मंसिर ४ गते हुने प्रतिनीधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिदै जाँदा पर्सामा पनि चुनावी चहलपहल बढेको छ । प्रत्येक दलका क्षेत्रीय र जिल्ला कमिटिहरुले उम्मेदवारहरुको नाम सिफारिस गर्दै चुनावी रणनिति बनाउने काम गरिरहेका छन् । गठबन्धन सरकारले पनि दोस्रो चरणको निर्वाचन गठबन्धनबाटै गर्ने प्रतिबद्धता जनाइसकेको छ । मुलुक आम निर्वाचनको मुखमा छ । सबै पार्टी र जनता मंसिर ४ गतेको पर्खाइमा छन् । कार्यकर्तामा उत्साह बढेको छ । पाँच दलीय गठबन्धन सिटको भागबण्डामा लागेका छन् । समग्रमा सबै देशवासी र दल मंसिरमा निर्वाचन हुनेमा निश्चित भइसकेको अवस्था छ । पर्साकी चर्चित नेतृ करिमा वेगम पनि निर्वाचनमा उमेद्वारको आकाँक्षी छन् । आगामी निर्वाचनमा केन्द्रित रही उनै महिला नेतृ करिमा बेगमसँग गरिएको कुराकानी :
अहिले चुनावी माहोलमा तपाईको उम्मेदवारी प्रदेश कि संघमा ?
चुनावको अर्थ के हो ? भन्दाखेरी राजनीतिक परिवर्तन, देशको विकास र जनप्रतिनिधिहरुको निकास । यसैको लागि यो महत्वपुर्ण चुनाव हुने । म पनि २०६४ सालमा पर्साको क्षेत्र नं. १ बाट चुनाव लडेको थिए । जनताको साथले चुनाव जितेको थिए । अर्को पल्ट फेरी २०७४ सालमा प्रदेश सभा सदस्य भए । यही मंसिर ४ गते फेरी चुनाव हुन गईरहेको छ । यो चुनावमा म पनि पर्सा जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा दावेदारी राखको छु । म प्रत्यक्षबाट प्रतिनिधि सभामा चुनाव लड्न चाहन्छु ।
मेरो आकांक्षा र मेरो अनुभव जनताको काम गर्न, जनताको संरक्षणको लागि, जनताको विकासको लागि, पछाडी परेका वर्गहरुको हितमा काम गर्ने हो । उहाँहरुकोे समस्या राज्य र सरकार समक्ष पु¥याउने, अहिले पनि अनुभुति भएको छैन कि यो देशमा लोकतन्त्र, गणतन्त्र अएको छ । हामीले पनि अधिकार पाएको छु ? जुन अगाडिबसेको छ भने अगाडि बढ्दै गएको छ । जुन पछाडी बसेको छ त्यो अहिलेसम्म पछाडि नै परेको छ । म जनताको विचमा गइरहन्छु । महिला, बालबालिका, दलित, मुस्लिम महिलाको लागि धेरै काम गरेको छु । यो हेर्दा प्रत्यक्षमा उमेद्वार बनी जनताको काम गर्ने मेरो लक्ष्य छ । बाँकी त पार्टीले कसलाई अगाडी बढाउँछ त्यसमा नै भर पर्छ ।
यो प्रदेश शिक्षामा निकै पछाडी छ । तपाई पटक–पटक सांसद हुँदै मन्त्री पनि बन्नु भयो ? तपाईबाट मधेश प्रदेशले के पायो ?
अहिले धेरै परिवर्तन आएको छ । शिक्षाको विकासमा परिवर्तन भइरहेको छ । किन कि हाम्रो मधेश आन्दोलनपछि चुनाव जितेर जाने बितिकै देशमा जुन लोकतन्त्र गणतन्त्रको लागी लडाइ लडे । आज त्यही लडाइको कारण शिक्षामा पनि महिलाहरुको प्रतिनिधित्व बढेको छ । समावेशी समानुपातिक भएको छ । २ नं. प्रदेश कै कुरा गर्दा खेरी पाचँ वर्ष अगाडीको र अहिलेको तुलना गरेर हेर्दा धेरै फरक पाइन्छ । काठमाण्डौ पछिको दोस्रो महानगरपालिका वीरगंज महानगरपालिका नै हो । खाद्यान्न राजस्वदेखि लिएर हाम्रो भन्सारबाट जुन कर जान्छ । पुरै देशलाई नै चलाउने ( ७५ प्रतिशत ) पर्सा जिल्लाबाट जान्छ । २५ प्रतिशत अरु जिल्लाबाट जान्छ । अब त्यसलाई कुन हिसाबले हरेक ठाउँमा पक्ष र विपक्ष दुवै छ । पक्षले पक्षमा कुरा गर्छ । राम्रो गर्दा पनि विपक्षीले विपक्षमा कुरा गर्छ ।
तपाईलाई नै जनताले किन भोट दिने ? चुनाव जित्ने एजेण्डा के के छन् ?
मलाई भोट दिने आधार यो छ कि पहिला त जनतालई के चाहियो । जनतालाई परेको समस्यामा हाम्रो नेता, जनप्रतिनिधि अगाडी उभिदियोस् भन्ने हुन्छ । हाम्रो प्रतिनिधिले हाम्रो गाउँठाउँमा विकास गरिदियोस् । हाम्रो संरक्षण गरिदियोस् भन्ने हुन्छ । त्यो आधार म संग छ । कसैलाई केही समस्या पर्दा कुनै पनि बेला म जनताको बिचमा रहन्छु । मरण, हरण, विवाह अथवा केही समस्या पर्दा म गर्छु । कति हाम्रा अग्रज नेता छन् । फोन पनि उठाउनु हुन्न । फोन उठाउँनु पर्दा स्वीच अफ पनि गरिदिनु हुन्छ । तर म हरदम जनताको विचमा नै रहन्छु । म महिला त्यसमा पनि मुस्लिम । दिदिबहिनी मसंग खुलेर कुरा गर्नु हुन्छ ।
एक मधेश एक प्रदेशको कुरा धेरै उठ्यो ५ वर्षको सरकार पनि चल्यो । अब त्यो मुद्दा सेलायो ?
मधेश प्रदेश हाम्रो एजेन्डा थियो । मधेश प्रदेशमा एउटा पहिचान भयो । मधेश प्रदेश भइसकेपछि यो नेपालमा जुन मधेशीहरु छन् । उहाँहरुकै नाम जोडेको हो । मधेश प्रदेश आयो । यो राजधानी मधेश प्रदेशकै जनकपुर भयो । हाम्रो संख्या नपुगेको कारण हामी यता वीरगंजलाई राजधानी बनाउन सकेनांै । किन कि हाम्रो बारा पर्साको मात्रै सहयोगले पुग्न सकेन । त्यसैलै हामीले एउटै उपलव्धी पाए कि हाम्रो मधेश प्रदेश भयो ।
तपाई मुस्लिम महिला भएर राजनीति गर्दा कत्तिको चुनैतिको सामना गर्नु परेको छ ?
एउटा मुस्लिम महिला भएको कारणले चुनौति त थुुप्रै छ । विपक्षीले हेर्ने दृष्टिकोण जुन छ हाम्रो समाजमा त्यो सकारात्मक छैन । अर्को के छ भने विपक्षीहरुलाई लाग्छ कि यो महिला के नै गर्न सक्छ र ? तर म के भन्न चाहन्छु भने महिलामा शक्ति पनि छ र सहनशिलता पनि छ । ठूल्ठूला पहाडलाई पनि जित्न सक्ने क्षमता महिलामा हुन्छ । म जनतालाई के सन्देश दिन चाहन्छु भने म गरिब छु, मसंग पैसा छैन, म मुस्लिम महिला हँु, जो जस्तो भए पनि म जनतासंग भोट माग्ने छु ।
चुनाव लड्दा पैसा लाग्छ भन्ने पनि सुनिन्छ, यसलाई कसरी सामाना गर्नु हुन्छ त ?
जनता ईमान्दारीपूर्वक पैसा नलिइकन भोट जसलाई दिन्छन् । यो नेताले जनताको बीचमा कुनै पनि वेला उपस्थिति हुन्छन् भनेर । पैसा लिएर जुन जनताले भोट दिन्छन, त्यो नेताले उनीहरुलाई नै अवहेलना गर्दछ । किनकी त्यो नेताले त भोट सित्तैमा पाएको हुँदैन नि । पैसा फालेर किनेको भोटलाई उसले पनि उस्तै व्यवहार गर्छ । तर जनताले आफ्नो मनले पैसा नलिइ आफ्ना अमूल्य भोट दिएको छ भने नेताहरुले उनीहरुको कुरा सुनिदिन बाध्य हुन्छन् । ठूल्ठूला उद्योगी, करोडपति, ठेकेदारहरु चुनावमा उठ्छन् । उनीहरु र्पैसाले जित्लान तर म आफ्नो इमान्दरीताले जित्ने छु । मध्यम वर्गिय महिला हो । त्यसकारण मलाई अमूल्य मतले जिताउनु हुन्छ भने आशा राखेको छु ।
तपाईलाई चुनाव जित्न कसको साथ सहयोग चाहिन्छ ?
पहिला त मेरो परिवारको साथ चाहिन्छ । हाम्रो पर्सावासीहरुको साथ सहयोग र अमुल्य मत चाहिन्छ । हाम्रो पार्टीको सबै केन्द्रिय सदस्य र अध्यक्ष ज्यूले टिकट दिनु पर्छ । यो चुनाव जिते भनि यहाँको जनताको समस्याहरु पुरा गर्ने छु । महिलालाई समेट्ने थुप्रै ठाँउ छ । तर पाएको छैन । त्यसैले मेरो अनुरोध छ कि मलाई साथ सहयोग दिनु हुन्छ भन्ने विश्वास पनि छ । किनभने म एउटा मुस्लिम महिला हो । यस ठाँउमा मेरो अधिकार पनि रहन्छ । अल्पसख्याक छु । यसकारण मलाई मेरो पार्टीले विश्वास गर्छ भन्ने पनि हो ।
तपाई त सत्ता गठवन्धनधारी दलको नेता पनि हो । यसलाई कसरी लिनु भएको छ ?
गठबन्धन भयो भने चुनावमा जाँदा एउटा मजबुत शक्ति हुन्छ । तर गठवन्धन पनि कसैलाई तल खसाएर आफै माथि बनेर जाँदा त्यो गठवन्धनको आवश्यकता छैन । किनकी हाम्रो अधिकार पनि त्यति छ । जसको २० ओटा सिट छैन । त्यसलाई ९० ओटा सिट चाहियो र जसको ३५ ओटा सिट छ त्यसलालई १२ ओटा सिट दिने यो कहाँको नियम हो ? त्यसैले हाम्रो पार्टीले जे गर्छ उहाँहरुले सोचेर बुझेर गर्नु हुन्छ । राष्ट्रिय अध्यक्ष आफैमा विद्वान हुनुहुन्छ । मलाई विश्वास छ कि मुस्लिम महिला अल्पसंख्यक सबैलाई समान व्यवहार गर्नुहुन्छ ।