वीरगंज । भारतद्वारा धान–चामलको निर्यातमा कडाई भएपछि नेपालीको भान्छामा असर पर्न सक्ने उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् ।
भारतले धान–चामल निर्यातमा २० प्रतिशत भन्सार लिदै कनिका निर्यातमा रोक लगाएपछि धान–चामल उद्योगीहरुले नेपालीको भान्छामा असर पर्ने चिन्ता व्यक्त गरेका हुन् । भारत सरकारको यो निर्णयले देशमा महंगीसँगै तस्करी र भोकमरीमा वृद्धि हुने उनीहरुको ठहर छ ।
वीरगंज उद्योग बाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘‘रोटी बेटी’’को सम्बन्ध भएको भारतले सुपथ मुल्यमा रोटी खान पाउने नेपाली जनताको अधिकार छिन्न खोजेको गुनासो गरेको छ ।
विश्व व्यापार संगठन डब्लुटिओ को सदस्य राष्ट्र भारतले खाद्यान्नमा शुन्य भन्सार नीति विरुद्ध कदम चालेको संघको आरोप छ । आम नेपाली जनतालाई महंगीको मारमा पर्नेगरि ल्याईएको नीतिको घोर भत्र्सना गर्दै संघले कठोर निर्णय फिर्ता लिन भारत सरकारसँग पनि आग्रह गरेको छ । परिपत्रलाई नेपाल बाहेक भनेर जारी गर्न वा धान निर्यातमा भन्सार शुल्क नलिन संघले माग गरेको छ ।
उद्योग बाणिज्य संघ वीरगंजका अध्यक्ष सुवोध गुप्ताले भारत सरकारको निर्णयले नेपाली चामल मात्रै नभएर भुस र कनिकालाई कच्चा पदार्थको रुपमा प्रयोग गर्ने अन्य उद्योगमा समेत ताला लाग्ने बताए । ‘धान ल्याएर चामल बनाउने मात्रै हैन, भारतबाट चामल नै मगाएर उपभोग गर्ने गरेका छौं ।’ उनले भने ‘ भारत सरकारको पछिल्लो निर्णयले चामल उद्योग मात्रै हैन, विष्कुट, मदिरा र दाना उद्योग बन्द हुन्छ । भुसबाट चल्ने हजारौं बोईलर बन्द भएपछि ठूला ठूला उद्योगमा असर पर्छ ।’
धान, चामल, दाल, तेल संघका अध्यक्ष समेत रहेका गुप्ताले भारत सरकारले धान मात्रै शुन्य भन्सारमा दिने हो भने नेपाल तत्काल आउने संकटबाट बच्न सक्ने तर्क गरे । खाद्यान्नमा मुलुक आत्मनिर्भर बनाउँदै भू–उपयोग नीति ल्याउनुस, सरकार र नीजि क्षेत्र सहकार्य गरौं भन्दा नसुनेको उनको गुनासो छ ।