बारा नक्कली नोट कारोबारमा असोज २१ मा पक्राउ परेका भारत पिपराकोठीका रञ्जितकुमार मुखिया, बारा कलैया–१५ का सैनुल्लाह अन्सारी र सिम्रौनगढ–२ का मुखिया बिन ९माथि० । असोज ७ मा पक्राउ परका बारा, सिम्रौनगढका जगदेव महतो मुनिया र भारतबाट पक्राउ परेका रौतहटका मोहम्मद अब्दुल सलामको भारतीय आधार कार्ड । सलाम सीतामढीमा बसेर नेपाली नोट छाप्ने गिरोहका सदस्य भएको आरोप छ । तस्बिर सौजन्य स् नेपाल प्रहरी
भारत पूर्वी चम्पारण पिपराकोठीका २५ वर्षीय रञ्जितकुमार मुखिया मोटरसाइकलमा नेपाल आउने क्रममा समातिएपछि कलैया उपमहानगरपालिका–१५ का ३४ वर्षीय सैनुल्लाह अन्सारी र सिम्रौनगढ नगरपालिका–२ का ३६ वर्षीय बिनाका मुखिया बिनको पनि नक्कली नोट कारोबारमा संलग्नता खुल्यो । मुखियाको बयानकै आधारमा त्यही दिन अन्सारी र बिन पक्राउ परे ।
बारा प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार तीनै जनाको आपराधिक पृष्ठभूमि केलाउने क्रममा बिन २०७८ फागुन १९ मा सिम्रौनगढबाटै बरामद ३ लाख १ हजार नेपाली नक्कली नोट कारोबारमा संलग्न रहेको खुल्यो । सात महिनाअघि सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको टोलीले खानतलासी गर्दा उनी पक्राउ परे पनि नक्कली नोट भित्र्याउने भूमिकामा संलग्न बिन भागेर फरार भएका थिए । फरार रहेकै अवस्थामा अदालतमा मुद्दा दर्ता भयो । बिन अदालतमा उपस्थित भएर डेढ लाख धरौटीमा छुटेको खुल्यो । करिब ७ महिनाअघिको त्यो मुद्दा किनारा नलाग्दै उनी पुनः पुरानै धन्दामा लागेको बारा प्रहरी प्रमुख एसपी बोगटीले बताए ।
पछिल्लो घटनापछि प्रहरीको विशेष ब्युरो सीमा क्षेत्रबाट हुने नक्कली नोट तस्करीको अनुसन्धानमा खटिएको छ । सिम्रौनगढबाट ९ लाख नक्कली नोट समातिएपछि अनुसन्धानमा खटिएको बारा प्रहरीको सहयोगमा भारतीय प्रहरीले सीतामढीबाट एक जनालाई पक्राउ गरे पनि गिरोहका अन्यको अझै पत्ता लागेको छैन । बिहीबार नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीले ३९ वर्षीय मोहम्मद अब्दुल सलामलाई सीतामढीबाट पक्राउ गरेको छ ।
स्रोतका अनुसार उनको स्थायी ठेगाना रौतहटको लौकाहा भए पनि आपराधिक गतिविधि सञ्चालन गर्ने क्रममा भारतमै पलायन भएपछि उतैबाट भारतीय आधारकार्ड लिएर अपराधमा सक्रिय भएको स्रोतले जनाएको छ । उनले भारतबाटै नागरिकता र राहदानीसमेत लिएको खुलेको छ । उनी पक्राउ परे पनि गिरोहका अरुबारे सलामले केही खुलाएका छैनन् । यता, नातामा सलामका भिनाजु पर्ने रौतहट लक्ष्मीनियाका मुस्लिम अन्सारी नक्कली नोट कारोबारकै कसुरमा शुक्रबार पक्राउ परेका छन् ।
यस घटनाले भारतमा नक्कली नोट छपाएर नेपालमा तस्करी गर्ने गिरोह सक्रिय भइरहेको देखिन्छ । नक्कली नोटको कारोबार रोक्न नसकिए यसले मुलुकको मुद्रामा असर पुर्याउँछ । राष्ट्र बैंक र अनुसन्धान गर्ने निकाय पनि यो विषयमा गम्भीर भएर लागेको देखिँदैन । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार १ लाख नक्कली नोट नेपालमा पठाउँदा गिरोहले ३३ हजार रुपैयाँ लिने गरेको छ । गिरोहले ५ लाख नक्कली नोट दिएबापत ३३ प्रतिशत सक्कली नोट लिएर थप २ लाख नक्कली सित्तैमा दिने गरेको पनि स्रोत बताउँछ । पछिल्लो पटक बाराबाट ९ लाख नक्कली नोटसहित पक्राउ परेका तीन जनाले भारतमा रहेको गिरोहलाई ३ लाख रुपैयाँ दिएको खुलेको छ ।
‘पछिल्ला केही वर्षअघिबाट नेपाल र भारतमा सक्रिय गिरोहले रफ्तारमा नेपाली नक्कली नोट छपाएर बजारमा पठाउन ट्रायल गरेको देखिन्छ, हाम्रो अनुसन्धानले १ हजार रुपैयाँ लिएर नक्कली नोट ३ हजार दिने गरेको भेटिएको छ प्रहरी स्रोतले भन्यो कतिपयमा सुरक्षाकर्मीको सावधानीले बजारमा पुग्न नपाई नियन्त्रणमा लिइए पनि त्यसले मात्रै पुग्दैन, यसविरुद्ध विशेष कारबाही अभियान नै थाल्नुपर्ने हुन्छ ।
स्रोतका अनुसार नक्कली नोटको कारोबारमा सीमा क्षेत्रमा करिब डेढ सय जनाको समूह सक्रिय छ । नेपालमा पक्राउ परेका व्यक्ति भरिया र ग्राहक मात्रै रहेको र मुख्य गिरोह भारतमै लुकेर नेपालमा धन्दा चलाउने गरेको स्रोत बताउँछ ।
मुलुकी अपराध संहिता २०७४ को दफा २५६ मा नक्कली नोटको कारोबार तथा ओसारपसार गर्नेविरुद्ध खोटा मुद्रा को कसुरमा ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । नक्कली नोट तथा खोटो सिक्कासम्बन्धी विनियमावली २०७७ ले पनि यस्तो अपराधमा संलग्नलाई मुलुकी अपराध संहिताअनुसार कारबाही गर्ने भनेको छ तर राष्ट्र बैंक, प्रहरी र सशस्त्रले यो अपराध नियन्त्रण गर्न संयुक्त अभियान चलाएका छैनन् । सक्कली र नक्कली नोटबारे आमनागरिकले कसरी पत्ता लगाउने भन्ने जानकारी राष्ट्र बैंकले देशभर अभियानकै रूपमा चलाउन सक्छ । त्यसलाई कार्यान्वयन गरेर सीमा क्षेत्रका नागरिकलाई अझ सुसूचित गराउन सुरक्षा निकायले आफ्नो संयन्त्र परिचालन गर्न सक्छन् ।
प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राई नेपाली नक्कली नोट कारोबार बढ्दै गएकाले त्यसलाई बेलैमा नियन्त्रण गर्न नसके स्थिति भयावह हुने बताउँछन् । ‘पहिला फाट्टफुट्ट नक्कली नोट भेटिने गरेकामा अहिले गिरोहले संगठित रूपमै तस्करी गरिरहेको देखिन्छ, खासगरी भारतीय नाका हुँदै भित्र्याएर नेपाली बजारमा पठाउन गिरोह सक्रिय देखिन्छ,’ प्रवक्ता राई भन्छन्, ‘भीडभाड, चाडपर्व, अशिक्षित वर्ग, ठूलो रकमको गड्डीमा घुसाउनेलगायत रणनीति गिरोहले अपनाएको देखिन्छ । त्यसलाई रोक्न अब प्रहरी मात्र होइन, नियामक निकायदेखि बैंकरवित्तीय क्षेत्र र आमरूपमा यसप्रति अवेरनेस कार्यक्रम सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यकता छ ।
पछिल्ला केही वर्षयता बरामद नक्कली नोटको कागज र छाप्ने मेसिन पनि गुणस्तरीय देखिएकाले यो समस्या विकराल बन्दै जान सक्ने उनले बताए । त्यसका लागि भारतमा नक्कली नोटको कारोबारप्रति आममानिस जसरी सजक र सतर्क छन्, त्यस्तै सजगता प्रवाह गर्न राष्ट्र बैंकबाटै विशेष पहल हुन आवश्यक छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले नेपाली नक्कली नोट कारोबार नियन्त्रण गर्न सुरक्षा निकायसँग निरन्तर समन्वय र सहकार्य भइरहेको बताए । उनले नक्कली नोट कारोबार नियन्त्रण गर्न मूलतः तीनवटा पक्ष महत्त्वपूर्ण हुने बताए ।
नक्कली नोट कारोबारमा संलग्नलाई कारबाही गर्ने पहिलो निकाय प्रहरी–प्रशासन नै हो त्यसमा हामीले पनि वित्तीय साक्षरता सञ्चालन गर्ने, आमनागरिकमा होसियारी र सजगता बढाउने हो, प्रवक्ता भट्टले कान्तिपुरसँग भने, ‘यसबाहेक आमनागरिकले बैंकिङ कारोबार र भुक्तानीलाई बढावा दिने, बैंकरवित्तीय संस्थाले पनि सबैको पहुँच पुग्ने गरी सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमबाट सबैको पहुँचमा पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने नै हो ।’ केही वर्षयता बरामद नक्कली नोटको अवस्थाले पनि सावधानीमा सबै लाग्नुपर्नेतर्फ सजग गराएको उनले बताए ।