वीरगंज । गठबन्धनबाट जसपा बाहिरीएरसंगै नेपाली काग्रेशलाई पनि सिटको भागबण्डा मिलाउन सहज भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र जसपा बीच चुनावमा गठबन्धन गर्ने सहमति भएको छ । सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधिसभामा १७ सिट दिने भएको छ । यस्तै प्रदेश प्रदेशसभामा ४२ सिट जसपाले पाएको छ ।
सत्ता गठबन्धनबाट बाहिरीएर जसपाले एमालेसंग गठबन्धन गरेर चुनाव लड्ने सहमति गरेसंगै पर्साको ४ वटा निर्वाचन क्षेत्रमा दुबै दलले २/२ वटा क्षेत्र बाडफाँड गरेका छन् । जसअनसार पर्सामा क्षेत्र नं. १ र क्षेत्र नं. २ जसपाले पाएको छ भने क्षेत्र नं. ३ र क्षेत्र नं. ४ नेकपा एमालेले पाएको छ ।
दुबै दलको सहमति अनुसार एमाले–जसपा गठबन्धनका जसपातर्फबाट पर्सा क्षेत्र नं. १ मा बाहालवाला बन तथा वातावरण मन्त्री प्रदीप यादव र क्षेत्र नं. २ बाट सुरेन्द्र कुर्मी लड्ने भएका छन् । यस्तै, सोही गठबन्धनका एमालेतर्फबाट पर्सा क्षेत्र नं. ३ मा पूर्वसांसद राजकुमार गुप्ता र क्षेत्र नं. ४ बाट जालिम मियाँ लड्ने पक्का भएको छ ।
जसपाले सत्ता गठबन्धन नेपाली कांग्रेससंग साटघाट तोडेसंगै गठबन्धनले पनि पर्साको क्षेत्र नं. ३ र क्षेत्र नं. ४ मा उम्मेदवार टुंगो लगाईसकेको छ । सत्ता गठबन्धनका कांग्रेसतर्फबाट पर्सा क्षेत्र नं. ३ मा पूर्वमन्त्री सुरेन्द्र चौधरी र क्षेत्र नं. ४ मा कांग्रेसकै रमेश रिजाल चुनाव लडुने टुंगो लागिसकेको छ । जसपा गठबन्धनबाट बाहिरीएसंगै पर्सा क्षेत्र नं. १ र क्षेत्र नं. २ पनि कांग्रेसले नै पाउने सम्भावना बढेको छ ।
गठबन्धनमा कांग्रेससंग रहेको नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र भर्खरै छिरेको लोसपाको पर्सामा त्यती पकड बलियो नभएकाले पर्साको ४ वटै निर्वाचन क्षेत्र कांग्रेसले नै पाउने सम्भावना बढेको छ । गठबन्धनका अन्य दललाई प्रदेश सभा सदस्यको सिट दिई क्षेत्र नं. १ र क्षेत्र नं. २ पनि कांग्रेसले नै पाउने छलफल भइरहेको छ । सहमति मै टुङ्गिने लगभग पक्का भए पर्सा क्षेत्र नं. १ मा गठबन्धनको कांग्रेसतर्फबाट अजय द्विवेदी र क्षेत्र नं. २ बाट अजय चौरसिया लड्ने देखिन्छ ।
यस अनुसार पर्सा क्षेत्र नं. १ मा नेकपा–जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादव र कांग्रेसका उम्मेदवार अजय द्विवेदीबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ भने क्षेत्र नं. २ मा कांग्रेसका अजय चौरसिया र जसपाका सुरेन्द्र कुर्मीबिच प्रतिस्पर्धा हुनेछ । यसैगरि पर्सा क्षेत्र नं. ३ मा कांग्रेसका सुरेन्द्र चौधरी र एमालेका राजकुमार गुप्ताबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ भने क्षेत्र नं. ४ मा कांग्रेसका रमेश रिजाल र एमालेका जालिम मियाँबिच कडा ठक्कर हुने देखिन्छ ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले नैतिकता बिर्सेर पद र स्वार्थको लागि एमालसंग गठबन्धन गरेको कतिपयको तर्क छ । तर जसपा र एमाले गठबन्धनले मधेशमा जसपाभन्दा बढि एमालेलाई नै फाईदा हुने जानकारहरु बताउँछन् । बढि सिट पाउने स्वार्थले जसपा एमालेसंग गठबन्धन गरेकोले जसपालाई पनि फाईदा हुन सक्ने कतिपयको तर्क छ । गठबन्धनबाट जसपा बाहिरीपछि मधेश प्रदेशमा कांग्रेसलाई पनि फाईदा हुने जानकारहरु बताउँछन् ।