वि.स २०५३ साल श्रावण १३ गते जन्मिएकी सम्झना बुढाथोकी हाल न्यू सम्झना ब्यूटि पार्लरको संचालिका हुन् । बुबा नबराज घिमिरे र आमा इन्दिरा घिमिरेको ४ सन्तान मध्ये उनी पहिले सन्तान हुन । उनको माईती बारा जिल्ला सिमरा उप–महानगरपालिका भरतपुर भएको र विवाह वीरगंज उप–महानगरपालिका छपकैयाँमा भएको हो । उनले १२ कक्षासम्म अध्ययन गरेकी छन् । उनको एउटा छोरी छन् । उनका श्रीमान् स्थानीय एउटा होटलको म्यानेजर हुन् । बुढाथोकी विगत ७ महिनादेखि वीरगंजको–६ महावीरस्थानमा ब्यूटी पार्लर संचालन गर्दै आएकी छन् । उनै सम्झना बुढाथोकीसँग व्यससाय संचालनका सन्दर्भमा केन्द्रित रही गरिएको कुराकानी :
१) काममा जानकारी हुँदा पनि ढिलो गरी व्यवसाय सुरु गर्नु भएछ नि ?
योभन्दा पहिला पनि सभ्यता ब्यूटि पार्लरमा ब्यूटिसियन तालिम लिएर २ वर्ष त्यही काम गरें । पहिला नै मलाई आफ्नै व्यवसाय खोलेर काम गर्ने इच्छा थियो । विगत ७ महिनादेखि यो व्यवसाय संचालन गर्दैछु । मैले पहिलो तह र दोस्रो तहको तालिम लिएको छु । सिटीइभिटीइबाट पहिलो तहको मात्र तालिम लिएको छु । तर पनि काम गर्न सक्ने सीप भएकोले आफ्नो व्यवसाय आफै संचालन गरेकी हुँ ।
२) तपाईले यो व्यवसाय संचालन गर्दा के कस्ता चुनौतिहरु भोग्नु पयो ?
मैले यो व्यवसाय संचालन गर्नुभन्दा पहिला तालिम लिने बेला मलाई परिवारले खासै सहयोग गर्नु भएको थिएन । किन ब्यूटिसियन तालिम लिनु, यो गरेर के नै हुन्छ र भन्ने जस्ता प्रश्न हुन्थे । तर म यही व्यवसाय गर्छु भन्ने सोच राखेर काम गर्न थालेकोले यहाँसम्म आइपुग्न सफल भएको हुँ । मेरो यो पार्लर मेरो नामको भए पनि आफ्नो नाममा दर्ता भएको छैन । अलि–अलि चुनौति भएन भने मान्छेलाई सहज रुपमा नै अगाडी बढ्न पनि प्रेरणा कहाँ मिल्छ र ? तर अब केही दिनमा मेरो आफ्नै नाममा दर्ता भएपछि झन् काम गर्न सहज हुन्छ भन्ने आशा छ । मेरो यो व्यवसाय संचालन भएको ७ महिना भए पनि राम्रो व्यवसाय भएको छ । हाम्रा ग्राहकहरु बढेकै छन् । मैल पनि आफ्नो ग्राहकलाई राम्रो सेवा सुविधा दिएको छु, र अबका दिनहरुमा पनि दिदैं जाने छु ।
३) व्यवसाय गर्नकै लागि अन्य धेरै क्षेत्र छन् । यो क्षेत्र नै रोज्नुका कारण चाही के हो ?
मलाई विभिन्न क्षेत्रबाट जागिरको लागि अवसरहरु आएको थियो । तर मलाई जागिरभन्दा पनि ब्यूटिसियन बन्ने इच्छा र चाहना भएको हुनाले यो क्षेत्र नै रोजेको हुँ । म अरुको काम गर्नुभन्दा विस्तारै आफ्नै व्यवसाय संचालन गर्न चाहन्थे । सोचेको कुरा पनि विस्तारै पूरा हुँदैछ । यो व्यवसाय संचालन गर्नको लागि लगानी र मेहनत दुबैको जरुरी छ । कुनै व्यवसायमा मेहनत र कुनैमा लगानी मात्र भए पनि हुन्छ । तर पार्लर संचालन गर्नु एउटाले मात्र हुदैन । मैले ब्यूटिसियन तालिम लिनुभन्दा पहिला नै ब्यूटिसियन हुन पाए आफ्नो परिवार आफै पाल्थे भन्ने मनमा लागेको थियो । तालिम लिने समयमा आफ्नो भविष्य राम्रो बनाउँछु भनेर नै तालिम लिएको थिए । ब्यूटिसियन बन्ने प्रेरणा म आफैबाट नै आएको हो ।
४) पार्लर खोलेपछि चाही घर परिवारबाट कतिको सहयोग र हौसला मिलेको छ त ?
खास कुरा भन्ने हो भने पहिला मैले परिवारबाट केही सहयोग पाएको थिएन । व्यवसाय संचालन गर्ने बेलादेखि चाही सहयोग गर्नु भएको थियो । अहिले परिवारबाट धेरै सहयोग र हौसला पाएको छु । तालिम लिने बेला यो किन गर्नु प¥यो भन्ने जस्ता कुरा गर्नु हुन्थ्यो । तर अहिले महिला भएर केहि हुदैन । परिवार पाल्न महिलाले पनि सक्छ भन्ने हौसला मेरो परिवारबाट पाएको छु ।
यो पार्लर बिहान १० बजे देखि रातिको ८ बजेसम्म खुल्ला हुन्छ । तर चाडपर्वको समयमा त्योभन्दा ढिलासम्म खोल्ने गरेको छु । म एउटा गृहिनी पनि हुँ । त्यस कारणले घरको काम पनि गर्नु पर्छ । परिवारको साथ सहयोगले यहाँसम्म आए । अब आगामी दिनहरुमा पनि उहाँहरुको हौसला पाउँछु भन्ने आशा छ ।
५) अन्त्यमा यो पेशामा आउन चाहने दिदीबहिनीलाई के भन्न चाहनु हुन्छ ?
अहिलेको समयमा पनि महिलाहरु चुप लागेर बस्नु हुदैन । हामी पनि पुरुषले जस्तै काम गर्न सक्छौ । हाम्रो समाजमा श्रीमान्को कमाई खानुपर्छ भन्ने मान्यता थियो । यो मान्यताका पछाडी मात्र परेर हुँदैन । ज्ञान, सीप र क्षमता जोसँग हुन्छ । त्यसले काम गर्ने हो । व्यवसाय संचालन गर्न महिलाको लागि यो क्षेत्र मात्र होइन, धेरै क्षेत्रहरु छन् । हामीले आफ्नो परिवारलाई सम्झएर बुझाएर एउटा सानो व्यवसाय संचालन गर्न सक्छांै। आफ्नो हक हितको लागि आवाज उठाउनु पर्छ । श्रीमान्को कमाई खान्छु भनेर चुप लागेर घरमै बस्नु हुदैन ।