वीरगंज । नेपालीहरुको महान चाड दशैँ आउन केहि साता मात्रै बाँकी छ । दशैँका लागी हुने किनमेल र यसको व्यवस्थापनका लागी व्यापारीहरु जुटिसक्नुपर्ने हो तर अहिले मुलुककै प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय यतिबेला सुनसान बनेको छ । भारत र भारत भएर तेस्रो मुखुकबाट समान भित्राउने मुख्य सिजनमा पनी भन्सार नाका सुनसान बनेको छ ।
गतवर्ष यो समयमा भन्सार कार्यालयमा आयातकर्ता, क्लियरिङ एजेन्ट, व्यवसायी, देखि गाडीहरूको लाइन नै लाग्ने गर्दथ्यो । तर अहिले नाका मै चहलपहल छैन् । दशैंका लागी विभिन्न बम्पर उपचार योजना लगायतको अफर राखेर सवारी साधन, ईलेक्ट्रोनिक्स, भाडाकुडा लगायत विभिन्न मालबस्तुको विक्रि वितरणका लागी भारत र भारत भएर तेस्रो मुलुकबाट आयात गर्ने मुख्य बेलामा सिमानाकाहरुमा चहलपहल यसवर्ष देखिएको छैन् । जबकी यसबेला व्यापक भिडभाड क्लियरिङ्ग एजेन्टहरुको ठेलमठेल हुनुपथ्र्यो तर यसपालि दशैंको मुखमा वीरगंज भन्सार मातहतमा रहेको वीरगंजको अलौं एकीकृत भन्सार चेकजाँच चौकी अहिले सुनसान बनेको छ ।
बैंकले ऋण कर्जामा कडाइ र नेपाल सरकारले आर्थिक तरलताको कारण विलासी वस्तुको आयातमा प्रतिबन्ध गरेपछि मुख्य भन्सार कार्यालय अहिले सुनसान बनेको हो । पोहोरभन्दा यसपालि ५० प्रतिशतभन्दा कम मालवस्तु आयात भइरहेकाले भन्सार कार्यालयमा चहलपहल देखिएको छ्रैन् । गतवर्ष दशैँ आउनुअघि यस कार्यालयले दैनिक सात सयदेखि आठ सय गाडी आइसिपी नाका भएर वीरगंज भित्रने गर्दथ्यो तर यसवर्ष मुस्किलले दैनिक ३ सय देखि ३ सय ५० वटा सम्म गाडी भन्सार कार्यालयमा आउने गरेको छ ।
नेपालबाट भारतमा समेत निर्यात हुने ‘तेल’ यसका लागी चाहिने कच्चा पदार्थको मात्रै दैनिक ८० देखि एकसयवटा सम्म गाडी आउने गर्दथ्यो तर अहिले मुश्किलले २०/२५ वटा मात्रै गाडी आउने गरेको छ । त्यस्तै भन्सार कार्यालयमा मकै, धान, चामल, फलामजन्य कच्चा पदार्थ, ट्रेडिङ्गका सामान, सिमेन्ट बनाउने कच्चा पदार्थ, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामान बोकेको गाडीले भिडमभिड हुने गर्दथ्यो तर प्राय समानको आयात पात्लीदैँ गएको देखिन्छ ।
आइसिपी सञ्चालन गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति आइसिपी शाखाका प्रमुख कमल ज्ञवालीका अनुसार पोहर भन्दा यसवर्ष प्राय हरेक प्रकारका मालवस्तुको आयातमा कमी आएको छ । नेपाल राष्ट्र बैंक र वाणिज्य मन्त्रालयको सर्कलुरका कारण प्रतिबन्धित सामानको आयात रोकिदा राजश्वमा समेत यसको असर परेको छ । चालू आवको अन्तिममा आईसक्दा कुल ३२ अर्ब ६२ करोड राजस्व सङ्कलन गर्ने वीरगंज भन्सारले लक्ष्य पाएकोमा जम्मा २५ अर्ब ९५ करोड राजस्व सङ्कलन भएको बताए । लक्ष्यको अनुपातमा २० प्रतिशतभन्दा कम राजस्व सङ्कलन भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।