काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा उजुरी परेको छ। एक नाबालिगमाथि पटकपटक बलात्कार गरेको आरोपमा बुधबार सन्दीपमाथि प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो।
प्रहरीका अनुसार पीडित भनिएकी किशोरी १७ वर्षकी भएको र उनको विस्तृत स्वास्थ्य परीक्षण गराइएको छ।
बलात्कार आरोप र अनुसन्धान
ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत फ्यानका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसैको आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन्। किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको पिंगलास्थानको होटेल काठमाडौं इनमा लगेर आफुलाई लामिछानेले बलात्कार गरेको उल्लेख गरेकी छन्।
उक्त आरोपबारे प्रहरी कार्यालय गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त रूपमा अनुसन्धान अगाडि बढाएको छ। बढीमा २५ दिनभित्र प्रहरीले अनुसन्धान पूरा गरेर अदालत समक्ष पेस गर्नेछ।
लामिछानेविरुद्ध जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ। नुवाकोट घर भएका ती किशोरी बागबजारको एक कलेजमा अध्ययनरत् र मध्यबानेश्वरको होस्टेलमा बस्दै आएकी छन्।
घटना भदौ ५ गते भएको प्रहरीले जनाएको छ। क्यान स्रोतका अनुसार कप्तान सन्दीप ५ भदौमा नेपाली राष्ट्रिय क्रिकेट टिमसँग थिएनन्। सबै खेलाडीले भदौ ४ गतेसम्म अभ्यास गरेका थिए। तर क्यानले एक दिनअघि भदौ ५ गते उपत्यकामा घर भएका खेलाडीलाई तयारीको लागि क्लोज क्याम्पबाट घर पठाएको थियो।
त्यसको अर्को दिन भदौ ६ गते नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछाने मैत्रीपूर्ण टी–२० र एक दिवसीय शृङ्खलाका लागि नेपालको नेतृत्व गर्दै केन्या पुगेका थिए। टी–२० शृङ्खलापछि उनी क्यारिबीअन लिग खेल्नका लागि जमैका पुगेका छन्।
उदयमान ‘लेग स्पीनर’
लामिछाने सन् २०२१ को डिसेम्बरमा नेपालको कप्तानमा नियुक्त भएका थिए। लामिछाने पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग ९सीपीएल० को खेलाडी बोलकबोल प्रक्रिया ९अक्शन० मा महँगो मूल्यमा सकारिएका थिए।
प्रतिभाशाली लेग स्पिनर उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लिगमा खेलेका छन्।
सन् २०२२ मा टि–२० मा सर्वाधिक विकेट लिने विश्वकै बलरहरुको सूचीमा उनी एक नम्बरमा छन्। बलात्कार मुद्दा किनारा नलागेसम्म उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने हुन सक्छ।सन्दीप आगामी जनवरीमा यूएइमा आयोजना हुने टि–२० लिगमा पनि आवद्ध भइसकेका थिए।
बलात्कारको आरोप पुष्टि भएमा लामिछानेको जम्जमाउँदो करिअरमा मात्रै कालो बादल लाग्ने छैन, नेपालको राष्ट्रिय टिममा पनि ठूलो क्षति पुग्नेछ।
सन्दीप विश्व क्रिकेटका उदयमान ‘लेग स्पीनर’ हुन्। २२ वर्षीय सन्दीपले हालसम्म नेपालका लागि ३० अन्तर्राष्ट्रिय एकदिवसीय र ४४ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। यी दुवै फर्म्याटमा उनी नेपालका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन्।