करोडौं भारतीयका साथमा तीन वा कम्तीमा पनि दुई प्रमाणपत्र छन् । यसमध्ये एक हो कोभिड खोप कार्ड । यस्ता प्रमाणपत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिर अंकित छ । यसको प्रष्ट संकेत के हो भने’ हामी सबै उनकै आशिर्वादका कारण सुरक्षित छौँ’ ।
पछिल्ला केही दिनयता गणेशको तस्बिर मिडियामा आइरहेका छन् । हिन्दू चाड गणेश चतुर्थीका अवसरमा गणेशको तस्बिर बढी प्रयोग भएको हो । तर गणेशजीको तस्बिरसँगै मोदीको तस्बिरमा पनि देखिई रहेको छ । अखबार, टेलिभिजन र होर्डिङ बोर्डमा गणेशजीसँगै मोदीजीको पनि तस्बिर राखिएको छ । बजारमा मोदीको अनुहार छापिएको साडी बिकिरहेको छ । यति मात्र होइन, कैयौँ पुस्तकका कभरमा पनि उनको अनुहार राखिएको छ । पुल, सड़क र युद्धतोपलगायत हरचिजको उद्घाटन मोदीले गरिरहेका छन् ।
पछिल्ला महिना उनले भुज, केरल र मेंगलुरुमा परियोजनाको उद्घाटन गरेका थिए । यी सबै काम उनले एक्लै गरेजसरी नै उनकै मुखकमलबाट वाणी निस्किरहेका छन् । तर सम्बन्धित विभागका मन्त्रीले मोदीसामु शीर झुकाएर चुपचाप बस्नुपरेको छ । मन्त्रीहरूलाई बोल्ने अवसर मिलिहाल्यो भने पनि मोदीकै कैयौँ गुणको बखान गर्ने काम मात्र गर्छन् । मोदीबाहेक अरु कसैको प्रशंशा गर्ने अधिकार उनीहरूलाई छैन । शासक प्रशंशाका विषयमा उत्तर कोरियाली शासक किम जोङ उनले पनि मोदीबाट धेरै कुरा सिक्न बाँकी छ ।
भारतका मन्त्रीहरूले कसरी प्रधानमन्त्री मोदीका लागि काम गरिरहेका छन् भन्ने कुरा प्रष्ट हुनका लागि पछिल्लो एउटा उदाहरण हेरौँ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले राशन दोकानमा मोदीको ब्यानर नटाँगेका कारण तेलंगाना एक जिल्लाका कलेक्टरलाई चेतावनी दिइन् । चामलमा दिइरहेको अनुदानको ठूलो हिस्सा केन्द्र सरकारले व्यहोरिरहेको भन्दै उनले मोदीको ब्यानर राख्नका लागि चेतावनी दिएकी थिइन् । नागरिकलाई यति ठूलो सहयोग गर्ने मोदीलाई त्यसको श्रेय दिनुपर्ने उनको भनाइ थियो । तर वित्तमन्त्री सीतारमणको उक्त दाबी र चेतावनीभन्दा वास्तविकता धेरै फरक छ । चामलमा नागरिकले पाएको अनुदान करदाताको गोजीको पैसा हो । यो वास्तविकता सीतारमणको सोचभन्दा बाहिरको विषय बनेको छ । उनका हिसाबमा त नागरिकलाई चामलमा दिइएको अनुदान प्रधानमन्त्रीको महान् हृदयका कारण मात्र सम्भव भएको हो ।
नरेन्द्र मोदीको दैवीकरण पूरा भइसकेको छ । उनी सर्वव्यापी र सर्वशक्तिशाली मात्र छैनन्, सर्वज्ञ पनि भएका छन् । नागरिकको जीवनबारे उनलाई थाहा नभएको कुनै कुरा छैन । उनी सबै कुरा जान्दछन् । आधार कार्डको प्रयोग विस्तार गरेपछि यो कुराको सुनिश्चितता भएको छ । मोदी घरका काका, मामा वा फुपूजसरी नै बालबालिकालाई परीक्षाका विषयमा उपदेश दिइरहेका छन् । ज्ञानी, कुशल रणनीतिकार, राजनीतिक प्रचारक र दुनियाका महान् नेताजस्तै उनी मन्त्रणा÷वन्दना गर्नैपर्ने विश्वनेता बनाइएका छन् । उनलाई एक सामान्य राजनीतिज्ञको स्तरबाट कैयौँ गुणामाथि उठाएर ’सुपरम्यान’को श्रेणीमा पु¥याइएको छ । मोदीसँग शक्ति मात्र छैन, ज्ञान र बुद्धिमत्ताका पनि जिउँदा प्रतीक उनै हुन् भनेजसरी प्रचार गराइराखिएको छ ।
मोदी अहिले भारत र हिन्दूधर्मको विशेषता मानिने देवी–देवताकै एक सदस्यजस्तै भएका छन् । देवीदेवताकै जस्तो उनका पनि मन्दिर निर्माण भइरहेका छन् । यद्यपि गुजरातमा आफ्नो मन्दिर बनाएकोमा भने उनले असन्तुष्टि व्यक्त गरेका थिए । तर भक्तहरूलाई आफ्नो घरमा स्थापना गरेर मन र मन्दिरमा बसाउनबाट कसैले रोक्न सक्छ? सीतारमण पनि मोदीकी उत्साही र श्रद्धालु भक्त हुन् । उनका कुनै पनि भाषणमा मोदीको नाम छुट्दैन । एक जिल्लाका कलेक्टरलाई क्रोधित नजर राख्नु र मोदीको तस्बिर टाँस्न चेतावनी दिनु पछाडिको पनि कारण यही हो । हास्य कलाकारहरूले सीतारमणबारे ठट्टा बनाउन सक्छन्, पत्रिकाहरूले उनको अतिउत्साहबारे पेज खर्च गर्न सक्छन्, तेलंगाना राष्ट्रिय समितिले उनलाई मजाक बनाउन सक्छ, तर यो कुरामा सीतारमणलाई उति वास्ता छैन । उनलाई मोदीको ’भजन’मा बढी वास्ता छ । यसको कारण के भने सीतारमण मोदी मन्त्रिपरिषद्को एक हिस्सेदार (सदस्य) हुन् र यो पद उनले मोदीकैको अनुग्रहमा प्राप्त गरेकी हुन् ।
नागरिकका लागि मिडियामा दिनरात मोदीको कभरेज ’मनपसन्द’को विषय होइन । हरतरहले नागरिकमाथि प्रधानमन्त्री मोदीको तस्बिर, भिडियो र ब्यानरको वर्षा गरिइराखिएको छ । नागरिकले चाहे पनि नचाहे पनि यो विषयलाई अनदेखा गर्न सक्ने अवस्था छैन । कुनै पनि देशका प्रधानमन्त्री र मुख्यमन्त्रीका तस्बिर, होर्डिङ बोर्ड र विज्ञापनमा देखिँदैनन् भन्ने कुरा होइन । यहाँ त देशका हरस्थानमा स्थानीय नेताको तस्बिरवाला पोस्टर देखिन्छ । यसरी तस्बिर टाँगेर उनीहरू आफ्नो क्षेत्रका नागरिकलाई याद दिलाउन चाहन्छन् । यी पोस्टरमा सम्बन्धित दलको मुख्य नेता (मोदी) को पनि तस्बिर छापिएको हुन्छ । यसले उनीहरूको कोप्रति वफादार छन् भन्ने देखाउँछ । आजसम्म यसरी जतासुकै तस्बिर राख्ने काम अरु कसैले गर्न सकेको थिएन ।
यति ठूलाठूला आकारमा तस्बिर राख्ने काम भारतमा अभूतपूर्व छ । मोदीलाई इन्दिरा गान्धीसँग तुलना गर्न थालिएको छ । सामान्यतया यो तुलना सतही छ । आपत्कालीन अवस्था चर्किएका बेला पार्टीका नेताहरूले गान्धीलाई खुसी पार्न खोज्दा ‘पाँच बुँदे कार्यक्रम’कारे बसमा टाँसेका थिए, त्यतिबेला पनि यति ठूला तस्बिर राखिएका थिएनन् । यति गहन छविनिर्माणको प्रयास त्यसबेला भएको थिएन । तर आज त हामी यो सबै देखिरहेका छौँ । मोदीपथ वा मोदीवादलाई यस्तो आकार दिन लाइभ टेलिभिजन र सामाजिक सञ्जालको ठूलो हात छ । तर यसको केन्द्रमा व्यक्तिको इच्छा, उसको माग र उनका बफादार समर्थक–अनुयायी हुन् । उनीहरूले यस्तो अवस्था सिर्जना गरी कायम राखेका हुन् । उनीहरूको सारा शक्ति यसमा नखन्याई यो काम सहज हुँदैन । यो उन्मादको चरमोत्कर्ष हो । यसरी नेतृत्वको भक्ति नगरे आफ्नो राजनीतिक जीविकाका लागि मोदीमा भर पर्नुपर्ने समर्थकले असुरक्षित महसुस गर्छन् । यस्तो काम जारी राखे मात्र समग्र उद्योगको अस्तिस्व रहन्छ ।
यी सबै कामले मोदीलाई भने तानाशाह मात्र बनाउँछ । अखबारहरूमा आफ्ना अनुहार हेर्न मन पराउने राजनीतिक नेता वा सार्वजनिक व्यक्तित्वबाट उनी धेरै टाढा पुगिसकेका छन् । हाम्रा सामु एउटै मात्र ’वाद’ बाँकी छ, जसका लाखौं–करोडौँ अनुयायी छन् । तानाशाहहरूले जनताको मनमा डर भर्न सक्छन् । आफूप्रति जनतामा प्रेम भर्न सक्दैनन् । सम्प्रदायका सदस्यहरू गहिरो भक्तिमा डुबेका छन् । यो अन्धविश्वास मात्र हो । अन्धविश्वास बोक्नेले कुनै नराम्रो कुरै देख्दैन, न त उसको बारेमा कुनै आलोचना नै सुन्न सक्छ । पार्टीका प्रवक्ता होस् वा साधारण मतदाता नै किन नहोस्, सबै उपलब्धिको श्रेय मोदीलाई मात्र दिन्छन् ।
असफलतामा चाहिँ ढाल बनेर हरेक आलोचनाविरुद्ध उत्रन्छन् । जसको पूजा गरिन्छ, पूजित व्यक्तिले हरहमेशा कट्टर बफादारी चाहन्छन् भन्ने होइन । ज्यादातर समय भक्तहरू आफैँ पूजा अर्पण मात्र गर्ने हुन् । जब पार्टीमा कसैले यस्तो गर्छ भने कुरा बुझ्दा हुन्छ, आखिर उसको नोकरी नै त्यसैमा टिकेको छ । मोदीले जे गरेपनि एक साधारण समर्थकले अर्थव्यवस्था सुधारको कदम देख्ने तर अन्य मोर्चामा विध्वंसककारी नीति मात्र देख्ने र त्यसलाई अस्वीकार गर्ने विषयलाई कसरी व्याख्या गर्ने? नेताले निर्देशन दिएकै भरमा मात्र साधारण दिमाग भएका लाखौं–करोडौं जनताले लकडाउनका बेला थाली पिट्न थाल्छन् भने यो कुरालाई कसरी बुझ्ने? यो विषय झन् संवेदनशील छ ।
यी सबै काम संस्थाको खर्चमा भइरहेको छ । भाजपा एक पुरानो पार्टी हो । सन् १९८० मा औपचारिक रूपमा यो दल गठन हुनुभन्दा थुप्रै अघिदेखि यसको इतिहास सुरु हुन्छ । राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) लगभग एक शताब्दी अघि गठन भएको थियो । नरेन्द्र मोदीको उत्पत्ति पनि त्यही परम्पराबाट आएको हुन सक्छ, तर अहिले उनलाई अगाडि ल्याइपु¥याउने संस्थाहरूभन्दा उनी धेरै शक्तिशाली भएका छन् । उनलाई अहिले यी दुवैको आवश्यकता छैन । भोट उनको नाममा आउँछ, भाजपाका नाममा होइन ।
जब उनको सरकारले हिन्दुत्ववादी नीति अगाडि बढाउँछ, यो उनका लागि फाइदाजनक नै हुन्छ किनभने यसको प्रतिफल चुनावी परिणाममा देखिन्छ । भलै सबै गलत कदमका बाबजुद पनि मोदीको लोकप्रियता कायमै छ । तर अझै लोकप्रिय हुनका लागि उनलाई यी कुरा भारी पर्छन् नै ।
कम्तीमा पनि तस्बिरका विषयले उनको विरासत कलंकित बनाइरहेको छ । यो देशलाई महानताको बाटोमा डो¥याउने व्यक्तिको रूपमा मोदीलाई सम्झिइयोस् भन्ने चाहना छ । तर उनको नेतृत्वमा भारतमा उच्च स्तरमा बेरोजगारी बढेको छ, महँगी चुलिएको छ र अर्थतन्त्रमा मन्दीबाट प्रभावित छ । जति नै ठूलो ’छविनिर्माण’ गरे पनि यी सबै कुरालाई छुपाउन नसकेको भने कटुसत्य हो । उनकै समयमा चीनले भारतीय भूमि अतिक्रमण गरेको कुरा पनि नकार्न मिल्दैन । अहिलेसम्म मोदीपथ वा मोदीवाद अपराजेय छ र निकट भविष्यमै चामत्कारिक रूपमा परिवर्तन भइहाल्छ भन्ने अवस्था पनि छैन । तर मोदीको लोकप्रियता लेपन÷जलप मात्र हो भन्ने संकेत चाहिँ देखिन थालेको छ । कम्तीमा पनि चुनावी परिणामले यो कुरा देखाउन थालेको पनि छ ।
पश्चिम बंगाल र महाराष्ट्रका मतदाताहरूले मोदीको दल बीजेपीलाई अस्वीकार गरेका छन् । बिहारका नीतिश कुमार फरक बाटोमा छन् । भारतका धेरैजसो दक्षिणी क्षेत्रमा अझै मोदी विजयी हुन सकेका छैनन् । निकट भविष्यमा उक्त क्षेत्रले घुँडा टेकिहाल्ने सम्भावना पनि छैन । अझ महत्त्वपूर्ण कुरा त, कठोरताका साथ प्रकट हुने वास्तविकताले भक्तहरूलाई समेत चोट पु¥याइरहेको छ ।
मुस्लिम नागरिकका घरहरूमा बुलडोजर हानेर वा अन्तर–धार्मिक दम्पतीलाई अपमानित गर्दा छोटो समयको लागि मात्र मानिसहरूलाई आफ्नो वशमा ल्याउन वा उनीहरूको ध्यान भड्काउन सकिन्छ । कुनै एक पथ÷वाद कायम राख्नका लागि अपराजेयताको मुखौटो कहिल्यै खस्नु हुँदैन । यसका लागि पर्याप्त स्रोत चाहिन्छ । सत्ता र शक्तिमा रहनु संवेदनशील कुरा हो । शक्ति र संस्थागत बल बिना चुनावमा विजयी हुन अभसम्भव छ । भाजपाविरुद्ध राजनीतिक असन्तुष्टिको हावा बलियो बन्दै गएको छ । अबका केही वर्षमा पक्कै पनि केही न केही परिवर्तन हुनेछ । त्यसबेला मोदीपथ या त दलभित्रबाटै विघटन हुनेछ वा विस्तारै आफ्नो शक्ति गुमाउँदै जानेछ ।
(द वायरमा प्रकाशित यो सामग्री नेपाल समयका लागी तीर्थराज निरौलाले भावानुवाद गरेकोमा नेपाल समयबाट साभार गरिएको । )