वीरगंज । वीरगंजस्थित देशकै प्रमुख भन्सार नाकामा विदेशबाट आयात तथा निर्यात हुने कारोबारमा कमी आएको छ । प्रमुख भन्सार कार्यालय वीरगंज भएर आयात निर्यात हुने कारोबारमा २८ प्रतिशतले घटेको वीरगंज भन्सार कार्यालयले जनाएको छ । आयात निर्यातकमी आएपछि यसको नाकारात्मक प्रभाव भन्सार कार्यालयको राजश्व संकलनमा समेत असर परेको छ ।
नेपाल सरकारले वैदेशिक मुद्राको संचितीलाई संतुलित गर्नका लागी विलासि बस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण देशको प्रमुख भन्सार कार्यालय मै राजश्व संकलनमा समेत असर परेको छ । मालवस्तु आयात तथा राजश्वका दृष्टिकोणले अन्य भन्सारको तुलनामा भन्सार राजश्वको करीब ५४ प्रतिशत राजश्व उठाउँदै आएको वीरगंज भन्सार कार्यालय मै विलासि बस्तुको आयातमा रोक लगाएका कारण कारोबारमा कमी आएको देखिन्छ ।
गत आर्थिक वर्षको साउन महिनामा वीरगंज भन्सार नाकाबाट कुल १६ हजार ४ सय ३७ प्रज्ञापन पत्र मार्फत कारोबार भएको तुलनामा चालु आर्थिक वर्षको सोही अवधीमा ११ हजार ८ सय ४८ प्रज्ञापन पत्रबाट मात्रै कारोबारका लागि प्रयोग भएको छ । यस तथ्याङ्कले अघिल्लो वर्षभन्दा यसवर्ष २७.९१ प्रतिशत अर्थात ४ हजार ५ सय ८९ कम कारोबार भएको देखिन्छ । समिक्षात्मक रुपमा वीरगंज भन्सार कार्यालयको ग्रिन च्यानमार्फत हुने कारोबारमा ३९ प्रतिशत, एलो च्यानबाट हुने करोबारमा २० प्रतिशत र रेड च्यान मार्फत हुने कारोबारमा २७ प्रतिशतले कमी आएको वीरगंज भन्सार कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी सुमित गुप्ताले बताए ।
गत आर्थिक वर्षको साउन महिनामा ग्रिन च्यानलबाट ४ हजार ६६, एलो च्यानलबाट ४ हजार ३ सय ६० र रेड च्यानलबाट ८ हजार ११ वटा प्रज्ञापन पत्र मार्फत कारोबार भएकोमा चालु आवको सोही अवधीमा ग्रिन च्यानलबाट १ हजार ५ सय ८०, एलो च्यानलबाट ३ हजार ५ सय १२ र रेड च्यानलबाट ५ हजार ८ सय ५० मात्रै प्रज्ञापन पत्र मार्फत कारोबार भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाउछ ।
कारोबारमा देखिएको संकुचन कै कारण वीरगंज भन्सार कार्यालयले राजश्व संकलनको मासिक लक्ष्य हासिल गर्न नसकेको वीरगंज भन्सार कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी सुमित गुप्ताले बताए । अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई साउन महिनाका लागि दिएको १५ अर्ब २० करोड ७ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य मध्येमा कार्यालयले १२ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ । जुन लक्ष्यको २ अर्ब २१ करोड ८ लाख रुपैयाँ कम हो । देशमा अन्तराष्ट्रिय बिमानस्थलको एक, चिनसंग जोडिने ९ वटा र भारतबाट जोडिने २० वटा गरी नेपालमा रहेका ३० वटा भन्सार कार्यालय मध्ये वीरगंज भन्सार कार्यालय एक्लैले देशको ५१ प्रतिशतभन्दा बढी राजश्व असुलीको लक्ष्य पुरा गर्ने गर्दछ ।
विक्रमसम्वत २०१९ सालमा भन्सार ऐन जारी भएसँगै आधुनिक भन्सार कार्यालयको रुपमा राजश्व संकलन गर्दै आएको यस भन्सार कार्यालयको आधुनिक विकसित भई एकृकित भन्सार चेकजाँच चौकी माताहतको मटिअर्वा, सिर्सिया, पिपरपाती, सिम्रौनगढ, भिस्वा अमृतधारा (ठोरी), अवही, कचोर्वा, अलौँ, गाढप्रर्सौनी र जानकी टोला गरी ११ वटा छोटी भन्सार कार्यालय रहेका छन् ।
मुख्य भन्सार कार्यालयबाटै आयात भईरहेको विलासीको बस्तु आयातमा रोक लगाऊँदा अन्य छोटी भन्सार कार्यालयले यसको लक्ष्य भेटाउन खासै मदत गरेको देखिन्न् ।