको कैद सजाय तोकेका र ५० लाख ६७ हजार सम्म जरिमाना तोकी दोषी ठहर गरेका २ सय १५ जना त चालु आर्थिक बर्षको ११ महिनामा मात्र कानूनको फन्दामा परिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको हो ।
अदालतले दोषी ठहर गरिसकेका फरार व्यक्तिलाई नियन्त्रणमा लिएर
अदालतमा पेश गर्न भनी पर्सा प्रहरीसँग भनेपछि पर्साबाट मात्र गएको ११ महिनामा अदालतले दोषी ठहर गरेका ती व्यक्तिहरु कानूनको फन्दामा परिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए । विभिन्न अपराधमा संलग्न रही भागेर उम्किन सकिन्छ भनी कसैले सोचेको छ भने त्यो महाभूल हुने भएको उनले भने । अब अपराध गरेर कोही उम्किन सक्दैन ।
पर्सा प्रहरीले अदालतले दोषी ठहर गरेका २०५३ सालदेखि फरार अपराधीलाई नियन्त्रणमा लिएको छ । एउटा त २७ बर्ष सम्मको कैद र १५ हजारको जरिवाना तोकिएका समेत कानूनी दायरामा आइसकेको उनले बताए ।
पक्राउ पर्नेहरु लागु औषध, ज्यान मार्ने उद्योग, अपहरण तथा शरिर बन्धक फौजदारी लगायत देवानी र अन्य अपराधमा मुद्दामा संलग्न भई दोषी ठहर भएकाहरु रहेको पर्सा प्रहरीले भनाइ छ । प्रहरीले पक्राउ गरी अदालत पेश गरेको दोषीहरुबाट चालु आर्थिक बर्षको ११ महिनामा कुल ५४ लाख ७६ हजार २ सय ३८ रुपैया असुल भएको छ ।
गएको आर्थिक बर्षमा भने समिक्षा अवधिमा पक्राउ परेका दोषीहरुबाट कुल ३८ लाख ५६ हजार ३ सय ७९ रुपैया असुल भएको पर्सा प्रहरीको तथ्याँकले देखाएको छ । गत आर्थिक बर्षको ११ महिनामा भने ७६ जना मात्र फरार दोषीहरु कानूनको फन्दामा परेको पर्सा प्रहरीको तथ्याँकमा उल्लेख गरिएको छ ।