प्रतिनिधि सभाका ४ र प्रदेश सभाका ८ सभाषदका लागि मंसिर ४ मा हुने निर्वाचनमा पर्सामा दुवै गठबन्धन दलका नेता तथा बहालवाला मन्त्रीसँग भिड्न स्वतन्त्रको बाढी नै आएको छ । पर्सामा निर्वाचन भिड्न मैदानमा उत्रिएका बहालवाला मन्त्री तथा दलका नेताहरूलाई यो बाडीले धक्का दिने पक्का भएको हो ।
दुवैतर्फ गरी कुल १२ सिट रहेको पर्साका आगामी निर्वाचन मा १ सय ६१ जनाको उम्मेदवारी सुनिश्चित भइसकेको छ । जसमध्ये ८६ जना त स्वतन्त्रले मात्र उमेद्वारी दिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले बताए । लोकतन्त्रको सुनौलो पक्ष दल–दलभित्रका व्यक्ति चुन्न निर्वाचन हुने गरे पनि दलका नेताहरुको कार्यशैलीलाई चिर्दै मुलुकभर यो पटक स्वतन्त्रको संख्या ह्वात्तै बढेको छ । यो कुरामा पर्सा पनि अछुतो छैन ।
पर्सामा सरकारका बहालवाला वनमन्त्री र सत्ता तथा ईत्तर गठबन्धनका नेताहरुसँग लड्न स्वतन्त्र उमेद्वार निकै कस्सिएका छन् । यो जमर्कोले दुवै गठबन्धनका नेताहरूलाई निकै दवाव परेको छ । दवावमा पर्नुको खास कारण पनि दलका नेताभन्दा अनुभवी राजनीतिकर्मी नेता स्वतन्त्रमा पनि उठेकोले त्यो स्वभाविक भएको पर्सावासीको ठहर छ । हुन पनि सत्ता र इत्तर गठबन्धनले टिकट नदिएपछि पार्टी छोडेर स्वतन्त्रमा उठेका केही नेताले चाही दुवै गठबन्धन दलका नेताहरूको परिणामलाई के गर्छन् ? भन्ने शंका पनि पर्सावासीमा उठेको छ । स्वतन्त्रले बाजी नै मार्न नसके पनि गठबन्धन दलले टिकट दिएका आधिकारिक उमेद्वारलाई पराजित गराउन भने उनीहरुको पल्ला भारी नै देखिएको स्थानीयले पनि बताइरहेका छन् ।
प्रदेश सभा सदस्यका लागि दलका नेता तथा मधेस प्रदेशका बहालवाला मुख्यमन्त्रीसँग लड्न पर्सा १ ‘ख’मा एकदर्जन त स्वतन्त्र उम्मेदवार खडा भएका छन् । पर्साको क्षेत्र नम्बर १ मा एक प्रतिनिधि सभा सदस्य र २ प्रदेश सभा सदस्य पदका लागि कुल ५९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नम्बर २ मा पनि कुल ३ पदकै लागि हुने निर्वाचनमा ३४ जनाको उम्मेदवारी परेको छ । त्यसै गरी पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि एक प्रतिनिधि सभा सदस्य र २ प्रदेश सभा सदस्य ३ पदकै लागि ३७ जनाको उम्मेदवारी दर्ता भएकोमा २० जना स्वतन्त्रका उम्मेदवार छन् ।
त्यसैगरी, पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा पनि ३१ जनाको उम्मेदवारी परेकोमा १२ जना स्वतन्त्रका उम्मेदवार रहेको तथ्यांकले देखाएको छ । चारवटै निर्वाचन क्षेत्रका कुल १ सय ६१ दर्तामध्ये ७६ जना मात्र राजनीतिक दलका नेता कार्यकर्ताको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अधिकांश गठबन्धन र इतरको एमाले गठबन्धनले टिकट नदिने भएपछि रुष्ट भएका दलका पुराना नेताहरू यसपटक भने काठमाडांैका मेयर बालेन साहको निर्वाचन शैलीझैं गरी नेपालको झन्डा ढाडमा ओढेर मनोनयन दर्तामा होमिएका छन् । उनीहरुको हुँकारले स्वतन्त्रका नेताहरुको पनि खास हैसियत यो निर्वाचनले देखाइदिने प्रष्ट छ । पार्टीपद्धति त्याग गरी माऊ पार्टी त्याग गरी स्वतन्त्रबाट मनोनयन दर्ता गराउनेमा नेपाली कांग्रेस पर्साका पूर्वसभापति तथा संविधान सभा सदस्य अजयकुमार द्विवेदी, फोरमका तर्फबाट पहिले पर्सा १ बाट निर्वाचत भई कृषि राज्यमन्त्रीसमेत बनेकी र तत्काल मधेस प्रदेश सभा सदस्यसमेत रहेकी करिमा वेगमसमेत यसपटक स्वतन्त्रबाट निर्वाचनमा अगाडी बढेका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका केन्द्रीय सदस्य सुधीर पटेल, जसपाका युवा नेता मुकेश द्विवेदी र लोसपाका केन्द्रीय सदस्य शशिकपुर मियादेखि स्थानीय क्रियाशील युवा नेतासमेत स्वतन्त्रको आवरणमा उम्मेदवार बनेका छन् ।