पर्साका १४ पालिका मध्ये अघिल्लो निर्वाचन जितेका पालिका प्रमुखहरुमा एक जनाले मात्र गएको स्थानीय तहको निर्वाचनमा जित निकाल्न सफल भए । एक पटक जितेका व्यक्तिलाई पुनः दोहो¥याउने अवसर भनेको जनताका काम गरेको आधार मात्र हो भन्ने सामान्य बुझाई हो । पर्साको सन्दर्भमा चाही भएको के हो त ? १३ पालिकाका पालिका प्रमुख पराजित हुँदा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले मात्र पुनः दोहो¥याउने मौका कसरी पाए ? जनताले फेरि जिताउनुको कारण के हो ? उनले साच्चै राम्रा काम गरेका थिए ? भन्ने धेरैलाई जिज्ञासा छ । एक मात्र पालिकामा पुनः निर्वाचित छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्तासंग यस्तै बिषयमा केन्द्रित रही गरिएको कुराकानी :-
जनताको मन जित्न के त्यस्तो काम गर्नु भएको थियो कि तपाईंले मात्र पर्सामा दास्रो पटक बाजी मार्नु भयो ?
जनप्रतिनिधिले जनतालाई प्रत्यक्ष लाभ हुने कामहरु गर्नु पर्छ । ‘छोरी बीमा ! कार्यक्रम छिपहरमाई गाउँपालिकाले नै सबैभन्दा पहिले सुरु गरेको हो । पछि मधेश प्रदेश सरकारले यसलाई कपी गरेर ‘बेटी बचाऊ, बेटी पढाऊ’’ अभियान चलायो । छोरी जन्मने वितिकै समाजमा नराम्रो दृष्टिले हेर्ने पुरानो सोचलाई हामीले विस्थापन गर्न छोरी बीमा कार्याक्रम सुरु गरेका थियौं । त्यसको अन्त्यको लागि ‘‘कन्यादान राशी’’ चलायौं ।
दुई लाखको ‘‘छोरी बिमा’’ र ५१ हजारको कन्यादान राशी स्थानीय सरकारबाट सर्वसाधारणले प्रत्यक्ष लिन पाए । स्थानीयबासीको आवश्यकता र समस्या पहिचान गरी मैले काम गर्दै आएको थिए । त्यही उपलब्धीमुलक काम देखेर जनताले मलाई पुनः जिताएको महसुस गरेको छु । बाल मृत्युदर शुन्य बनाउन प्रत्येक वडामा बर्थिङ्ग सेन्टरको स्थापना गरिएको छ । शैक्षिक क्षेत्रमा प्लस २ सम्म कक्षा संचालन गरी प्राविधिक शिक्षा स्थापित गर्दै स्थानीयस्तरमा गुणस्तरीय शिक्षाको व्यवस्थापन गरेका छौं । जिल्लामै पहिलो पटक छिपहरमाई गाउँपालिकाले विपन्नलाई ग्याँस चुलो र सिलिण्डर वितरण कार्य सुरु गरेको हो । जसले गृहणी महिलालाई प्रत्यक्ष लाभ हुँदै आएको छ । नत्र पहिला जंगलको दाउरा, खेत खलियान र बगैंचाका दाउरा जम्मा गरी खाना पकाउने बाध्यता थियो । सम्पति जे जति भए पनि बुढेसकालमा बृद्धबृद्धाहरुलाई हेर्ने दृष्टिकोण फरक हुन्छ । त्यसैले चिसोयाममा बालबालिकादेखि बुढापाखाहरुलाई समेत कहिले कमबल, त कहिले न्यानो कपडा बाड्ने काम गर्दै आएका थियौं । यी सबै कामको प्रतिफल सकारात्मक आएको हुनसक्छ ।
गएका ५ वर्षको कामको समिक्षा कसरी गर्नु भएको छ ? यो चाही काम गर्न छुटेको छ भन्ने केही छ ?
अहिले रोजगारी आयोजना कार्यक्रम गर्नु पर्नेछ । नजिकै घरगाउँमा निःशुल्क पढने स्कुल उपलब्ध हुनु पर्छ । निःशुल्क स्वास्थ्य चौकी उपलब्ध हुनु पर्छ । हरेक घरमा एउटा मात्र पनि स्वरोेजगार भइदिए नागरिककोे हरेकको घर परिवारमा विस्तारै सम्पन्नताको सुरुवात गर्न बल मिल्छ ।
अहिले त पालिकाको हाम्रो पनि बोर्ड समिति बनिसकेको छैन । तर निर्वाचित जनप्रतिनीधिले भोली देखिने केही न केही काम गर्न पर्ने हुँदा सबै जनप्रतिनीधिहरु मिलेर आफ्ना क्षेत्रको काम अगाडी बढाइन्छ । गाउँपालिकाहरुले स्वंयसेवक योजना लिएर आएर हरेक तह, र उमेर पुगेका ज्येष्ठ नागरिकलाई पनि विभिन्न योजनामा समेट्न सकिन्छ । युवा, ज्येष्ठ र वेरोजगार सबै किसिमका नागरिकको हितका लागि अन्य पालिकाहरुमा नभएका विभिन्न काम गर्न पर्नेछ ।
तपाईसंग प्रतिस्पर्धामा रहेका उम्मेदवार बलिया नभएर जितेको कतिपयले आरोप लगाउने गरेका छन् नि ?
कुनै उम्मेदवार सानो ठूलो या बलिया र कमजोर भन्ने हुँदैन । मैदानमा उत्रेपछि हरेक व्यक्ति योग्य नै मान्नु पर्छ । रह्यो कुरा मेरो प्रतिस्पर्धी झन जिल्लाको राजनीति गरेका र उनकै घर परिवारबाट प्रदेश सभा सदस्य समेत भएका व्यक्ति पनि भएकोले उहाँ कमजोर भन्ने कतिपयको भनाइ सहि होइन । त्यो हिसाबले सबैभन्दा कडा प्रतिस्पर्धा पनि हाम्रो पालिकामा पनि भएको हो । बाँकी कुरा मबाट हरेक समयमा साथ पाएका र गएको कार्यकालमा मैले गरेका कामको समिक्षाले नै मैले साथ पाएको कुरा चाही सहि हो ।
जिल्लाका १४ पालिका मध्येका कुनै पालिका अध्यक्ष नदोहोरिनु र तपाई मात्र दोहोरिनुलाई कसरी लिनुहुन्छ ?
हार्नुको कारण भनेको पालिकाका प्रमुखको मात्र लक्ष्यले मात्र नभई बहुमत अल्पमतको खेलले सबै जनप्रतिनीधिले साथ नदिएकोले राम्रा काम केही हुन नसक्दा जनताले पुनः साथ दिन नसकेको हुन सक्छ । किनभने अन्य पालिकाका प्रमुखहरु पनि राम्रो भिजन भएका र जनताको काम गर्न सक्ने योग्य मानिस थिए । केही प्राविधिक कारणले मात्र उहाँहरु पछि पर्नु भएको मैले महसुस गरेको छु ।
मेरो पालिकामा राम्रा काम गर्न ल्याएको एजेण्डामा पहिले बोर्डका सदस्यहरुले गरेको सहयोग र साथ नै जित्ने साथ भएको हो । अरुलाई विगार्न चाहनेले पनि नत्र कहाँ जित्न सक्छ र ?
नेतृत्वमा आएपछि अवैधानिक सम्पति तपाईको पहिलाभन्दा बढेको भन्ने आरोप पनि छ नि ?
जनप्रतिनिधि भएपछि त यस्ता कुराहरुको अरोप आउँछ । आखिर समाज त एकै पटक बदल्न सकिदैन नि । हाम्रो समाजको सोच र पहिलेका नेतृत्वकर्ताहरुले गलत गर्दा आफूलाई पनि त्यहि आँखाले हेरेको हुन सक्छ । तर आम पालिकावासीले र राम्रा कामको मूल्याँकन पनि गरेको हुन्छ ।
पहिलेको अवस्था पनि हेर्नु भको छ । को कस्तो अवस्थाको थियो ? भनी । अनि म त पहिला देखिको एउटा बिजिनेसम्यान हो । वीरगंजमा मेरो टायल मार्भलको पसल अनि जग्गाको कारोबार, कलखानाहरु भएको मान्छे हुँ । पाँच बर्षमा त केही मेरो व्यवसायबाट पनि आम्दानी आउँछ नि । पालिकाको सम्पति दूरुपयोग या भ्रष्टाचार जस्ता कुरा मैले केही गरेको छैन । यस्ता आरोपको कुरा प्रतिपक्षका मानिसहरुले बद्नाम गराउन प्रायः गर्ने परिपार्टी हुन्छ । मेरो सवालमा पनि भएको त्यहि हो ।
अहिले ज्येष्ठ नेतालाई विदाई र युवालाई नेतृत्व दिने जस्ता कुराहरु उठ्दैछन् । यसलाई यहाँले कसरी लिनु भएको छ ?
मेरो बुझाइ अनुसार त दुबैको नेतृत्व ठिक छ । आवश्यकता छ । अब स्थानीय तहको चुनाव सकिए पनि प्रदेश सभा र संघीय सांसदको निर्वाचनमा सबको अलग अलग क्षमता पढाइ लेखाइ र बुझाइको हिसाबले ठाउँ पाउनु पर्छ । तर म एउटा कुरा के भन्छु भने जुन स्थानमा जनतासंग नागरिकसंग जोडेर काम गर्ने व्यक्ति हुन्छ । त्यो ज्येष्ठ या युवा जे भए पनि त्यसलाई ल्याउनु पर्छ । अहिलेभन्दा १५ साल पहिला जुन शिक्षकहरु पढाउनु हुन्थ्यो ।
त्यो अहिले पनि पढाउनु हुन्छ । जुन कि अहिले ल्यापटप, मोबाईल यस्तो डिजिटलबाट पढाई भए पनि उहाँहरु हुनु हुन्छ । भनाइको अर्थ के हो भने पहिलाको पढाइ पनि चाहिन्छ र अहिलेको पनि चाहिन्छ । राजनीतिमा पनि त्यस्तै हो । पुरानो अनुभव भएको व्यक्ति पनि चाहिन्छ र नयाँ युवाहरुलाई पनि अवसर दिंदै दक्ष बनाउँदै लानुपर्छ ।