बुवा रामजी राउत र आमा प्रमपति यादवको कोखबाट वि. स. २०२८ साल माघ ५ गते जगरनाथपुर गाउँपालिका वडा नं. ६ सन्ठी स्थित जन्मेका तिर्थराज यादव विगत २५ वर्षदेखि शिक्षक पेशामा आबद्ध छन् । उनी हाल श्री ने. रा. आधारभूत विद्यालय देउरिया पर्सामा कार्यरत छन् । २०४७ सालमा एस. एल. सी उतिर्ण गरी बि. ए. सम्मको अध्ययन पुरा गरेका नेपाल शिक्षक संघ पर्साको अध्यक्ष समेत रहेका यादवले राजनीति हस्तक्षेपको कारण समुदायिक विद्यालयको पठनपाठन प्रभावित हुने गरेको बताए । नेपाल शिक्षक महासंघ पर्साका निर्वतमान अध्यक्ष समेत भइसकेका उनले ठूल–ठूला लगानी कर्ताले अग्ला–अग्ला विद्यालय बनाई धेरै नै सुविधा भोगी र अत्यधिक शुल्क लिएको उनको गुनासो छ । विद्यार्थीहरु पढाउ्दा शिक्षामा प्रतिस्पर्धा भई व्यापारिकण भएको छ । उनले भने निजी विद्यालयमा पढ्ने बालबालिकाको अभिभावकले जसरी बच्चाको हरेक क्रियाक्लापमा ध्यान दिन्छन् त्यसरी नै समुदायिकमा पढ्ने बालबालिका माथि अभिभावकले ध्यान दिएमा सरकारी विद्यालयले निजी विद्यालयको भन्दा गुणस्तर दिन सक्ने छन् । यसै समसमायीक विषयमा अध्यक्ष यादवसंग मध्य नेपाल सन्देशको लागी गरिएको कुराकानी :-
१) अहिले समग्रमा सामुदायिक विद्यालयको भौतिक अवस्था कस्तो पाउँनु भएको छ ?
पर्सा जिल्लाको समुदायिक विधालयको भौतिक अवस्था पहिला भन्दा अहिले ठिकै छ । तर विधार्थी संख्याको अनुपातमा जति चाहियो त्यो भन्दा अलि कमै छ । भएजतिको भौतिक पूर्वाधारले सन्तोष गर्नु पर्ने अवस्था छैन । अहिले बनेको स्थानीय सरकारले समेत यसमा केही गरेका छैनन् । कुनै चासो देखाएका छैनन् ।
२) पर्सा जिल्लाको सामुदायिक विद्यालयमा शिक्षाको अवस्था यहाँले कस्तो पाउँनु भएको छ ?
सामुदायिक विद्यालयको शिक्षाको अवस्था राम्रो छ । राजनीतिक दलको हस्तक्षेपमा पठनपाठन भईरहेको विद्यालयको शैक्षिक अवस्था भताभुङ्ग हुने अवस्था सृजना भएको छ । जुन ठाउँमा प्रधानाध्यापक, व्यवस्थापन समिती, अभिभावक र विधार्थीहरु मिलोपतोमा राम्रो विद्यालय सञ्चालन भईरहेको छ, त्यहाँ पनि राजनीतिक दलको हस्तक्षेपले पार्टीगत टिकाटिपणी गरि प्रधानाध्यापक सरुवा गर्ने, राजनीतिक गर्ने प्रवृतिको कारण त्यहाँको शैक्षिक अवस्था लथालिङ्ग हुने काम भईरहेको छ ।
समुदायिक विद्यालयमा व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पद्धति अनुसार शिक्षा विकास तथा समन्वय ईकाई वा युवाहरुको निगरानीमा राजनीतिक हस्तक्षेप बिना समुदायिक विद्यालय राम्रो संग चल्न दिने हो भने निजी विद्यालय भन्दा हामी गुणस्तरको शिक्षा दिन सक्छौ ।
३) सरकारी विद्यालयको अध्ययन अध्यापन चित बुझ्ने छ कि छैन ? समग्रमा विद्यालयको अवस्था खस्कनुमा दोषी को हो ?
एकदमै राम्रो चित बुझ्दो छ । विद्यालयको अवस्था खस्कनुमा सबै पक्ष दोषी छन। समुदायिक विद्यालयलाई गुणस्तर खस्काउनको लागी सरकारले नीजी विद्यालयको अवधारणा ल्यायो, त्यहाँबाट नै शिक्षामा व्यापारिकण भयो । ठुल–ठुला लगानी कर्ताले अग्ला – अग्ला विद्यालय बनाई बढि सुविधा भोगी धेरै पैसा लिएर ठुला घरानाका बिधार्थीहरु पढ्दा त्यसमा प्रतिस्पर्धा भयो ।
एउटा मजदुरले पनि आफ्नो बालबच्चालाई टाई, जुता लगाएर निजी विद्यालयमै पढाउने सोच बनी सकेको छ । भने त्यो बच्चालाई व्यवहारिक शिक्षा र संस्कारीक किन नहासिल होस् । समुदायिक विद्यालयमा बढ्ने विधार्थीको अभिभावकले बच्चा सफा पोसाक, होक वर्क, कापी किताबको कुरा गरेको छ कि छैनन् भन्ने कुरामा कुनै वास्ता गर्दैनन् । तर त्यही विधार्थीलाई त्यही अभिभावकले निजी विद्यालयमा पढाउँदा दैनिक होमवर्कमा सही भएको छ कि छैन, जुता, ड्रेस फाटेको छ कि भने बच्चा रुन्छ भोली स्कुल जादैनन् यावत कुरालाई सोची आफ्नो काम समेत छोडेर बच्चाको हरेक आवश्यकता पुरा गर्नमा लाग्छन् । आमालाई कपडा धुने फुर्सद नभएको बेला आफैले धोएर पनि बच्चालाई स्कुल पठाउने ध्यान हुन्छ बुवालाई । तर त्यही समुदायिक विद्यालयमा अभिभावकले बच्चालाई पठाउने स्वभाव धेरै नै फरक हुन्छ । त्यसैले दोषी यस्मा सबै जना छन ।
४) निजी विद्यालयमा कम पारिश्रीकमा पनि शिक्षकले गुणस्तर शिक्षा प्रदान गरेका छन तर सामुदायिक विद्यालयमा उच्चतम पारिश्रीकमा पनि शिक्षाको स्तर खस्कनु लाई के भन्नु हुन्छ ?
राजनीतिक हस्तक्षेपबाट उत्पन्न बाधा अड्चन र राम्रो काम गर्नेलाई प्रोत्साह गर्नुको सट्टा निरुत्साहित गर्ने प्रविती यसको मुख्य कारण हो । वीरगंज कै कुरा गर्दा माईस्थान बिध्यापीठ स्कुलको प्रधानाध्यापकलाई बिनोद मेहतालाई वीरगंज महानगरपालिकाले सरुवा गरेको छ । त्यहाँका अभिभावकहरु वीरगंज महानगरपालिकामा दबाबको लागी गईरहेका छन् ।
विगत ४/५ वर्षदेखि विनोद मेहताले धेरै मेहेनत गरेर विद्यालयलाई शिक्षक, अभिभावक, विधार्थी सबैको मिलोमतोमा अंग्रेजी माध्यमबाट अनुशासित बातावरणमा पठनपाठन गराई विद्यालयले प्रत्येक वर्ष पुरस्कार पाईरहेको थियो , शिक्षाको अवस्था दिनप्रतिदिन उजागर हुदै गईरहेको अवस्थामा त्यहाँको प्रधानाध्यापकको सरुवा गर्नुको के कारण ? यसको अर्थ वहाँ कसैको पार्टीमा नलागी स्वतन्त्र रुपले काम गरेकै कारण होनी ।
राम्रो काम गर्नेलाई पुरस्कार दिनुको सट्टा गाउँतिर सरुवा गरिन्छ । राजनीतिक दलको यस्तै कामले शिक्षालाई आफूभन्दा माथि राख्न सकेका छैनन् । विद्यालयहरुमा राजनीतिकरण भएको छ, त्यसकारण शिक्षाको स्तर खस्किरहेको छ ।
५) स्थानीय सरकारले शिक्षामा कतिको सहयोग भएको छ ?
अहिलेसम्म जिरो छ । माथिबाट आउने तलब, भत्ता बाहेक अरु भौतिक पूर्वाधार लगायत अरु विधालयको समग्र पक्षको विकास गर्नको लागी स्थानीय सरकारले अहिलेसम्म के नै गरेको छ र ? विद्यालयको समस्या सुनाए पनि अहिले बुझ्दै छौ, यसमा के आएछ आए छैन थाहा छैन भने कुरा भनेर बुझ्दै छौ भन्नुको साथै शिक्षाको कुरा बुझ्न नबुझ्न, शिक्षा विभागमा बस्ने कर्मचारी पनि अन्य विभागबाट आउनेले अहिले बुझ्दै छौ, सौच्दै छौ, हेर्दै छौ अहिले यही मात्र कुरा चलिरहेको छ ।
६) स्थानीय तहमा मावि सम्मको शिक्षा व्यवस्थापन गर्ने अधिकार पाएको छ । स्थानीय सरकारले अझै के कस्तो स्रोत साधनको उपल्बध गराउदा शिक्षाको गुणस्तरता बढाउन सकिन्छ ?
स्थानीय सरकारले माविसम्मको शिक्षा व्यवस्थापन गर्ने अधिकार पाएकोले बढि बिधार्थी भएको विद्यालयमा शिक्षकको कमी भएमा शिक्षकको पद परिपूर्ति गरि विद्यालयमा भएको भौतिक संरचनाको अवस्थामा ध्यान दिई विद्यालयको भवन निर्माण देखि भौतिक पूर्वाधारहरु तयार गरि शिक्षक आउने जाने समय, पढाउने आदीको अनुगमन गरी अभिभावकहरु भेला गराई उनीहरुको कमीकमजोरी तथा सकारात्मक पक्षबारे छलफल गरी विद्यालयमा व्यवस्थापनमा आवश्यक पर्ने हरेक कुरालाई सामुहिक छलफल गरी कार्यवन्यन गर्नु पर्छ ।
यदि अभिभावकहरुको कमीकमजोरीले बच्चा गईरहेको छैन भने अभिभावक सचेतना कार्यक्रम गर्ने, शिक्षकको कमी भएमा शिक्षकलाई पनि बसाएर सुधार ल्याउने कार्यमा समन्वय गरी स्थानीय सरकारले सहयोग गर्नु पर्छ ।
त्यस्तै अहिलेको युग भनेको आधुनिक युग हो । सबैको मनसाय नयाँ प्रबिधी अनुसार जाने भईसकेको छ । तर त्यो अनुसार भौतिक पूवाधार तयार गर्नु प¥यो । सबै विद्यालयमा कम्पयुटर उपल्बध गराई कम्पयुटर राख्ने भौतिक कक्षाकोठाको पनि व्यवस्थापन गर्नु पर्छ । घण्टौको काम सेकेन्डमा गर्ने प्राविधिसंग सबैको पहुँच सहज बनाउनु आजको आवश्यकता हो ।
७) नेपाल सरकारले शिक्षकहरु राजनीति गरे जागिरबाट हटाउने समेत निती नियम ल्याएको छ । यसले कतिको सार्थकता पाउँला त ?
शिक्षकहरु राजनीति आफ्नो कक्षाकोठा कार्यथलोमा गर्दै गर्दैनन् । नेपालको नागरिकको हैसियतले सबैको स्वतन्त्र अधिकार छ । स्वतन्त्रताको अधिकार सबैले प्रयोग गर्न पाउँनु पर्छ । अनि मात्र लोकतन्त्रको अनुभूति हुन्छ । अरु कर्मचारी साथीहरु कर्मचलोमा राजनीति गर्ने हुन्छ तर हामी त्यस्तो गर्दैनौ । कक्षाकोठामा शिक्षक विशुद्ध मनले जान्छ, त्यहाँ अनेक पार्टाको विचारधारा भएको अभिभावकको छोराछोरी हुन्छ । तर कहिले पनि कक्षाकोठामा पार्टीगत पक्षपात गरी पढाउने गरिदैन ।
शिक्षकहरु कक्षाकोठामा मनकर्म बचनले सबैलाई एकसमान शिक्षा दिईने गरिन्छ । तर त्यही पत्रकारहरु कुनै पार्टीबाट आवद्ध छन् भने उनीहरु पार्टीको पक्षमा कलम चलाउने गर्छन् । यो चाही कर्मथलोमा राजनीतिक भयो । एउटा प्रमुख जिल्ला अधिकारीलाई पनि प्रधानमन्त्री, गृहमन्त्री भएको पार्टीको पक्षमा कलम चलाउने बाध्यता हुन्छ । तर हामी शिक्षकहरु कुनै पार्टीको शिक्षा मन्त्री, प्रधानमन्त्री भएपनि हाम्रो कर्मथलो भनेको कक्षाकोठा हो । कक्षाकोठामा राजनीति नगरी बिशुद्ध मनले पढाउने गर्छौ । त्यसकारण हामी नेपाली नागरिक भएकोले स्वतन्त्र अधिकार राख्न पाउँनु पर्छ र यसलाई कसैले राजनीतिक भन्छ भने म यो कुरोलाई मान्दैन ।
८) सामुदायिक विद्यालयमा सुधार ल्याउन के गर्नुपर्छ ?
सबै पक्षले साकारात्मक ध्यानाकर्षणका साथ विद्यालयको कमीकमजोरी केलाई कुन विद्यालयमा के कमीकमजोरी, छन कुन विषयको शिक्षकको आवीयकता छ । र शिक्षककको दरबन्दी लगायतका बिशुद्ध मनले राजनीतिक पूर्वाग्रहलाई माथि उठाएर दरवन्दी मिलान गरी कमी भएका दरवन्दीलाई पूर्ती गर्ने हो भने सामुदायिक विद्यालयमा पढाउने शिक्षक अहिले पनि दक्ष, अनुभवी छन्, कुनै पनि निजी विद्यालयमा भन्दा कम छैनन् । त्यसकारण अभिभावकको सकारात्मक सोचाईबाट अगाडी बढ्ने हो भने समुदायिक विद्यालय अहिले पनि पहिलो नम्बरमा हुन्छ ।