कहाँको टेवलमा बसेर खाने आरामदायी जागीर, कहाँको दिनरात खाइ नखाइ खटिनुपर्ने पत्रकारिता ! त्यही पनि नेपालको । नेपालको पनि मोफसलको । मोफसलको पनि महिलाले गर्ने पत्रकारिता ! न जागीरमा जस्तो तोकिएको तलव न नियमित कमाइ । अर्कोतिर न त आफ्नो सन्तान पत्रकार बनोस् भन्ने पारिवारिक चाहना ।
यति हुँदाहुँदै पनि सबै चुनौती स्वीकारेर पत्रकारिताजस्तो सङ्र्घषपूर्ण पेसा नै रोजिन् व्यवस्थापनमा स्नातकोत्तर (एलएलबी पनि) गरेकी कविता खड्काले । पर्सा (वीरगंज) स्थित नारायणी एफएमबाट पत्रकारिताको स्वाद चाखेकी कवितालाई त्यहाँको अनुभव, प्रेरणा र इखले आफैँ पत्रिका निकालौँ निकालौँजस्तो लाग्यो ७ वर्षअगाडि । त्यसका लागि उनले आफूजस्तै आँटिला र गतिला साथीहरूको समूह पाइन्÷बनाइन् । अनि जुटे ‘खलेजाँतो’मा कविता, लगाएत का टिमहरु हो, त्यहीबेला अर्थात् २०७३ साल भदौ १२ गतेदेखि निकाल्न सुरु गरेको मध्य नेपाल सन्देश साप्ताहिक (स्थानीय ‘क’ वर्ग) अहिलेसम्म गड्गडाएर आइरहेको रहेछ ।
कोरोना महामारी (कोभिड–१९) ले छापा मात्र हैन, समग्र पत्रकार र पत्रकारिताजगत् हायलकायल÷घायल भइरहेको अवस्थामा यो समूहले झन् ४९ अङ्क पो निकालेको रहेछ । यति मात्र हैन, अहिलेसम्म यो पत्रिकाको कुनै अङ्क बन्दै भएको रहेनछ । सुरुका तीन वर्ष श्यामश्वेत र त्यसपछि निरन्तर रङ्गिन कलरमा प्रकाशित यो पत्रिकाका स्तम्भ र विषयवस्तु प्रायः मौलिक नै रहेछन् ।
यसले महिला, राष्ट्रिय÷अन्तर्राष्ट्रिय उद्यम, वैदेशिक रोजगार, व्यापार–व्यवसाय जस्ता आर्थिक पक्ष, बालबालिका, वनजङ्गल आदि विषय समेट्ने गरेको रहेछ । एक किसिमले यो पत्रकारितालाई ‘विकास पत्रकारिता’को नमुनाभन्दा फरक नपर्ने रहेछ । वास्तवमा स्थानीय सञ्चार माध्यमले स्थानीय मुद्दा र जनसरोकारका विषयमा नै प्राथमिकता दिने हो । यसो भएमात्र पत्रकारिता टिक्छ, बिक्छ । भाषा (व्याकरण) को केही सच्याइ र अझ गहन विषयवस्तुको छनोट÷प्रस्तुतिमा ध्यान दिनसके सुनमा सुगन्ध हुन्छ ।
अर्को महत्वपूर्ण कुरा, पत्रकार आचारसंहिताविपरीत समाचार सम्प्रेषण गरेको भनेर यो पत्रिकाविरुद्ध उजुरी परेको रहेनछ । कतैबाट यस्तो लेखियो, उस्तो लेखियो भनेर पत्रिकाको कार्यालयमा पनि गुनासो आएको रहेनछ । सकारात्मक पत्रकारिता गर्दा सकारात्मक नै परिणाम पाइन्छ भन्ने यो पनि एउटा उदाहरण हो । कोरोना महामारीपछि समाचार माध्यम, त्यसमा पनि छापा माध्यमको अवस्था खस्कदै गएको विषय घाम जत्तिकै छर्लङ्ग छ ।
यस्तो अवस्थामा यसको चपेटामा मध्य नेपाल सन्देश पत्रिका पनि नपर्ने कुरै भएन, तर पनि यो ‘सहासी समूह’ले गज्जबको ‘ट्रिक’ लगाएको रहेछ, आफ्नै लगानीमा छापाखाना खोलेर । हो, सङ्कटमा टिक्ने यसरी नै हो । आफ्नै छापाखाना भएपछि पत्रिका प्रकाशन र अन्य काम ल्याएर व्यवसाय गर्न पाइयो । यसबाट भएको कमाइबाट समाचार माध्यम चलाइरहन सकियो । यस्तो जुक्ति धरमर अवस्थामा पुगेका देशका विभिन्न जिल्लाका पत्रपत्रिका र पत्रकारका लागि प्रेरणा हो । अझ पलायनको अवस्थामा पुगेका पत्रपत्रिकाहरू सफा मन राखेर ‘मर्जर’ हुने हो भने पछाडि फर्कन खोजेका धेरैलाई अगाडि बढ्न सजिलो हुनेछ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पनि सामन्ती सोच, चिन्तन, संस्कार र व्यवहार अन्त्य कहाँ हटिसकेको छ र ? महिलालाई दोस्रो दर्जाको नागरिक या कमजोर पात्र ठान्ने प्रवृत्तिको पूर्ण अन्त्य कहाँ भइसकेको छ र ? कविता, को समूह’ लाईहरूको यो अभियानलाई वाह् वाह् गर्ने जनताको ठूलो जमात भए पनि समाचार र समाचार–सामग्री लिन, बजार विस्तार र विज्ञापन सङ्कलनमा जुट्दा÷खट्दा ‘महिलाले चलाएको पत्रिका’ भनेर फरक नजर लगाउने लोभी र पापी आँखा पनि त होलान् यो समाजमा÷बजारमा ।
तैपनि यसप्रति ‘बाल मतलब’ नदिएर यो ‘साहसी समूह’ निरन्तर आफ्नो लक्ष्य चुम्न गन्तव्यतिर लम्किरहेकै देखिन्छ । किनकि काठमाडौभन्दा बाहिर रहेर पनि झण्डै तीन दर्जन व्यक्तिलाई रोजगारी दिन सफल मध्य नेपाल सन्देशको अब काठमाडौँमा समेत कार्यालय खोलेर बजार बढाउने योजना रहेछ । यसका लागि ‘सहासी समूह’ लाई हार्दिक शुभकामना ! साथै सातौँ वार्षिकोत्सवमा पत्रिकाको सम्पूर्ण परिवारलाई बधाई !
आगामी यात्राको उत्तरोत्तर प्रगतिको कामना ! समग्रमा यी छोरीहरूको साहसी कर्मलाई सलाम ! सम्मान !! आलोचनात्मक चेतसहितको पत्रकारितालाई सधैँ अगाडि बढाउन पछि नहटोस् यो समूह । साथै, पत्रकार आचारसंहितालाई मूलमन्त्र मानेर सधैँ स्वच्छ, स्वस्थ, मर्यादीत, जिम्मेवार, परोपकारी पत्रकारितामा जोड दिओस्, यही सुझाव ।
(अधिवक्ता खनाल प्रेस काउन्सिल नेपालको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता हुनुहुन्छ)