काठमाडौं। पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन्।
बिहीवार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवम् बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहमा पूर्व राष्ट्रपति डा. यादवले यस्तो चिन्ता प्रकट गरेका हुन्। डा. यादवले बीपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेतालाई नरहेको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए।
पूर्व राष्ट्रपति यादवले भने, ‘बीपीले कांग्रेसका महाधिवेशनहरुमा बोल्नुभएको छ, त्यो महत्त्वपूर्ण छ। बीपीको जेल डायरी, बीपीको आत्मवृत्तान्त, बीपीले बोलेका राजनीतिका विषय कांग्रेसीलाई पढ्नलाई फुर्सद छैन। सोझै कांग्रेस छिर्छन्। किनकि टिकट किन्नेलाई कांग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, कांग्रेसीमा लागेकालाई फुर्सद नै छैन। पैसामा टिकट बेचिरहेको छ।’
कांग्रेस पार्टीमा रहेर पसिना बगाउनुभन्दा पैसा दिएर टिकट किन्नेको मूल्याङ्कन बढी हुँदै गइरहेको पूर्व राष्ट्रपति यादवको आरोप छ। उनले समानुपातिकबाट सांसद बन्नका लागि टिकट बिक्रीको चलखेल हुने गरेको पनि उनले बताए। उनले भने, ‘समानुपातिक, वडा र पालिकाको टिकट बिक्री भएको छ । अहिले विधिको बारेमा चर्चा गरिराख्नुपर्ने, आदर्शको बारेमा कुरा गर्नै छोडिसके। बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता महापुरुषको नाम सुन्दै गदगद हुन्छ, तर अहिले देशको अवस्था कस्तो छरु बीपीको एक गुण पनि हामीमा छैन।’
डा. यादवले थप्दै भने, ‘कांग्रेसी त्यस्तो पुर्खा भएर पनि अहिले अंशबण्डा गरिरहेको छ। जनताको बीचमा जान पनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ। कांग्रेसका बारेमा राम, राम भन्ने बेला भइसकेको छ।’ - नेपाली पब्लिकबाट साभार गरिएको ।