वीरगन्जको मुटु आदर्शनगरको ‘‘बब्लु टी स्टल’ को चिया भन्ना साथ चिया पारखीहरुको एकपटक मुख रसाइहाल्छ । त्यहाँको चियाको स्वादले धेरैलाई नलोभ्याई छोड्दैन । बिहान ४ बजेदेखि बेलुका ९ बजेसम्म बब्लु टी स्टलको चियाको चुस्की लिनेको उपस्थिति रहिरहन्छ । २५ बर्ष अगाडी राम निवास शर्माले सुरु गरेको यो चिया पसल अहिले यहाँको चर्चित चिया पसलका रुपमा रहेको छ । भारतको राजस्थान साविक घर भई ५३ बर्ष अगाडी वीरगन्ज आएर महावीर गल्लीमा एकाउन्टेनको काम गरेका शर्मा २७ बर्षपछि चियाको व्यवसाय तर्फ आकर्षित भएको पाइन्छ । पहिलेको ९ कक्षासम्मको अध्ययन गरेका शर्माले केही सयम मारवाडी फर्ममा पनि काम गरेको बताउँछन् । पछि शारिरिक र आर्थिक दुवै कारण जागिरभन्दा सानो लगानीमा व्यवसाय गर्ने सोचले यात्रा मोढेका उनी अहिले बब्लु टी स्टलका चर्चित व्यवसायी बनेका छन् । ७६ वर्षीय उनै रामनिवास शर्मासँग चिया व्यवसाय लगायतका बिषयमा केन्द्रित रही गरिएको कुराकानी :
चियाको व्यवसाय थाल्नु भएको कति वर्ष भयो ?
चिया व्यवसाय २५ वर्ष पहिले सुरु गरेको हो । पहिला खासै व्यापार हुुदैनथ्यो । २७ बर्ष पहिला जागिरे म त्यसपछि चिया बेच्न थालें । सुरुमा कित्लीमा चिया बोकेर अफिस–अफिसमा गएर १ रुपैयाँमा बेच्थे । चिया पसल खोलेको २५ वर्ष भयो ।
राजस्थानको मान्छे अर्काको ठाउँमा आएर यस्तो व्यवसाय गर्न कसरी मन लाग्यो ?
भारतको राजस्थान पहिले अहिले जस्तो सुविधा सम्पन्न थिएन । त्यसैले कामको खोजी गर्दै वीरगंजमा ५३ वर्ष अगाडी आएको हो । मेरो विवाह पनि वीरगंजमा नै आएर भयो । पहिला एकाउन्टको काम गर्दा हात काप्ने भएर मोतियाविन्दु लागेर त्यो काम छोडेर चियाको व्यवसाय तर्फ लागेको हो । चिया व्यापार गर्न सजिलो हुने र लगानी पनि धेरै नलाग्ने भएकोले जागिर छोडेपछि यो व्यवसाय तर्फ मन मोडियो ।
व्यवसाय सुरु गर्दा कति लगानीबाट गर्नु भयो ? अहिलेको व्यापारको अवस्था कस्तो छ ?
सुरुमा एक हजार नेपाली रुपैयाबाट यो व्यवसाय सुरु गरेको हो । चिया व्यवसाय सुरु गर्न धेरै लगानी लाग्दैन । पहिला व्यापार गर्दा भाडा लाग्दैन्थ्यो, तर अहिले महिनाको ६० हजार रुपैयाँ भाडा नै तिर्नु पर्छ । पहिले दिनको १ सय कप चिया बिक्री हुन्थ्यो भने अहिले दिनको ७ सय कप चिया बिक्री हुन्छ । यो व्यापार गरेर ३ वटा छोरा पढाएँ । तीनै जनाको विवाह पनि गरिदिए । पहिला एक कपको १ रुपैयाँ पथ्र्यो । अहिले ५० रुपैयासम्ममा एक कपको पर्न थाल्यो । यहाँ चिया खाने मानिसको भिड हुन्छ । यहि चिया बेचेर तिन तल्लाको घर बनाए । एक लिटर दुधको १२ कप चिया बन्छ । दिनमा ६० देखि ७० लिटर दुध खपत हुन्छ ।
व्यापार गर्न लगानी र मेहनत कुन बढी खर्च गनुृ पर्छ ?
व्यापार गर्न लगानीभन्दा पनि मेहनत बढि गर्नुपर्छ । लगानी गरेर मात्र हुदैन । आफ्नो मेहनत र लगानी दुवै भयो भने मात्र व्यापार राम्रोसँग चल्छ । मैले चिया पसल खेल्न लगानी लगाएको छैन । तर मेहनत धेरै लगाएको छु । मैले कम लगानीमा व्यापार बढाएँ । चिया बेच्ने पसलमा केही लगानी गर्नु पर्दैन । कमायो यसैमा लगायो यति गरे पुग्छ । अहिलेका यूवाहरु नेपालमा काम पाउदैन भन्दै विदेशीएका छन् । मेहनत गर्नेलाई नेपालमा नै सबैथोक छ । नगर्नेलाई जहाँ गए पनि केहि छैन । बिहान ४ बजेदेखि बेलुका ९ बजेसम्म ब्यापार संचालन गर्छु । मेहनत भयो भने नेपालमा नै पैसा आर्जन गर्न सकिने रहेछ ।
अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
पहिला–पहिला मान्छेमा विश्वास हुन्थ्यो । एकअर्कोमा भरोसा हुन्थ्यो । अहिलेका मान्छेमा विश्वास छैन । पहिलाका मानिसलाई सडकमै बस्दा सुत्दा पनि डर थिएन । तर अहिले मान्छेबाट मान्छे नै डराउनु परेको छ । विकास भयो, ठूलाठूला महलहरु बने । तर मान्छेको मन कचरा भयो । मान्छेले मान्छेलाई चिन्न छोड्यो । महलको विकास भयो तर मनको विकास भएन । अहिले समाजमा भ्रष्टाचार बढेको छ । अहिलेका मान्छेहरु सत्य बोल्दैनन्, झुट धेरै बोल्छन्, त्यस कारणले गर्दा पनि मान्छेलाई मान्छेको विश्वास छैन । पहिलाका मानिसहरु मिलेर बस्थे । तर अहिलेका मानिसहरुमा पैसासंग मात्र मतलव छ । सबैले आफ्नो सोचलाई परिवर्तन गर्ने हो र मेहनत गर्ने हो भने स्वदेशमा नै राम्रो आम्दानी सम्भव छ ।