हिन्दु धर्मको बिश्वास अनुसार तेतीस कोटी देवताहरुको अस्तित्व स्विकार गरिएको पाइन्छ । यस प्रकारका ती जम्मै देवताहरु समान रूपमा पूज्य रहेका छन । मानिसको जीवन अत्यन्त सानो रहेको तथ्य प्रष्ट छ । यस स्थितिमा ती सम्पूर्ण देवी देवताहरुको दैनिक पूजन असम्भव प्रायः रहेको कुरा स्पष्ट छ ।
कुन देवी देवतालाइ पूज्ने र कुन देवी देवतालाइ न पूज्ने ? प्रश्न ज्यादै कठीन तथा दुरुह भएको कुरालाइ मध्यनजर राख्दै गाउहरुमा परापूर्व काल देखि नै अत्यन्त कुशलतापूर्वक ढंगले निराकरण गरि धार्मिक व्यवस्था गरिएको पाइन्छ । जस अनुसार देवी देवताहरुलाइ निम्न किसिमले वर्गिकृत गरि सम्पूर्ण पूजाको व्यवस्था गरिएको छ–(क) ग्राम देवता (ख) कुल देवता (ग) ईष्ट देवता । गाउहरुमा ग्राम देवताको रुपमा प्रमुख तीनवटा देवताहरुको पूजन गरिन्छ–(१) ब्रह्म बाबा (२) सातो माई तथा (३) जाठ जाठीन ।
बस्तुतः गाँउको मालिक वा रक्षकको रुपमा ब्रहम बाबाको पूजा हुन्छ । प्रत्येक गाउँको बाहिरी भागमा ठीक बिचमा पारेर, प्रायः पूर्व दिशामा ब्रह्म बाबाको स्थान बनेको हुन्छ जुन प्रायः पिप्पलको रुखमुनि अवस्थित रहेको हुन्छ । त्रिदेव (ब्रहमा, विष्णु, महेश) मध्ये ब्रह्म बाबा कुन देवता हुन यो कुराको जानकारी सम्भवतः कसैलाइ पनि न हुन सक्द छ तर ब्रहम बाबाको पूजा गाँउघरमा पूर्ण निष्ठा तथा भक्तिपूर्वक गर्ने गरिएको पाइन्छ ।
गाँउमा आइ पर्ने कुनै किसिमको दैवीय आपद विपद्को घटना होस् वा घरमा कुनै माँलीक अवसर होस्, गाँउको मानिसले ब्रह्म बाबालाइ अवश्य नै गुहार्दछ । गाँउबाट काम बिशेषले बाहिरको यात्रा गर्नु पर्दा वा बाहिरबाट घर र्फिर्कने क्रममा ब्रह्म बाबाको स्थानमा शिर झुकाउन अनिवार्य हुन्छ । घरका चेलीबेटीहरुको विवाह भएर आफ्नो घरको यात्रा गर्ने बेलामा पनि माइती गाँउको ब्रह्म बाबालाइ ढाेंगेर आशिर्वाद लिन आवश्यक हुन्छ । घरमा कुनै यज्ञ छ भने सर्वप्रथम निम्तो ब्रह्म बाबालाइ दिनु पर्द छ ।
ब्रह्म बाबाको कृपाले नै यज्ञमा सफलता प्राप्त हुन्छ भन्ने जन बिश्वास रहेको छ । यज्ञको साइत निरुपण भएको दिन देखि नै ब्रह्म बाबाको कृपा पाउनको लागि गुहार लगाउन शुरु हुन्छ । गाँउघरमा आइमाइहरुले सञ्झा र पराती गाउने क्रममा भोजपुरी भाषमा अत्यन्त नै ह्दयस्पर्शि गीत गाउदछन–सोने के खडउंआ ब्रह्म बाबा...ब्रह्म बाबा सुनको खडाउं लगाएर सम्पूर्ण गाँउमा डुलेर आउदछन , गाँउमा जम्मैजना सुति सकेका छन तर जसको घरमा यज्ञ छ त्यो सुत्न सकेको छैन । किन सुत्न सकेको छैन त भन्दा उसको घरमा यज्ञ छ, छोरीको विवाह छ ।
यज्ञ कसरी पार लागोस् ? ,उसलाइ सुर्ता छ, कसरी निन्द्रा लागोस ? हे ब्रह्म ! बाबा उसको सहायता गर्नुस, उसको यज्ञ पार लगाइ दिनु होस । ब्रह्म बाबाको जसले यस प्रकारको पुकारा गर्दछ उसको यज्ञ ब्रह्म बाबाले सजिलै पार लगाइ दिन्छन । यस प्रकारले हामी देख्दछौं ब्रह्म बाबा आफनो गाँउको एक एक सदस्यलाइ निगरानीमा राखेका हुन्छन । यज्ञ समाप्त भए पछि बँस उखडीको(यज्ञ समाप्तिको दिन) दिन बिवाह भएको बेहुला वा बेहुली तथा आमा र अन्य आइमाईहरु ब्रह्म बाबाको स्थानमा गएर विधिवत् पूजा गरि कृतज्ञता तथा आभार प्रकट गर्ने परम्परा रहेको छ ।
ग्राम देवतामा अर्को महत्वपूर्ण स्थान सातो माईको रहेको पाइन्छ । सातो माई यदि शक्ति देवी हुन भन्ने– नवदुर्गा प्रकीर्तिताः भन्ने कुरा दुर्गा सप्तशतीमा उलेख रहेकोमा यहा सातोमाइको कल्पना किन गरिएको होला ? ब्राह्मी, माहेश्वरी, एन्द्री,कौमारी,वैष्णवी, चामुण्डा तथा बाराही नामक सातवटा देवीहरुको सामुहिक नाम नै सातो माई हो । गाँउको प्रायः उत्तर वा पूर्व दिशामा सातोमाईको मन्दिर निर्मित रहेको हुन्छ । सातोमाईको मन्दिर प्रायः नीम वा अशोकको रुख मुनि अवस्थित रहेको हुन्छ । मन्दिर भित्र सात वटा पिंडिया बनाइएको हुन्छ ।
भुत प्रेत डाकिनी शाकिनी तथा अन्य दुष्टात्माहरुबाट गाँउबासिहरुको रक्षाको लागि सातोमाईको परि कल्पना गरिएको हो कि जस्तो लाग्दछ । नवरात्र तथा अन्य अवशरहरुमा सातोमाइको पूजा धुमधाम तथा पूर्ण भक्तिले गरिन्छ । गृहस्थहरुको घरमा हुने यज्ञको अवशरमा पनि ब्रह्मबाबा झैं सातोमाइको पनि निमन्त्रण तथा पूजन हुने गरेको पाइन्छ । गाँउमा सातोमाई प्रतिको आस्था गुढ रहेको पाइन्छ । बिशेष गरेर बाल बालिकाहरु तथा पशुधनको बिभिन्न रोगहरुबाट त्राण पाउनको निम्ति सातोमाईको बृहत अराधना हुने गर्द छ ।
वीरगञ्जमा अवस्थित माइस्थानको मन्दिरमा पनि सातवटा पिडि़या मात्र अवस्थित छ । अतः यो मन्दिर निश्चय नै गहवा गांउको सातोमाइको मन्दिर हो । बिर्तामाइ, मुड़्ली, श्रीपुर, लछुमनवा आदि गांउमा स्थापित माइको मन्दिर निश्चयतः सातोमाइका मन्दिरहरु हुन । एवं प्रकारले ग्राम देवतामा तेश्रो देवताको रुपमा जाठ जाठीनको परिकल्पना गरिएको हुन्छ । जाठ जाठीन प्रमुख रुपले कृषिपोषक देवताको रुपमा गाँउमा पुजित रहेका हुन्छन । गाँउमा बाली नाली सप्रियोस, कृषि उब्जा राम्रो होस्, दहाड सुखाड न होओस भन्ना खातिर जाठ जाठीनको पूजा हुन्छ । ग्राम देवताहरुमा यिनीहरु भन्दा अन्य देवताहरु पनि पूिजत रहेका पाइन्छन ।
जुन गाँउमा बढी आगलागि हुने गर्दछ त्यस गाँउमा ुजम्हडी बाबाुको स्थान स्थापित रहेको हुन्छ तथा सो स्थानमा जम्हडी बाबाको पिंडिया बनाइएको हुन्छ । दैनिक पूजा पछि बिशेष रुपले दमाहा बजाएर तिनलाइ शाान्त पार्ने यत्न गरिन्छ । यस बाहेक यदि कुनै गाँउमा पूर्वकालमा यदि कोही शती भएको छ भने शती माई भनेर तिनको पनि पूजा हुने गर्दछ । कुनै कुनै गाँउमा बौद्धाब्रह्मको स्थान पनि रहेको पाइन्छ । नाम सुन्दा बौद्धाब्रह्मको कल्पना बुद्ध भगवान वा बौद्धधर्मसित साम्य रहेको जस्तो पनि लाग्दछ जुन अलगबाट अनुसन्धानको बिषय हो ।
तयारी बालीको रक्षाको लागि क्षेत्रपाल देवतालाइ नवान्नको ‘खीरभोजनु पनि अर्पण गर्ने परम्परा रहेको छ । हाड जोर्नीको रोगबाट त्राण पाउनकोलागि कतै कतै ‘हडगडवामाईुको पनि पूजा गरेको पाइन्छ । जे होस् ग्रामिण जन समुदायमा देवी देवताहरुको यस प्रकारको कल्पना तथा व्यवस्था देखेर बुढ़ा–पाकाहरुले गरेको कल्पना र व्यवस्था स्तुत्य लाग्दछ ।