काठमाण्डौंको भोसिको टोलमा सम्बत् १९२३ सालमा जन्मेका मोतीराम भट्ट आफ्नो शैशव समाप्त गरि तरुणाइ अवस्थामा अध्ययनको क्रममा बनारसमा रहेर फारसी पढी तथा उर्दू र खडी बोलीको पनि राम्रो ज्ञान हासिल गरि कवि भारतेन्दु हरिश्चन्द्रको सङघतवाट प्रेरित भइ नेपालीमा गजल विधालाइ भित्र््याएको कुरा सबैले स्वीकार गरेका छन् (डा.केशवप्रसाद उपाध्याय, अश्रुपुरित आँखाहरुबारे नामक गजल संग्रहको भूमिकामा ) ।
सृङ्गार रसको बाहुल्य भएको उनका कविता र गजलहरु नेपाली साहित्यका अमूल्य निधीहरु हुन भनेको कुरा निर्विवाद सत्य हो तर मोतीराम भट्टको प्रसिद्धि उनको नेपाली भाषाप्रतिको मोहको कारणले पनि रहेको पाइन्छ । उनि न भएका भए अथवा नेपाली भाषा प्रतिको उनको प्रेम सागर रुपमा न उर्लेको भए संभवतः नेपाली साहित्यले आफ्नो आदिकवि भानुभक्त तथा उनको रामायण पाउने थिएनन होला । ती मोतीराम भट्ट नै थिए जसले भानुभक्तको रामायण तथा अन्य कृति खोजी गरि जनमानस सामु प्रत्यक्ष गरेका थिए ।
हुन त मोतरिाम भट्टले रामायणको खोज गर्नु भन्दा पहिले नै बुढापाका तथा अन्य धार्मिक मानिसहरुको कण्ठ परंपराले प्रसिद्ध हुन लागेको थियो तर कण्ठ परंपराले कुनै पनि कृति दिर्घकालसम्म स्थाइत्व प्राप्त गर्न सक्दैन्थ्यो, त्यस्तो समयमा तीन बर्षसम्म सोध खोज गरि भानुभक्तको जीवनचरित्र तयार पार्नु भनेको चानचुने काम पक्कै थिएन। वास्तवमा कवि मोतीराम भट्ट सुयोग्य कवि हुनाले अरुका काव्य र कविताको पारख गर्न सक्दथ्ये। त्यसैले भानुभक्तका रामयण, बधू शिक्षा आदि कृतिहरुमा रहेका रसिलापन देखि मुग्ध भएर भानुभक्तका परम भक्त बनेका थिए ।
यसै कारणले भानुभक्तको जीवन चरित्र पनि भट्टजीले लेखेर बि.सं. १९४८ साल भाद्र महिनामा काशी(बनारस) वाट प्रकाशित गराए । यस भन्दा पाँच बर्ष पहिले भानुभक्तका रामायण आदिको उचित मात्रामा १२ पद्यमा बयान गरेका थिए (मोतीराम भट्टको जीवनी, पृ. ३७–४१) । यस जीवन चरित्रमा हद भन्दा बढता बयान गरेर भानुभक्त प्रति भक्ति प्रकट गरेका छन् –जस्ता भानुभक्तका सरस कविता छन् उस्तै यिनको नाम पनि प्यारो छ ।
संसारमा जन्म लीकन् नाम राखेन भने त्यो पुरुषले जन्म लिएको के सार ? आज भानुभक्त स्वर्गवासी भएको २२ वर्ष भयो , तर कविताको सामथ्र्य हेर्नु होस् , भानुभक्त फलाना हुन न भन्न सक्ने हाम्रा श्री ५ सरकारका राज्य भरिमा सयकडा दुय चार हुनन् ।....धन्य कवि ! धन्य कविता ! (मोतीराम भट्टको जीवनी, पृ. २९ मोतीराम भट्टले भानुभक्तको जीवन चरित्रको मुख्य घटना घांसीसंगको संवाद बताएका छन् । भट्टजीको लेखाइ अनुसार भानुभक्तले घांसीवाट कूंवा दृष्टान्तद्वारा उपदेश पाइ कवि बनेका थिए । यस उपदेशवाट तुरन्त कवि बनेर यो पहिलो कविता बनाए भन्ने भट्टजीको भनाइ छ । कविता यस प्रकारको छ ।
भर् जन्म घाँस तिर मन् दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कूंवा खनायो ।।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ।।
मेरा इनार न त सत्तल पाटि क्यै छन् ।
जे धन र चीजहरु छन् घर् भित्र नै छन् ।।
तेस् घाँसीले कसरी दिएछ अर्ती ।
धिक्कार हो मकन् न राखि कीर्ति ।।
यो पंक्तिकार पनि पाँच छ कक्षा देखि भानुभक्तको यो प्रसिद्ध कविता कण्ठ पारी घोकेका थियो तर २००३ सालतिर इतिहाँस शिरोमणी श्री बाबुराम आचार्यले ‘पुराना कवि र कवितामा’ यो पद्य भानुभक्तद्वारा न लेखिइ मोतीराम भट्टद्वारा नै लेखिएको हो भन्ने साबित गरेर नेपाली साहित्यका पाठकहरुलाइ छक्क पारि दिएका छन् ।
हुन त सन् १९५४( वि.सं. २०११) तिर सुर्य विक्रम ज्ञवालीद्वारा लिखित भानुभक्तको संक्षिप्त जीवन चरित्र मा पनि यो घटना थोर बहुत फेर बदलका साथ जस्ताको त्यस्तै वर्णित छ र यसको रचनाकाल इ.सं.१८३६ मानिएको छ तर यो तथ्य पनि मोतीराम भट्टवाट नै उधृत गरिएको हुंदा ज्ञवाली ज्यूको यस प्रति निजी मौलिक अनुसंधान वा धारणा न रहेको प्रष्ट छ ।
मोतीराम भट्ट नै उपर्युक्त पद्यका रचनाकार हुनुमा इतिहाँस शिरोमणी बाबुराम आचार्य दृढ हुनुमा प्रमुख तथ्यहरु निम्नलिखित छन् । तनहूंमा घाँस काटी पैसा लिएर बेच्ने चलन न अघि थियो न अद्यावधी नै छ । घाँसीको मुखवाट कूंवा र इनार शब्द एउटै अर्थमा प्रयोग भएको छ । भानुभक्तले लेखेका भनि माथि लेखिएका पद्यमा पनि यो दुइ शब्द एउटै अर्थमा व्यवहार गरिएको छ । काशी(बनारस) मा जसलाइ कूंवा भन्दछन् त्यसलाइ काठमाण्डौमा इनार भनिन्छ । लमजुङ्ग, तनहूंतिर इनारलाइ कूंवा न भनेर साना पनेरालाइ कूंवा भन्दछन् ।
पनेरा दुइ हाथ भन्दा गहिरो हुंदैन तथा यसमा इटाको प्रयोग पनि भएको हुंदैन, ढुंगाले मात्र बनाइएको हुन्छ । यस कारणले घाँसी वा भानुभक्तले कूंवा र इनार शब्द एउटै अर्थमा कदापि प्रयोग गर्न सक्दैन्थ्ये । घाँसीको घाँस काट्ने हथियार खुर्पी बताइएको छ । तनहूंमा घाँस काट्नको लागि खुर्पा वा हँसियाको उपयोग हुन्छ। भानुभक्तको पहिलो कविता भनेका पद्यमा सत्तल शब्द पनि आएको छ ।
गोरखा र त्यस देखि पश्चिम पट्टि धर्मशालाको निम्ती सत्तल शब्दको व्यवहार हुंदैन । नुवाकोट देखि पूर्वपट्टि मात्र यसको प्रयोग हुन्छ । यो पद्य काठमाण्डौ न आउंदै भानुभक्तले बनाएका भए यो शब्द कसरी व्यवहार गर्दथ्ये ?यस पद्यको रचना शैली हेर्दा सिकारु कविको रचना मान्न सकिदैन । कविता गर्न अभ्यास भएका कविको रचना देखिन्छ । यसमा ‘म’ को सट्टा ‘मो’ शब्द व्यवहार भएको छ । यो शब्द भट्टजीले नै गद्य पद्यमा व्यवहार गरेको देखिन्छ ।
भानुभक्तले कतै पनि ‘मो’ शब्दको व्यवहार गरेको देखिदैन । यस कारणले यी दुबै पद्य भट्टजी कै कलमवाट निस्केको देखिन्छ । (यस सम्बन्धमा ‘पुरानो कवि र कविता मा’ बाबुराम आचार्य भन्नु हुन्छ – भट्टजीको दोष देखाउनका निमित्त यो टिपन्न लेखिएको होइन । आफ्नो आदिकविका जीवन चरित्रमा फैलिएको भ्रमको सुधार गर्नाका निमित्त लेखिएको हो ।
कल्पनाका संसारमा दौड्ने कविको अभ्यास हुने हुनाले यो घाँसी – भानुभक्त संवाद भट्टजीले नै कल्पना गरेको देखिन आएको छ । यस किसिमका कल्पनालाइ कविहरुको दृष्टिवाट दोष सम्झिदैन । –पराना कवि र कविता , पृ. २००)कविवर मोतिराम भट्टको जन्म र मृत्यु भदौ महिनामा नै भएको थियो । हार्दिक श्रद्धाञ्जली सहित...!