शेख अब्बास वीरगंजवासीको लागि अब नौलो नाम भने पक्कै भएन । स्व. बुबा शेख इद्रिश र आमा आसमा खातुनको कोखबाट २०२८ साल चैत्र २० गते वीरगंज महानगरपालिका वडा न. २ मा जन्मिएका अब्बास हाल वीरगंज महानगरपालिका वडा न. २ का निर्वाचित वडा अध्यक्ष हुन् । पाँच दाजुभाइ र तीन दिदिबहिनी मध्येका सबैभन्दा जेठो सन्तान हुन् अब्बास । राजनीति क्षेत्रमा २०६२ साल देखि रास्ट्रिय जनता पार्टिमा आबद्ध भएका अब्बास हाल स्थानीय स्तरको निर्वाचनमा सघिय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका हुन् । समाज सेवामा निस्वार्थ भई कार्य गरेकै कारण आज उनले जनताको विश्वास जित्न सफल भए । यो अंकमा मध्य नेपाल सन्देशले तिनै बिरगंज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष शेख अब्बाससंग समसामयिक विसयमा गरिएको कुराकानी :-
१) वडा न. २ लाई समृद्ध बनाउन के के योजना बनाउनु भएको छ ?
सबै भन्दा पहिले हामीले जनताको हितको लागि काम गर्नु पर्दछ । जसमध्ये सडक, नाला विजुली पर्दछ । यसको चुश्तता सँगै अहिले हाम्रो बाटोमा माटो भर्ने काम भएको छ । अब आउँदो आर्थिक वर्षको बजेटले पिच गर्ने योजना छ ।
२) यस वडाबासीलाई घर घरमा सिंहदरवार आएको महसुस गराउन सक्नु भएको छ ?
घर घरमा सिंहहदरवार आएको महसुस गराउन हाम्रो प्रयास जारी नै छ । हमीले त सिंहदरवारभन्दा पनि राम्रो बनाउने हाम्रो सोच हो । तर यहाँको मानिसमा चेतना कमी र स्रोतसाधनको अभाव भएको कारणले गर्दा पनि हामीले उहाँहरुलाई चाहेजति सेवा सुविधा दिन सकिरहेका छैनौ । तर प्रयासरत छौ ।
३) नगरसभामा राखिएको योजना पारित गर्नलाई कतिको कठिनाई या सहज भयो ?
योजना पारित गर्न खासै कठिनाई भएन । सहजैसंग पारित भए । योजना अनुसारकै कार्यहरु पनि भए ।
४) २ न. वडामा झण्डै ६० प्रतिशत मुस्लिम समुदायका मानिसहरु छन् । त्यहाँका महिलाहरु बाहिर निस्कन अलि कठिन पनि होला । महिलाहरुको लागि के योजना ल्याउनु भएको छ ?
मुस्लिम समुदायको बाहुल्यता बढी भए पनि यहाँका महिलाहरुलाई बाहिर निस्किन पहिले जस्तो गाह्रो भने छैन । हामीले सिप सिकेर आफै आत्म निर्भर बन्न चाहने महिलाहरुका लागि सिलाई कटाई तथा ब्यूटिसियन जस्ता तालिमहरु संचालन गराएका छौ ।
५) बेरोजगार युवाको लागि के योजना बनाउनु भएको छ ?
यहाँका बेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्नका लागि कम्प्यूटर तालिम, पढे लेखेकाहरुका लागि बिजुलीको वायरिङ्ग सम्बन्धी तालिमहरुको योजना छ । त्यसको साथ साथै शिक्षाको बारेमा पनि महिला तथा बालबालिकालाई जनचेतना मुलक कार्यक्रमहरु ल्याउने योजना छ ।
६) तपाईले आफ्नो वडामा के कस्ता समस्याहरुको पहिचान गर्नु भएको छ ?
हाम्रो यस वडामा धेरै समस्याहरु छन् । सार्वजनीक शौचालयहरु छैनन् । धर्मशाला छैन । बाटोघाटोको अवस्था पनि उस्तै छ । यी सबै समस्याको निराकरण गर्न यस वर्षको बजेटमा कार्य योजना बनाएका छौ । यस वडामा स–साना सार्वजनीक सम्पतिहरु छन् । त्यसै सार्वजनीक जग्गाको सदुपयोग गरी शौचालय, धर्मशाला बनाएर पर पाहुँना आउँदा बस्ने व्यवस्था मिलाउने योजना छ । यसको साथ साथै बाटो घाटोलाई पनि यहि बजेटमा बनाउने समावेस गर्ने योजना छ ।
७) तपाईलई यस वडामा काम गर्न कतिको सहजता छ ?
खासै गाह्रो त छैन । जुन एजेण्डा हामीले बनाएका थियौ । त्यो सजिलै पारीत भयो । र यहाँका वडाबासीको म माथि सहयोग पनि मिलेको छ त्यसैले गर्दा पनि होला यस वडामा काम गर्न अरु वडामा जस्तो कुनै किसिमको कठिनाई छैन ।
८) यस वडाको अभिभावको रुपमा हुनुहुन्छ । पहिले र अहिले के फरक पाउनु भएको छ ?
पहिला त म एउटा पार्टीको मान्छे मात्र थिए । अहिले वडाको अभिभावकको रुपमा उभिदा धेरै जिम्मेवारीहरु थपिएका छन् । दायित्व पनि बढेको छ । पहिले खुल्ला थिएँ । अब जिम्मेवारीमा बाधिएको छु । पहिले जस्तो आफ्नो बारेमा मात्रै सोचेर हुदैन । पुरै वडाको बारेमा सोच्नु पर्छ । सबैलाई समेटेर सहकार्य गरेर अगाड िबढ्नु पर्ने दायित्व महसुस गरिरहेको छु ।
९) यस वडाको विकासको लागि तपाईले क कस्का साथ र सहयोगको आवश्यकता महसुस गर्नु भएको छ ?
मैले सबैको साथ र सहयोगको आवश्यकता महसुस गरेको छु । महानगरपालिका देखि लिएर गाउँ समाज, टोल, छिमेकी आफ्ना हितैसी साथीभाई सबैको साथ र सहयोगको आवह्यकता महसुस गरेको छु ।
१०) अमूल्य मत दिएर जिताउनु हुने जनतालाई तपाई के भन्न चाहानु हुन्छ ?
मलाई अमूल्य मत दिएर जिताउनु हुने सम्पूर्ण वडाबासीलाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु । उहाँहरुले जुन विश्वासले मलाई जिताउनु भएको छ । उहाँहरुको विश्वासलाई कायम राखी जनसेवामा सधै समर्पित हुने विश्वास दिलाउन चाहन्छु । यस वडामा जनतालाई आवश्यक पर्ने सबै कुराको बिस्तारै बिस्तारै आवश्यकता पूरा गर्दै जाने छु ।