वीरगंज । वीरगंज महानगरपालिका वडा नं. ३२ मा पर्ने कियासोत खोला नेपालका ठुला उद्योगीहरुको कब्जामा परेको पाईएको छ । जगदम्बा सिमेन्ट तथा कंक्रिट उद्योग, त्रिवेणी उद्योग र शिव शक्ति उद्योगले खोलालाई कब्जा गरेर त्यसमाथि उद्योगका संरचना बनाएको पाईएको हो । साथै खोलाले छोडेको बगर त अहिले यी उद्योगीहरुको निजी जमिन जस्तै बनेको छ ।
जगदम्बा सिमेन्ट उद्योगले एक सय ४८ कठ्ठा सार्वजनिक जमिनमा कमपाउण्ड वाल नै लगाएर संरचना बनाएको छ । शिव शक्ति केमो प्लास्टिक उद्योगले खोलामा पाईम हालेर त्यसमा प्लानट बनाएको छ भने त्रिवेणी स्पिलिङ्गले साढे एक बिग्हा हडपेर प्रखाल बनाएको छ । यस विषयमा स्थानीयले २०७४ सालमा देखी प्रहरी प्रशासनदेखी महानगरसम्म पटक पटक उजुरी दिएका छन् । तर ठुला उद्योग र संचालकहरुको दबाबमा यी निकायहरुले फाईल पल्टाएर हेर्ने फुर्सत नै पाएका छैनन्, आँट नै गरेका छैनन् । कुनै समय पर्सा जिल्लाको जमिनमा सयों विग्हा सिचाई गर्न पानीको एक मात्र स्रोत रहेको कियासोत खोला अहिले नालामा परिणत भएको छ । बनजगंलबाट बग्दै आएको कियासोत खोला र खोलाको किनारको १० विग्हाभन्दा बढि सार्वजनिक बगर उद्योगिहरुको निजी सम्पति भएको छ ।
२०५४ सालमा ४ करोडको लागतमा बनेको बागमही बाँधसम्म स्थानीय आउने जाने गरेकोमा आफ्नो निजी सम्पति सरह जगदम्बा सिमेन्ट, त्रिवेणी उद्योग र शिव शक्ति उद्योगले बाउण्डरी वाल नै लगाएरे कब्जा गरिसकेका छन् । अहिले बागमही बाँधसम्म पुग्न पनि यी उद्योगको गेट छिरेर जानु पर्छ । उद्योगभन्दा अगाडी कियासोत खोला ७० फिटभन्दा बढि चौडा छ । तर उद्योग पारि खोला ह्युम पाईपमा परिणत भएको छ । जगदम्बा र शिव शक्ति कारखानाको बिच भएर उत्तरतर्फबाट कियासोत खोला बगेको छ । उक्त क्षेत्रमा कियासोत खोला र बगरको जमिन उद्योगले काँटे तारवारसहित कमपाउण्ड वालले घेरिएको छ ।
यति मात्रै होईन, त्यसमाथि संरचना नै बनाईएको छ । जगदम्बा सिमेन्ट उद्योगले मात्रै तत्कालिन चोर्नी गाबिसको वडा नं. ७ को किता नं. ३५ को ७ कठ्ठा, किता नं. ५९ को ११ कठ्ठा, किता नं. १२१ को १ बिगहा २ कठ्ठा, किता नं. १२२ को १ बिगहा ३ कठ्ठा, किता नं. ११६ को १ बिगहा १३ कठ्ठा र किता नं. १४८ को अढाई कठ्ठा जग्गामा बाउण्डरी वालसहितको संरचना बनाएको छ । शिव शक्ति केमो प्लास्टिक उद्योगको उत्तर र पूर्वतर्फ प्रखाल लगउँदै सार्वजनिक जग्गा हडपेको छ । जगदम्बा सिमेन्टले २०७४ सालमा पूर्वपठ्ठिको पुरै नदि अतिक्रमण गरेर कमपाउण्ड वालसंगै नयाँ प्लान्ट राखेको छ । शिव शक्ति केमो प्लास्टिक उद्योगले जगदम्बाकै सिको गरि नदीमा विलडर जडान गरि सोही वर्ष नयाँ प्लान्ट स्थापना गरेको थियो ।
‘‘उद्योग नभएको बेला कियासोत खोलाकै पानीले खेतीपाति हुनुका साथै गाई भैसीलाई चराउने, नुहाउनेदेखी स्थानीयसमेत त्यही खोलामा नुहाउने गर्थे, स्थानीय अमिर महतो बताउँछन् ।’’ तर उद्योग संचालनमा आएदेखी नै खोलाको अस्तित्व गुम्दै अहिले उद्योगहरुले बिशालुजन्य पद्धार्थ फाल्न नालाको रुपमा प्रयोग गर्दै आएको महतोले गुनासो गरे । जगदम्बा सिमेन्टका संचालक अंकित अग्रवाल र शिव शक्ति केमो प्लास्टिक उद्योगका संचालक रतने श्रीवास्तवले रातारात सार्वजनिक जग्गा आफ्नो दाउमा पारिसकेको स्थानीय बताउँछन् । यी उद्योगहरुबाट निस्केको क्यामिकल पानी फाल्न कियासोत खोला नै कब्जा गरेको अर्का स्थानीय रामएकबाल यादवले बताए । यी उद्योगहरुबाट निस्किने फोहोर धुवा झै उडी यस क्षेत्रआपासका बिग्हौं जमिन बालीलाई असर पारी उब्जाउ जमिनलाई समेत क्षति पुुुु¥याईरहेको यादवको भनाई छ ।
त्यसैगरि ९ वर्ष पहिले चोर्नीको वडा नं. ७ को किता नं. १२६ को १ बिगहा २ कठ्ठा जग्गा त्रिवेणी स्पिलिङ्गले मिचेको छ । सार्वजनिक सम्पति हडपीने गर्दा स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा २०७४ साल चैत्र ६ गते तत्कालिन प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरेलाई निवेदन दिएका थिए । तर पटक पटक आधि दर्जन प्रमुख जिल्ला अधिकारी फेरिदा पनि त्यस विषयमा कुनै ठोस कदम चालेको छैन् । जसले गर्दा कियासोत खोला सिचाई गर्ने किसानहरु अहिले पम्पिङ्ग सेटमा निर्भर हुन पुुगेका छन् । खोला वरपरको सार्वजनिक जग्गा उद्योगले कब्जामा लिई कियासोत खोलामा उद्योगबाट निस्किने कचरा, तेजाबजन्य पानी फाल्ने हुँदा सो पानीले बाली नै नष्ट हुने हुँदा पम्पिङ्ग सेटबाट सिचाई गरिहेको स्थानीय कृषक जगरनाथ राउतले दुखेसो पोखे ।
लाखौं किसानको भविष्यसंग जोडिएको कियासोत खेलालाई तिन उद्योगले नालामा परिणत गरिदिएका छन् । खोलालाई निजी उद्योगले आफ्नो बेवा बनाए पनि स्थानीय सरकार तथा प्रशासन भने मौन देखिएका छन् । उद्योग बनाउने नाममा खोला अतिक्रमण गरेका यी उद्योगको विषयमा स्थानीयले पटक पटक आवाज नउठाएका पनि हैनन् । तर पहुँचवाला उद्योगीको अगाडी स्थानीयको केही चलेन् । कियासोत खोलाको बगर चौडा भए पनि उद्योगले एलानीमै उद्योगको टयाङकी बनाएको स्थानीय रामएकबाल यादवले बताए ।
धेरै नै चौडा रहेको कियासोत खोलाको बगर उद्योगले केही स्थानीय अगुवालाई आर्थिक प्रभावमा पार्दै विस्तारै विस्तारै पुरै हडपेको यादवको भनाई छ । तर ५ जना गाउँले अगुवाले संरक्षण गर्दा ५/७ जना अगुवाले बिरोध पनि नगरेको भने छैन् । तर पहुँच र पैसाको बलमा ती उद्योगले खोला र सार्वजनिक जमिनलाई अतिक्रमण गरेको यादवले बताए । यस विषयमा यी उद्योगका संचालकहरुसंंग बुुझ्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।
सार्वजनिक र निजी सम्पतिको विवरण राख्ने निकाय नापी कार्यालयको नापी शाखामा प्रष्ट देखाएको छ कि यो खोला संगसंगै बगर सार्वजनिक जग्गा हो । जुन नेपाल सरकारको राष्ट्रिय सम्पति हो । प्राप्त प्रमाण हुँदा हुँदै पनि यी उद्योगहरुले हडपेको जमिन फिर्ता गराउन कुनै पनि निकाय लागि परेका छैनन् ।
यता, वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले उद्योगहरुले मिचेको कुलो वा खोलालाई पुरानै अवस्थामा ल्याउन पहल थालिसकेको बताउँछन् । जिल्ला प्रशासन कार्यालय, वीरगंज उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय लगायतको समन्वयमा कुरा गरे अतिक्रमित सार्वजनिक सम्पति खोला, कुलोलाई पुरानै अवस्थामा फर्काउन महानगरले कदम चालिसकेकोले यसमा कुनै किसिमको महानगरले सम्झौता गर्दैन भने कुरामा ढुक्क हुन मेयर सिंहले आवश्वस्त पारे ।
सार्वजनिक सम्पति नापी कार्यालय वा मालपोत कार्यालयको मिलेमतोमा कसैले निजीकरण गरेको छ भने महानगरले कडा कदम चाली पुनः सम्पति फिर्ता ल्याउन मेयर सिंहले प्रतिबद्धता जाहेर गरे ।