हेर्दाहेर्दै हरेक बर्षझैं यो बर्ष पनि नेपालीहरुको महान् चाड बडादर्शै हरेक नेपालीहरुको घर आँगनमा आइपुगेको छ । विगतका केही बर्ष विश्व कोरोना महामारीको चपेटामा यो पर्व पनि लपेटिंदा निकै खल्लो तरिकाले नेपालीहरुले मनाएको अझै विर्सका छैनन् । अविश्मरणीय क्षण अझै ताजै छ । तथापि यो बर्ष भने त्यो अवस्था छैन । त्यसैले पनि हिन्दुर्मालम्बीहरुले यो पटकको दशैं भने निकै खुलेर मनाउन थालेको देखिन्छ ।
त्यसको झल्को शहरहरु रित्तिंदै गाउँहरुमा मानिसको आवागमन बढ्न थालेको वास्तविकताले पनि यो पटक दशैंको चहलपहल अलि बढेको संकेत गर्छ । कोरोनाले विगतका केही बर्ष ठूलै धनजनको क्षति व्यहोरेको नेपालले अहिले निकै उल्लासमय पर्व मनाउन नसके पनि अघिल्ला बर्षभन्दा यो वर्षको पर्व निकै बिशेष बन्ने नै छ । तर बिडम्वना नै भन्नु पर्छ । नेपालमा तीन तहका सरकारको लाचारीका कारण देशभरका सडक सञ्जालको स्तरउन्नति र सुदृढ कहिले नहुँदा निश्चित समयमा गाउँघर पुगेर आफ्ना आफन्तहरुसँग पर्व मनाई पुनः गन्तव्य फर्कने कामकाजी मानिसहरुले भने यो बर्ष पनि सडकमा नराम्रोसँग सास्ती खेप्न पर्ने बाध्यता जिवित नै छ ।
छोटो दूरीमा आवागमन गर्नेले विभिन्न विकल्प निकाली केही विलम्ब नै भए पनि पारिवारिक जमघट गर्न सके पनि लामो दूरीको यात्रा अर्थात देशका विभिन्न ठाउँ र विदेशबाट पनि स्वदेश फर्कने नेपालीको लागी भने सडकको कारण नै चाडपर्वको घेटघाट र उल्लास खल्लो बन्ने देखिन्छ । सडक अवस्था जीर्ण र स्तरीय नहुँदा सडकमा हुने जाम मात्र नभई दूर्घटनाको कारण पनि त्यतिकै हुने भएकोले राज्य पक्ष थप जिम्मेवार बन्न जरुरी छ ।
सडकको कारण जनताको जीउधन उठिवास पार्ने अदृष्य कारणलाई वेलैमा पहिचान गर्न र न्यूनिकरण गर्न नसके कुनै व्यवस्था बद्लिदैमा जनताको जीवनस्तर बद्लिन्छ भन्न सकिन्न । यो कुराको हेक्का सबै सरकारहरुलाई हुन जरुरी छ । यसको साथै सवारी चालक र यात्रीहरुले पनि सडकमा हिड्दा अपनाउन पर्ने सबै सावधानी गम्भिरतापूर्वक अपनाउन जरुरी छ ।
तब मात्र चाडपर्वमा गरिने रमाइलो र भेटघाटको सार्थकता अझ राम्रो बन्न सक्छ । नत्र चाडपर्वले ल्याउने खुसीभन्दा बढि दुःख र वितृष्णा आइपर्ने सम्भावना नकार्न सकिन्न । दुःख जिलो गरेर संकलन गरेको आर्थिक व्ययभारलाई पनि आम नेपालीले खर्च गर्दा मितव्ययिता अपनाउन आवश्यक छ । पर्वका नाममा अनावश्यक खर्च गरेर बाँकी बर्षभरीलाई तनाव हुने काम कसैले पनि गर्नुहुन्न । यसले केहीदिनको रमाइलो बर्षभरी नै नविर्सने कारण बन्न सक्छ । त्यसैले सबै नेपालीले अरुको देखासिकी गरी खर्च गर्ने बानीलाई बढ्न दिनु हुन्न ।
अतः मुलुकको भविष्यको ठेक्का लिएका जिम्मेवार दल र नेता कार्यकर्ताका हुँकारमा चलेका सरकारहरुले सर्व प्रथम देशैभरको सडक सञ्जाल स्तरीय बनाउन वडादशैं २०७९ ले सबैलाई सद्बुद्धि प्राप्त होस् । यसको अलावा सडक सञ्जाल प्रयोग गरी पारिवारिक जमघटमा रमाउने चालक र यात्रीहरुको सावधानी पनि विगतका बर्षभन्दा सुदृढ बन्दै जाओस् । अन्त्यमा २०७९ को वडादशैंले सम्पूर्ण नेपालीको सुख, शान्तिका लागि हरेक नेपाली मनमा खुसीयाली लिएर आओस् ।
यसको अतिरिक्त हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तक र सभेच्छुक सबैको जीवनमा सुख, शान्ति ऐश्वर्य छाओस् । यो पटकको महान् पर्व वडादशैंको पावन अवसरमा मध्यनेपाल सन्देश सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।